चाडपर्वमा नेपाली चलचित्रको सफलताः कारण, सन्देश र प्रभाव

२०८१ कार्तिक २१
चाडपर्वमा नेपाली चलचित्रको सफलताः कारण, सन्देश र प्रभाव

यस वर्ष नेपालीहरुका प्रमुख चाडपर्व दशैं र तिहार चलचित्रमय बनेका छन् । चलचित्र हलमा दर्शकहरुको उत्साहजनक उपस्थितिले वास्तवमै चलचित्र महोत्सवकै झल्को दिन्थ्यो । यसपटक चलचित्र उद्योगमा विशेष किसिमको उछाल देखियो, दशैं र तिहारलाई केन्द्रमा राखेर प्रदर्शन गरिएका चलचित्रले घरेलु दर्शकहरुमाझ ठूलो प्रभाव पारे । घरेलु बक्स अफिसमा हिट र सुपरहिटको दर्जा पाएका चलचित्रहरुले मुनाफा र दर्शकको मन पनि जित्न सफल भए । भलै समिक्षात्मक रुपमा एकाध बाहेक चलचित्रहरु खासै अब्बल देखिएनन् ।

घटस्थापनाको दिन प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले शुरुवाती दिनबाटै आफ्नो पकड बलियो बनायो । त्यसको एक हप्ता पछि अर्थात फूलपातीको दिनबाट ३ वटा नेपाली चलचित्रहरु थपिए । दशैको अवसर पारी प्रदर्शनमा आएका ‘छक्का पञ्जा ५’, ‘१२ गाँऊ’ र ‘ज्वाई साब’ले पनि दर्शकहरुको अत्याधिक माया पाए । यस्तै तिहारको एक हप्ता अघि चलचित्र ‘सानो संसार’को पुनः प्रदर्शन गरियो । यसअघि नेपालमा आएको बाढी पहिरोका कारण चलचित्रको प्रदर्शन स्थगित गरिएको थियो । यो चलचित्रले पनि आफुलाई प्राप्त शोजको पुरापुर सदुपयोग गर्न सफल भयो । यस्तै तिहारमा प्रदर्शनमा आएको ‘पूर्ण बहादुरको सारङ्गी’लाई त हलहरुले शो थपिरहेका छन् ।

त्यसो त दशैंकै छेकोमा नेपाली बाहेक बलिउड चलचित्र ‘जिग्रा’ र तिहारको अवसरमा ‘सिंघम अगेन’ र ‘भुलभुलैयाँ २’ पनि नेपाली बजारमा प्रदर्शनमा आए । ‘सानो संसार’को पुनः प्रदर्शनसँगै दक्षिण भारतिय चलचित्र ‘कालिंगा’ र हलिउड चलचित्र ‘भेनमः द लाष्ट डान्स’ पनि प्रदर्शन भए । तर, नेपाली चलचित्रको सफलताले विदेशी चलचित्रलाई छायाँमा पारे । नेपाली चलचित्रको यो सफलताले चलचित्र क्षेत्रमा उत्साह र उमंग थप्यो । घरेलु बक्स अफिसमा विदेशी चलचित्रको प्रभावलाई पछाडि पार्दै नेपाली चलचित्रको बजारलाई पुनःस्थापित गर्न यो दशैं र तिहारका चलचित्रहरु केही हदसम्म सफल पनि भए । नेपाली दर्शकले आफ्ना मौलिक चलचित्रलाई प्राथमिकता दिए । शुरुमा केही हलहरूले केही नेपाली चलचित्रलाई कमजोर आँकलन गर्दै कम शो दिने निर्णय गरेका थिए, तर दर्शकहरूको अत्यधिक मागका कारण विदेशी चलचित्रको शो घटाएर नेपाली चलचित्रहरुको शो बढाउन बाध्य भए । विदेशी चलचित्रको शोज घटाएर नेपाली चलचित्रको शो थपिनु, नेपाली चलचित्र उद्योगको लागि गर्वको कुरा हो । म यो लेखमा दशैं तिहारमा नेपाली चलचित्र प्रदर्शनमा हुने हानाथाप, नेपाली चलचित्रमा देखिएको उमंग र त्यसको प्रभावका बारेमा चर्चा गर्नेछु ।


ठूला चाडपर्वमा चलचित्र रिलिजका लागि हानाथाप


हुन त क्यालेण्डरमा शनिबार बाहेक अन्य एक दुई दिन बिदा देखे भने पनि नेपाली चलचित्रका निर्माता तथा वितरकहरु उक्त हप्ता आफ्नो चलचित्र रिलिजको लागि तछाड मछाड गर्छन । झन दशैं तिहार जस्ता ठूला चाडपर्वमा लामो विदा हुने र दर्शकहरु फेष्टिवल मुडमा हुने बुझेकाले पनि चलचित्र रिलिजका लागि हानाथाप हुनु स्वभाविक हो । नेपाली समाजमा दशैं र तिहारका बेला धेरै मानिसहरू बिदा मनाउन घर आउने, साथीभाइ र परिवारसँग समय बिताउने र मनोरञ्जनात्मक गतिविधिमा संलग्न हुने गर्छन् । नेपालको परिपेक्षमा यस्तो समयमा मनोरञ्जनको सबैभन्दा सर्वसुलभ माध्यम भनेको चलचित्र देखिएको छ । जसका कारण चलचित्र हेर्ने दर्शकको संख्यामा उल्लेखनीय वृद्धि हुन्छ, यसले निर्मातालाई उच्च आम्दानीको सम्भावना देखाउँछ ।

यसबाहेक, यी चाडपर्वहरूमा धेरै व्यक्तिहरुले आफ्नो खर्चको बजेट बढाउँछन्, जसले गर्दा मनोरञ्जनमा खर्च गर्न सहज अनुभव गर्छन् । नेपालजस्तै अन्य देशहरुमा पनि मुख्य चाडपर्वहरुमा चलचित्र रिलिज गर्ने चलनमै छ, किनभने धेरै दर्शक बिदामा हुने हुँदा हलहरु खचाखच भरिन सक्ने सम्भावना हुन्छ । त्यसैले यी विशेष अवसरहरुमा चलचित्रलाई थप नाफा कमाउने अवसरका रुपमा हेरिन्छ, र त्यसैले दशैं–तिहारको समयमा चलचित्र रिलिजका लागि निर्माताहरू बीच हानाथाप हुन्छ ।

यद्यपी नेपाली चलचित्रको कुरा गर्दा इगोको समस्या प्रमुख कारण बनेको छ । एक अर्कालाई सकाउने खेलका कारण पनि एउटै मितिमा धेरै चलचित्रहरु प्रदर्शनमा आउने गर्छन । यसपटक ‘छक्का पञ्जा ५’ र ‘ज्वाई साब’ एउटै मितिमा प्रदर्शन हुनुलाई कलाकारद्वय दिपकराज गिरी र जितु नेपाल बिचको इगोलाई प्रमुख कारणका रुपमा लिन सकिन्छ ।


चाडपर्वहरूमा चलचित्र सफल हुनुका प्रमुख कारणहरु


बिदा र समयको उपलब्धता

दशैं र तिहारमा विद्यालय, कार्यालय र अन्य संस्था प्रायः लामो समयका लागि बन्द हुन्छन् । यसले दर्शकहरुलाई परिवार र साथीहरुसँग रमाइलो गर्न, मनोरञ्जन लिन र सँगै समय बिताउन अवसर प्रदान गर्छ । खाली समय र उत्सवको माहोलमा मनोरञ्जनका लागि चलचित्र हेर्ने गतिविधि नेपालको परिपेक्षमा सर्वसूलभ र लोकप्रिय विकल्प बनेको छ ।

पारिवारिक मिलन र सामूहिक मनोरञ्जन

चाडपर्वहरु परिवार र आफन्तहरुसँग भेटघाट गर्ने अवसर हो । चाडपर्वको समयमा परिवार सँगै बसेर चलचित्र हेर्ने चलन छ, जसले चलचित्रको दर्शक संख्या बढाउँछ । धेरैजसो चलचित्र निर्माताहरु यसलाई ध्यानमा राखेर पारिवारिक विषयवस्तु भएका चलचित्रहरु चाडपर्वको समयमा रिलिज गर्छन् ।

उत्साह र हर्षको माहोल अनि नयाँ चलचित्र

चाडपर्वमा मानिसहरुमा उमंग, उत्साह र रमाइलोको माहौल हुन्छ । यस समयमा मनोरञ्जन उद्योगले दर्शकहरुको यो भावनालाई सम्बोधन गर्न प्रयास गर्छ, जसका कारण दर्शकहरूले नयाँ चलचित्रहरूलाई सकारात्मक रूपमा लिन्छन् । चाडपर्वमा प्रायः स्थापित ब्यानर वा स्टारका चलचित्रहरु प्रदर्शनमा आउँछन् । दर्शकहरुले लामो समय प्रतिक्षा गरेका कलाकारका चलचित्रले स्वभाविक रुपमा दर्शकलाई हल सम्म तान्छ ।

दर्शकले रुचाए – ब्राण्ड, स्टारडम र मौलिक कथा

यसपटक चलचित्र चल्नुका पछि मुख्य रुपमा ३ वटा कारणलाई लिन सकिन्छ । पहिलो चलचित्रको ब्राण्ड भ्यालु, दोस्रो कलाकारको स्टारडम र तेस्रो कथामा मौलिकता । चर्चा ‘छक्का पञ्चा ५’बाटै शुरु गरौं । यो चलचित्रले आक्रामक ओपनिङ्ग गर्‍यो । चलचित्र हलहरुले सबैभन्दा बढी ओपनिङ्ग शोज यसै चवलचित्रलाई उपलब्ध गराएका थिए । छक्का पञ्जा सिरिजकै इतिहासमा पहिलो पटक अग्रिम टिकट बुकिङ्गको लहर देखियो । प्राप्त सबै शोहरु हाउसफूल भए । छक्का पञ्जाका बिगतका सिरिजहरुको गुडवीलले यो चलचित्रको व्यापारमा सुखद प्रभाव पर्‍यो । बक्स अफिसमा चलचित्र सुपरहिट भयो ।

यस्तै अर्को चलचित्र ‘१२ गाँऊ’ सुपरहिट हुनुको कारण भने स्टारडमलाई लिनुपर्ने हुन्छ । कलाकार तथा निर्देशक, एक्सन स्टार बिराज भट्टले यसै चलचित्रबाट छोरा समिर भट्टलाई डेब्यु गराएका थिए । पूर्ण तयारीका साथ अभिनयमा डेब्यु गरेका समिर टिजर र ट्रेलरबाटै दर्शकको ध्यान खिच्न सफल भए । सामाजिक सञ्जालहरुमा चलचित्रका डायलगहरु हिट भए । प्रदर्शन पूर्व सामाजिक सञ्जालमा चलचित्रको उग्र क्रेज देखियो । एकातिर बिराजको क्रेज अर्को तिर समिरको जवरजस्त उपस्थीतिले ठूलो संख्यामा युवायुवतिहरु हलसम्म तान्न सफल भयो । ‘छक्का पञ्जा ५’को तुलनामा ‘१२ गाँऊ’लाई शुरुमा हलहरुले कम शो दिएका थिए । तर, चलचित्र हेर्ने दर्शकहरुको अत्याधिक चापका कारण यसको शो संख्या बढ्दै गयो । दोस्रो हप्तामा प्रवेश गर्दै गर्दा ‘छक्का पञ्जा ५’लाई भन्दा ‘१२ गाँऊ’लाई हलहरुले बढी शो दिए । तराई क्षेत्रका हलहरुमा यो चलचत्रले एकछत्र राज गर्‍यो भन्दा फरक पर्दैन । दर्शकहरुले यो चलचित्र हेर्दै गर्दा लजिक खोजेनन् बस् एक्सनको म्याजिकमा रमाए । यो चलचित्रले समिर भट्टलाई जबरजसत रुपमा नायकका रुपमा स्थापित गर्‍यो ।

यता तुलनात्मक रुपमा ‘ज्वाई साब’ अलिक कमजोर देखियो । कारण यसले हलमा धेरै शो पाउनै सकेन । यद्यपी जति शो पायो ति शोमा दर्शकको उपस्थिति भरिभराउ थियो । दर्शकहरुले यसको कथामा केही नविनता भएको प्रतिक्रिया दिए ।

घटस्थापनामा प्रदर्शन भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले पनि दर्शकको मन जित्यो । तर, दोस्रो सातामा नयाँ चलचित्रहरु आएपछि हलमा शो संख्या घट्न पुग्यो । निर्माता निश्चल बस्नेतले दोस्रो साता पुरा नपुग्दै हल सञ्चालकले हिन्दी चलचित्रलाई काखि च्यापेको आरोप लगाउँदै ‘बेहुली फ्रम मेघौली’को प्रदर्शन स्थगित गरे ।

यता तिहारमा प्रदर्शन भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले यतिबेला आक्रामक ब्यापार गरिरहेको छ । शुरुवातमा न्यून शो पाएको यो चलचित्रको मौलिक कथालाई दर्शकहरुले रुचाएका छन् । सुपरहिट चलचित्रको संज्ञा पाइसकेको यो चलचित्रले उठान गरेको कथाले धेरै दर्शकहरुलाई भावुक बनाएको पाइयो । माउथ पब्लिसिटी यति जवरजस्त भयो कि हलमा दर्शकको चाप निकै बढ्यो, फलतः चलचित्रको शो ह्वात्तै बढाउन हलवालाहरु बाध्य भए ।


नेपाली चलचित्रको सफलताले दिएको सन्देश


यस वर्ष दर्शकहरूले मौलिक कथा (यथार्थपरक) देखि काल्पनिक कथामा बनेका सबै प्रकारका चलचित्रलाई रुचाएको तथ्यले केहि महत्वपूर्ण सन्देश दिएको छ । यसले नेपाली दर्शकहरुको रुचि र दृष्टिकोणमा आएको परिपक्वता र विविधता झल्काउँछ । 

१,    विविधता र नवीनताको चाहनाः दर्शकहरू अब केवल पारम्परिक कथाहरूमा मात्र सीमित रहन चाहँदैनन् । उनीहरू नवीनता र विविधताको खोजीमा छन् र फरक–फरक शैली, पात्र, र कथामा रमाउन चाहन्छन् । चाहे कथा यथार्थपरक होस् वा काल्पनिक, दर्शकहरू नयाँ विषयवस्तु र अनुभव खोजिरहेका छन् भन्ने सन्देश प्रवाह गरेको छ ।

२,    कलात्मक अभिव्यक्तिको स्वीकारोक्ति: हिट र सुपरहिट भएका उल्लेखित चलचित्रहरुले समिक्षात्मक रुपमा अब्बल नजिता भने हात पार्न सकेनन् । यद्यपी बक्स अफिसमा देखिएको उमंग र दर्शकहरुले दिएको प्रतिक्रियाले, दर्शकहरुले मौलिक होस् वा काल्पनिक कथा किन नहोस्, नेपाली पनको सुगन्धलाई रुचाएका छन् । जसले नेपाली दर्शकमा नेपाली चलचित्रले पेश गरेको कलात्मक अभिव्यक्ति प्रतिको स्वीकारोक्ति बढ्दै गएको देखाउँछ । भलै केही समिक्षकले उल्लेखित चलचित्रमा कलात्मक चेतको पाटो नै न्यून भएको बताएका छन् ।

३,    समय अनुसार बदलिएको रुचिः भनिन्छ समयसँगै दर्शकहरुमा पनि चलचित्रको छनौट फरक फरक हुन जान्छ । नेपाली समाजमा अन्तर्राष्ट्रिय चलचित्र र ओटीटी प्लेटफर्महरूको बढ्दो प्रभावले पनि दर्शकहरुको रुचीमा फरकपन ल्याएको छ । यसपटक दर्शकहरु यथार्थबादी चलचित्र मात्र नभएर एक्सन चलचित्रमा समेत रम्न थालेको प्रष्टै हुन्छ । नेपालमा झण्डै हराउन लागेको एक्सन जनरालाई ‘१२ गाऊ’ले पुनस्थापित नै गरिदिएको छ भन्दा फरक पर्दैन ।

४,    वास्तविकता र मनोरञ्जनको सन्तुलनः दर्शकहरुले वास्तविकतामा आधारित कथा हेरेर आफ्नो समाज र जीवनका यथार्थपरक पक्षलाई बुझ्न चाहन्छन् । यस्तै उनीहरु फ्यान्टेसी, जादू र कल्पनाको संसार मार्फत केही समयका लागि यथार्थबाट बाहिर निस्किएर मनोरञ्जन लिन पनि चाहन्छन् । यसले चलचित्रकर्मीलाई विषय वस्तुको छनौट गर्दा कस्तो विषयमा चलचित्र बनाउने भनेर पनि निर्देश गर्न सक्छ ।

५,    निर्मातालाई प्रेरणाः यो दशैं तिहारको सफलताले निर्माताहरुलाई चलचित्र बनाउँदा नयाँ शैली र नयाँ विषयवस्तुमा लगानी गर्न प्रेरित गरेको छ । खासगरि ‘पूर्ण बहादुरको सारङ्गी’को सफलताले नेपाली चलचित्र उद्योगलाई परिपक्व, विविध र प्रतिस्पर्धी बनाउँदै भविष्यमा नयाँ र उत्कृष्ट कथाहरुमा चलचित्र बनाउन बलियो सन्देश पनि दिएको छ ।


यो सफलताले नेपाली चलचित्र क्षेत्रमा पार्ने प्रभाव


१,    नेपाली चलचित्र प्रति दर्शकको विश्वास बढ्नु

दशैं र तिहारको समयमा प्रदर्शन गरिएका चलचित्रहरुले दर्शकको मन जित्न सफल भएपछि नेपाली चलचित्रप्रति दर्शकको विश्वास बढेको देखिन्छ । हलमा आएका दर्शकले नेपाली चलचित्रलाई गुणस्तरीय र मनोरञ्जन प्रदान गर्न सक्ने माध्यमको रूपमा लिन थालेका छन् । यसले गर्दा अन्य समयमा पनि दर्शकहरुले नेपाली चलचित्र हेर्न हलमा जाने सम्भावना बढ्छ ।

२,    चलचित्र उद्योगमा लगानीकर्ताको आकर्षण

भनिन्छ एउटा चलचित्र सफल हुँदा ३ जना नयाँ निर्माता थपिन्छन् । चाहे सह–निर्माताकै रुपमा किन नहोस् । यसपटक एक पछि अर्को चलचित्र सफल हुँदा चलचित्र उद्योगमा लगानीकर्ताको आकर्षण बढ्नु स्वभाविक हो । दर्शकको उच्च संख्यामा सहभागिताले चलचित्र निर्माणमा लगानीकर्ताको रुचि थप बढाएको छ ।

३,    गुणस्तरीय चलचित्र निर्माणमा जोड

दर्शकहरूले नेपाली चलचित्रलाई बढी प्राथमिकता दिन थालेपछि चलचित्र मेकरहरुले गुणस्तरीय चलचित्र निर्माणमा ध्यान दिनु पर्ने आवश्यकता छ । एक त दर्शकहरुलाई चलचित्र हल सम्म डोहोर्‍याउनै गाह्रो, त्यसमाथी चलचित्र हेरेका दर्शक भड्किए भने त्यसले नकारात्मक असर गर्नेछ । यसअर्थ अब चलचित्र मेकरहरु अझ बढी जिम्मेबार भएर निर्माणमा जुट्नु पर्छ । दर्शकहरूले यस पटकको दशैं र तिहारमा प्रदर्शन गरिएका चलचित्रलाई समर्थन गरेका कारण अब मेकरले अझ बढी मेहनतका साथ राम्रो चलचित्र निर्माणमा जोड दिनुपर्छ ।

४,    नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार

यसपटकको सफलताले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पनि स्थापित गर्न सक्ने संभावना उजागर गरेको छ । विदेशमा रहेका नेपालीहरुको मागका कारण अन्तर्राष्ट्रिय चलचित्र बजारमा पनि नेपाली चलचित्रको बजार विस्तारको सम्भावना थप बढेको छ ।

५,    मौलिक कथामा चलचित्र बन्न सक्ने

यसपटक दर्शकहरुले मौलिक कथाका चलचित्रलाई पनि निकै रुचाए । ‘पूर्ण बहादुरको सारङ्गी’, ‘सानो संसार’, ‘ज्वाई साब’ जस्ता चलचित्र घरेलु बक्स अफिसमा दर्शकको रोजाईमा परे । मौलिक कथाका उल्लेखित चलचित्र तुलनात्मक रुपमा कम बजेटमा निर्माण गरिएका हुन् । यद्यपी यिनिहरुको मुनाफा राम्रो देखियो । यसअर्थ अब धेरै मेकरहरुको ध्यान मौलिक कथामा गुणस्तरिय चलचित्र निर्माणमा हुनसक्छ । जसका कारण नेपाली चलचित्रमा मौलिकता भेटिनेछ ।

Kumari Bank