Modibeni
Numbari Sun

‘मेयर’मा ११ हजारभन्दा धेरै क्राउड रहेको निर्देशकको दाबी

२०८१ बैशाख ११
‘मेयर’मा ११ हजारभन्दा धेरै क्राउड रहेको निर्देशकको दाबी

शुक्रबार छायांकन सकिएको चलचित्र ‘मेयर’को थप प्राबिधिक काम सुरु भएको छ । काठमाडौंको मल्ल होटेलबाट सुरु भएको चलचित्रको छायांकन सर्लाही र सिन्धुली गरि ५१ औं दिनमा सकिएको थियो । अधिकांश सिन सर्लाहीमा खिचिएको चलचित्रको केही सिनमात्रै सिन्धुली र काठमाडौंका खिचिएको निर्देशक दीपेन्द्र के खनालले जनाएका छन् ।

निर्देशक खनालले ‘मेयर’ आफ्ना लागि विशेष रहेको बताएका छन् । चलचित्रमा उल्लेख्य क्राउडको आवश्यकता भएको र क्राउडका बिच सोचेभन्दा पनि कम्फर्ट जोनमा रहेर चलचित्रका छायांकन भएको उनको भनाइ छ । एउटै सिन ११ हजारभन्दा धेरै क्राउड जम्मा गरेर छायांकन भएको उनले बताए । नेपाली चलचित्र कै इतिहासमा ठूलो क्राउडमा आफूले चलचित्र खिच्ने अवसर पाएको उनको दाबी छ । पर्दामा ‘मेयर’ कति भव्य देखिन्छ त्यसले अहिले आफूले भनेको कुरा प्रमाणित गर्ने भन्दै उनी भन्छन्, ‘मैले बनाएको भनेर म दाबी गरिरहेको छैन । यो नेपाली राजनीतिक चलचित्रको इतिहासमा नेपालमै ट्रनिङ पोइन्ट हुनेछ ।’ उनी भन्छन् –  ‘नगरपालिका र स्थानीयको सहयोगमा यो सम्भव भएको हो । यसले चलचित्रको प्रोडक्सनलाई रिच बनाएको छ । यसको सकारात्मक प्रभाव चलचित्रमा देखिनेछ । यसले चलचित्रलाई भव्य त देखाउने नै छ, यसले थप विश्वस्नीय पनि बनाउनेछ ।’

दर्शकले नेपाली चलचित्रमा पहिलो पटक राजनीतिक चलचित्रको फिल गर्न पाउने निर्देशक खनालको भनाइ छ । ठूलो मास हुनबित्तिकै राजनीतिक चलचित्र को रंग नै अर्कै हुने उनले बताए । जनतासँग चलचित्रलाई जोड्न पनि छायांकनमा क्राउड उत्तिकै जरुरी रहेको निर्देशक खनाल बताउँछन् ।

चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । जसलाई चलचित्रमा दर्शकले मेयरको भूमिकामा देख्न पाउनेछन् । चलचित्रमा खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय छ ।

यो चलचित्रबाट निर्माताको रूपमा श्रृष्टिमाँ खनाल र कलाकारको रूपमा अर्विशा थापाले डेब्यू गरेका छन् । चलचित्र ‘मेयर’को कथा सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको छ । चलचित्रको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् भने निर्माता शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल हुन् । पटकथा महेश दवाडीले लेखेका छन् ।

Gharjwai