‘नाङ्गो गाउँ’ व्यापारले उत्साहित निर्माता, दया भन्छन्–‘रेकर्डको दबाब लिनु हुँदैन’

२०८० भाद्र ३०
‘नाङ्गो गाउँ’ व्यापारले उत्साहित निर्माता, दया भन्छन्–‘रेकर्डको दबाब लिनु हुँदैन’

शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘नाङ्गो गाउँ’ले २ दिन सुखद ओपनिङ गरेको छ । ‘नाङ्गो गाउँ’ले चलचित्र ‘जारी’पछि दर्शकको ठूलो संख्यालाई हलमा फर्काउन सफल भएको हो ।

‘जवान र एक भागवत् र एक गीता’सँग स्क्रिन शेयर गर्नु परेपनि दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रले बक्स अफिसमा उछाल कायम गर्यो । चलचित्र हेर्न शुक्रबार र शनिबार देशैभर दर्शकको उच्च चाप हलमा देखिएको थियो ।

शनिबार राजधानीमा पत्रकार भेटघाट गर्दै चलचित्र निर्माण टिमले खुसी साटेको छ । पत्रकारसँग कुराकानी गर्दै चलचित्रका अभिनेता दयाहाङ राईले आफूलाई कहिले पनि बक्स अफिसको दबाब नरहने बताए । उनले भने–‘यो चलचित्रको कथाले मलाई छोएको थियो । निर्देशक लामाले पनि चलचित्रलाई राम्रो तरिकाले तयार पारेका छन् । यसैले, दर्शकलाई मन पर्यो होला जस्तो लाग्छ । निर्माता सुरक्षित भएको सुन्दा खुशी लाग्छ ।’

दयाले आफूलाई आफ्नै अघिल्ला चलचित्रको रेकर्ड ब्रेक गर्ने लोभ भने नभएको बताए । उनले भने–‘एउटा कलाकारलाई दर्शकले दिने माया र साथ नै ठूलो कुरा हो । यो चलचित्रले अरु चलचित्रसँग स्क्रिन शेयर गर्नुपरेकाले पनि सुरुवाती दिनमै रेकर्ड ब्रेक गर्न सक्दैन होला । तर, बुकिङ रातो देख्दा खुशी लागेको छ ।’

निर्माता हिमाल कडरियाले चलचित्रबाट पाएको प्रतिक्रिया र दर्शकको साथले उत्साहित बनाएको बताए । उनले कलेक्शन अहिले नै भन्न नसकिने भन्दै आफू नेपाल र ओभरसिजबाट सुरक्षित भइसकेको सुनाए । निर्देशक दीपेन्द्र लामाले चलचित्रको कथा लेख्दा नै आफूलाई दर्शकले मन पराउनुहुन्छ भन्ने लागेको बताए । उनले भने–‘मलाई यो चलचित्र चल्दैन भन्ने त कतै पनि लागेको थिएन । दर्शकले प्रतिक्रिया पनि उत्कृष्ट दिनु भएको छ ।’

जय श्रेष्ठ निर्माता, रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको मल्टिप्लेक्समा शोज समेत वृद्धि भएको छ । भोलीबाट हलमा अझै शोज बढेको देखिन्छ । वितरक रोहित कट्टेलले चलचित्रको व्यापार बम्पर भएको भन्दै यसले नेपालबाट निर्मातालाई राम्रो मुनाफा दिने बताए ।

तीज र संविधान दिवसको बिदामा चलचित्रको व्यापार अझै बढ्ने आशा निर्माताको छ । प्रस्तुतकर्ता हिमाल कडरियाले चाडै नै नयाँ चलचित्रको घोषणा गर्ने समेत सुनाए ।

दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन रहेको छ ।