‘महाभोज’को प्रशंसामा खुले सेलिब्रेटीहरू
शुक्रवार रिलिज भएको चलचित्र ‘महाभोज’ ले दर्शकहरूबाट शक्तिशाली प्रतिक्रिया पाइरहेको छ । चलचित्र हेरेरका दर्शकहरू प्रसन्न मुद्रामा देखिनुका साथै उनीहरूको सकारात्मक प्रतिक्रियाले चलचित्रको व्यापारमा बढोत्तरी हुने अपेक्षा निर्माण टिमको छ ।
सहकारी ठगीजस्तो संवेदनशील सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई चित्रण गरेको भन्दै दर्शकहरूले 'महाभोज'लाई 'हेर्नै पर्ने' चलचित्रको संज्ञा दिएका छन् ।
यसै क्रममा, नेपाली चलचित्र, साहित्य र अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले 'महाभोज' हेरेका छन् । कलाकार हरिवंश आचार्य, सरोज खनाल, जितु नेपाल, आयुष्मान देशराज जोशी, परीक्षा लिम्बु, निर्देशक तुलसी घिमिरे, नवीन चौहान, प्रदीप भट्टराई, साहित्यकार अमर न्यौपाने, विवेक ओझा, राजनीतिक विश्लेषक मुमाराम खनाल, समाज शास्त्री निर्मला ढकाल लगायतको उपस्थिति थियो । चलचित्र हेरेपछि उनीहरूले 'महाभोज'ले उठाएका विषयवस्तु र यसको प्रस्तुतिको उच्च प्रशंसा गरे ।
साहित्यकार अमर न्यौपानेले चलचित्रले कानुनी राज्यको चुनौती माथि प्रश्न उठाएको बताए । उनले भने - 'यत्रो सङ्घर्ष गरेर हामीले संविधान, कानुन बनाएका छौँ । हामी अहिले २०८२ सालको लोकतान्त्रिक गणतन्त्रमा छौँ, तर सहकारी पीडितहरूलाई न्याय गर्न कानुनले काम गरेको छैन । पीडकहरू अझै पनि प्रमाण लुकाउने ठाउँमा छन् । यत्रो ठुलो परिवर्तनपछि पनि कानुनले काम नगर्दा बल प्रयोग गर्नुपर्ने हो त भन्ने प्रश्न यो चलचित्रले उठाउँछ ।'
यस्तै वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्रले जनताको पैसाको दुरुपयोग कसरी हुन्छ भन्ने यथार्थ चित्रण गरेको बताए । हरिवंश भन्छन् - 'जनताको पैसालाई माथिल्लो स्तरसम्मका नेताहरूले कसरी अपचलन गरेका छन् भनेर चलचित्रमा राम्रोसँग देखाइएको छ' । वरिष्ठ कलाकार सरोज खनालले चलचित्रको मुख्य सन्देशलाई प्रकाश पार्दै भने, "गोली ठोकेर मान्छे मार्ने मात्र हत्यारा हुँदैन, मर्न बाध्य पार्ने मान्छे सबभन्दा ठुलो हत्यारा हुन्छ भन्ने सन्देश नै 'महाभोज' ले दिएको सबैभन्दा ठुलो सन्देश हो । हाम्रो देशमा यो प्रकृति भएका धेरै मानिसहरू छन्, उनीहरूलाई यो चलचित्रले झकझक्याउँछ ।”
कलाकार जितु नेपालले चलचित्रको विषयवस्तुको मार्मिकता र यथार्थपरकताको प्रशंसा गरे । 'चलचित्रले उठाएको विषयवस्तु नै एकदम राम्रो र मार्मिक छ । यसमा सहकारी ठगीलाई जसरी देखाइएको छ, त्यो यथार्थपरक छ । र, यो चलचित्र अत्यन्त रमाइलो पनि छ,' उनले भने । कलाकार परीक्षा लिम्बुले चलचित्रले नेतृत्वको नकारात्मक प्रभाव कसरी समाजमा पर्छ भन्ने कुरा देखाएको उल्लेख गरिन् । 'मलाई एकदमै यथार्थ महसुस भयो । एक जना नराम्रो नेतृत्वको कारणले पूरै समाजलाई कति नकारात्मक समस्या पर्छ भन्ने उदाहरण यो चलचित्रले देखाएको छ,' उनले प्रतिक्रिया दिइन् । निर्देशक नवीन चौहानले 'महाभोज'का निर्देशक दिनेश राउतको कामको प्रसंसा गरे । उनले भने, “महाभोजलाई मैले निर्देशक दिनेश राउतको आजसम्मकै उत्कृष्ट चलचित्रको रूपमा पाएँ ।”
दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको चलचित्र क्लक वर्क क्रियसन्स् र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो । हिमाल कडरियाले निर्माण गरेको चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
