Mansara

यस्तै हो भने चलचित्रको अधोगतिलाई भगवानले पनि रोक्न सक्दैनन्

२०७५ कार्तिक ६
यस्तै हो भने चलचित्रको अधोगतिलाई भगवानले पनि रोक्न सक्दैनन्

देशमा सर्वत्र मुल्य बृद्धीले आकाश छोइरहेको छ, जनताको जीवनस्तर पातालतिर धासिदै गइरहेको छ, बजार अस्तव्यस्त छ, कमिशन खोर र दलालहरुले देशको अर्थतन्त्र आफ्नो मुठ्ठीमा राखेका छन्, सर्वत्र हाहाकार छ, पानीको धारामा पानी होइन हावा आउँछ, मिटर घुमाउँछ, तै पनि पानीको थोपो समेत नदेखि काकाकुल बनेर आम नागरिक खानेपानी संस्थानलाई पानीको पैसा बुझाउन बाध्य छन्, त्यो पनि सरकारी कर समेत जोडेर, जीवनस्तर दिन प्रतिदिन ओरालो लागिरहेको छ, मान्छेहरु आफ्नो देशमा बसेर, आफ्नो घरमा बसेर जीन्दगी चलाउन असमर्थ हुँदै गएका छन्, हरेक दिन सिमाना काटेर बाहिरिनेहरुको पिडाले देशको सिमानामा आँसुको खोलो बगाएको छ, अर्का तिर जीन्दगी चलाउने बाटो खोज्दै जाँदा जीन्दगीले अनि भाग्यले ठगेर काठको बाकसमा चिर निद्रामा लम्पसार परेर देशको सिमानाबाट भित्रिनेहरुको कथाले अलिकति आशामा जीन्दगी चलाइरहेका आफन्त र परिवारहरुको कन्तविजोग भइरहेको छ, दुई मुठी सास धान्न पनि धौ धौ भइरहेको अवस्थामा हरदिन आशाका डोरीहरु चुडिइरहेका छन् । तर, देशले समृद्धी र सुशाशनको आलाप गाउन छोडेको छैन । नागरिकहरु झनझन धरापमा गाडिदैछन् । अनि अर्को तिर हामी छौं चलचित्र निर्माण गर्ने कलाकर्मीहरु । हामी पनि आफ्नो श्रम र सिप स्वदेशमै लगाउनु पर्छ, पसिना आफ्नै भूमिमा बगाउनु पर्छ भनेर गीत र गजलका रागहरु अलापी रहेका छौं । आर्दश र निष्ठाका ठेलीहरु पस्किरहेका छौं । अनि यो भूमिको आगनमा विकाशको मुल फुटाउ भनेर श्लोकहरु सुनाइरहेका छौं ।

हामी केवल आजको आत्मरतिमा रमाई रहेका छौं । भविष्यको चलचित्रकर्मको सोच हामी कसैमा पनि पलाएको देखिदैन । हामीले आफुले आफुलाई सर्वेसर्वा ठानेका छौं । सामुहिकतामा विश्वास हराउँदै गएको छ । चलचित्रकर्म पहिला भन्दा अहिले झन खस्कदै गएको छ । अनुशासन हिनताको पराकाष्टा बढेको, देशमा मुल्य बृद्धीले जनताको ढाड सेकेको जस्तै अनुशासन हिनता र मपाइत्व झनै बढेको छ । आदार र सम्मानको परम्परा खस्किएको छ । अरुको अस्तित्वलाई नस्वीकार्ने परिपाटी विकाश भएको छ ।

के साच्चिकै देशको यो अस्तव्यस्तता, सिमित बजार, देशको आधा जनसंख्याले राष्ट्रिय भाषा नेपाली नै नबुझ्ने अनि २५ प्रतिशत जनताको बसोबास भएको ठाँउमा चलचित्र भवनहरु नै नरहेको अवस्थामा नेपाली चलचित्र निर्माण गर्ने हामीहरुले वास्तवमै के नेपाली कलाकर्मीहरुलाई पलायन हुनबाट र देशको सिमानामा धारेहात लगाउँदै परदेशी भूमिका पाइला टेक्नुपर्ने बाध्यताबाट रोक्न सकेका छौं त ? के कलाकर्मीहरु वास्तवमै आत्मनिर्भर भएर स्वदेशमै आर्दशको राग अलाप्न सक्ने अवस्था निर्माण भएको हो त ? के आम नेपालीहरुको विदेशिनुपर्ने बाध्यताबाट नेपाली चलचित्रकर्म मुक्त भएको हो त ? कि चलचित्रकर्मलाई पराया देशको भिषा हात पार्ने माध्यम मात्र बनाइएको हो ? या सारा पीडा र कष्टहरुलाई सफलताको लेपन लगाएर भुल्न खोजिएको हो ? यी र यस्ता यावत प्रश्नहरु छन् जसले नेपाली चलचित्रकर्मको बजारमा आउने विभिन्न खाले समाचारहरुको खिल्ली उडाईरहेका छन् । जस्तै फलानो चलचित्र करोड क्लवमा प्रवेश गर्यो, फलानो चलचित्र पाँच करोड क्लवमा प्रवेश गर्यो, फलानो चलचित्रको गीत दुई करोड भ्युज पुग्यो, फलाना निर्देशकले ३० लाख पारिश्रमिक लियो, फलानो हिरोको रेट ५० लाख अनि फलानो नायिकाको पारिश्रमिक २५ लाख पुग्यो । यी र यस्तै यस्तै समाचारहरु सम्प्रेषण भइरहेको हाम्रो चलचित्र नगरिको चलचित्र कर्मको भाउ के देशको मुल्य बुद्धी झै आकाशिएर समृद्धीको उचाईमा पुगेकै हो त ? अनि फेरी फलानो चलचित्रले विदेशमा कलेक्सनको रेकर्ड ब्रेक गर्यो जस्ता समाचारहरु सुन्दा र पढ्दा गर्वले छाति चौडा हुन्छ । तर, के हाम्रो चलचित्रले विदेशी बजार तताएकै हो त ? के विदेशीले टिकट काटेर नेपाली चलचित्र हेर्न थालेका हुन त ? यदी हो भने त हामीले धेरै नै गर्व गर्नुपर्दछ । यदी त्यसो नभएर आफ्नो देशमा जनजीविका चलाउन रोजगारी नपाएर रोजगारीकै खोजीमा आफ्नो प्राण भन्दा प्यारो देशलाई छोडेर परदेशीएका ति श्रमजिवी दाजुभाईहरुलाई मात्र चलचित्र देखाएर रेकर्ड ब्रेकका समाचारहरु पस्की रहेका छौं भने नेपाली चलचित्रको अन्तराष्ट्रिय व्यापार एउटा मृग तृष्णा जस्तो मात्रै हो । किन भने हाम्रो चेतनामा आज सम्म हामीले आधा जनसंख्यालाई नेपाली भाषा र नेपाली चलचित्र अनि नेपाली कलाकर्मको मर्म नै बुझाउन सकेका छैनौं । आधा जनसंख्या हाम्रो चलचित्रकर्मलाई नै चिन्दैन । हामिले चिनाउन सकेकै छैनौं । आफ्नै देशभित्र आफ्नो भाषा र आफ्नो चलचित्रकर्मलाई बुझाउन र चिनाउन अनि प्रदर्शन गर्न नसक्ने हामीहरु विदेशी बजारको रन्कोमा सेकिन खोजिरहेका छौं । एउटा झिनो आत्मरति भित्र संसार हल्लाउन सक्ने वा हाक्न सक्ने गफ हाकी रहेका छौं । सबैभन्दा पहिला नेपाली चलचित्रकर्मले नेपालका सबै भुभाग (हिमाल, पहाड, तराई) मा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई आफ्नो कलाकर्मको आकर्षणको केन्द्र तर्फ खिच्न सक्दैनौं, तव सम्म ती माथी भनिएका समाचारहरु सर्वथा निरर्थक रहनेछन् । किन भने चलचित्र करोड क्लवमा पुगेको समाचार आइरहदा एउटा चलचित्र निर्माता ऋणको भारी बोकेर विदेशी भूमिको शरणमा पुगेको हुन्छ । नायक, नायिकाहरुले ५०/२५ लाख पारिश्रमिक बुझेको समाचार आइरहदा यो देशका होनाहार नायक नायिकाहरु कोही भिषाको दरखास्त फर्म भर्दै त कोही विदेश पलायन भइसकेको तितो सत्य छ हामीसँग । सृजनाका भण्डार मानिने निर्देशकहरुको विदेश पलायनको लामो सुचि छ हामीसँग । जो जति हामी यहाँ सर्घष गरिरहेका छौं, हामी पनि केही न केही खोक्रो आडम्बरको पर्दाभित्र लुकेर हाँस्ने कोसिस गरिरहेका छौं ।

हुन त यो दुनियाँको समय चक्रमा दिन पछि रात आए जस्तै हरेक पल, हरेक समय नयाँ नयाँ चलचित्रकर्मीहरुको आगमन र नयाँ प्रयास देखिन्छ । तर दिगो र सार्थक प्रयास भने कतै देखिदैन । जीन्दगी लामो छ तर हामी केवल आजको आत्मरतिमा रमाई रहेका छौं । भविष्यको चलचित्रकर्मको सोच हामी कसैमा पनि पलाएको देखिदैन । हामीले आफुले आफुलाई सर्वेसर्वा ठानेका छौं । सामुहिकतामा विश्वास हराउँदै गएको छ । चलचित्रकर्म पहिला भन्दा अहिले झन खस्कदै गएको छ । अनुशासन हिनताको पराकाष्टा बढेको, देशमा मुल्य बृद्धीले जनताको ढाड सेकेको जस्तै अनुशासनहिनता र मपाइत्व झनै बढेको छ । आदार र सम्मानको परम्परा खस्किएको छ । अरुको अस्तित्वलाई नस्वीकार्ने परिपाटी विकाश भएको छ । पुराना चलचित्रकर्मीहरुको निधनमा मलामी समेत जान नचाहने नयाँ पुस्ताको आगमन भएको छ । नयाँलाई आलोकाँचो ठान्ने पुरानाहरुमा सोच बढेको छ । वास्तवमा नयाँले पुरानालाई आदार र सम्मान अनि पुरानाले नयाँलाई माया र हौसला प्रदान गर्ने परिपाटी र अनुशासनको संस्कार सुम्पने र जिम्मेवारी र नैतिकताको बिडो थाम्ने पुस्ता पुस्तान्तरको परम्परा विकाश हुनुपर्ने थियो । तर हाम्रो चलचित्रकर्ममा भने सबै उल्टो भइहेको छ । जवसम्म हामीले अनुशासन, आदार, सम्मान, माया र हौसलाको परिपाटी विकास गर्दैनौं, जव सम्म हामीले हाम्रै क्षेत्र भित्र मर्दा र पर्दाको साथ सहयोग र सान्त्वनाको परिपाटी पुस्ता पुस्तान्तर बिचमा जोड्न सक्दैनौं, जव सम्म हामीले पानी बाराबारको स्थीतिलाई अन्त्य गर्न सक्दैनौं, जव सम्म हामीले पुरानो पुस्तालाई पर्दा नयाँ पुस्ता हरेर बस्ने (यहाँ सम्मकी मलामी जान पनि आवश्यक नठान्ने) अनि नयाँ पुस्तालाई पर्दा पुरानो पुस्ता नदेखे झै गरेर अर्कोतिर फर्कने परिपाटीको अन्त्य गरेर भाइचाराको विकाश गर्दैनौं तव सम्म हाम्रा आदर्श, निष्ठा, करोड क्लव र पारिश्रमिक बढोत्तरीका समाचार र अफवाहले हामीमा कुनै न कुनै पल आम नागरिकहरुकै जस्तो सिमाना काट्नु पर्ने दिन आइनै रहन्छ । किन भने चलचित्रकर्मको स्टारडम सधै एउटैको हातमा मात्र रहँदैन । शिखरमा पुगेपछि तल झर्नै पर्छ । त्यसैले शिखर चढ्ने बेलामा आफु तल झर्नको लागि सुरक्षित बाटो पनि बनाएर चढियो भने तल झराई सहज हुन्छ र सहन योग्य हुन्छ । त्यसको लागि अनुशासन, आदार, सम्मान, माया र हौसलाको न्यूनतम मापदण्ड चलचित्रकर्मीमा विकाश हुनै पर्छ । अन्यथा देशमा मुल्य बृद्धीले आम नागरिकको जीवनमा पारेको नकारात्मक प्रभाव जस्तै चलचित्रकर्मीको मुल्य बृद्धी यानिकी पारिश्रमिक बृद्धी र करोड क्लवले पनि समग्र चलचित्रकर्ममा सकारात्मक भन्दा नकारात्मक प्रभाव नै पार्ने छ । र सिमाना काटेर स्वदेश तर्फ फर्किएर आशु बगाउनुपर्ने बाध्यता सबैमा आउने छ । त्यसैले चलचित्रकर्ममा लागेका हामी सबैले एक आपसमा भाइचाराको विकास गरौं । अनुशासन, आदार सम्मान, माया र हौसलाको दायरा फराकिलो र बलियो बनाऊ, यसो गर्न सक्यौं भनेमात्र हामी समग्र चलचित्रकर्मी र चलचित्रकर्मको भलो हुनेछ । यदि आत्मरतिमा मात्र रमाउने हो भने हाम्रो अधोगतिको यात्रालाई भगवानले पनि रोक्न सक्दैनन् ।

इति श्री अस्तव्यस्त पुराणे, चलचित्र खण्डे, चलचित्रकर्मी माहात्मे, कलाकर्मी परदेश पलायन, अनुशासन हिनता पराकाष्ठम अध्याय नमो नमः ।

लेखक बरिष्ठ चलचित्र निर्देशक, लेखक तथा गीतकार हुन । लेखक दाहालका बारेमा बिस्तृत जानकारी लिन चाहनुहुन्छ भने यो लिंकमा क्लिक गर्नुहोला ।