कलम चर्को कि चलचित्रकर्म

विजयरत्न तुलाधर २०७६ माघ ६
कलम चर्को कि चलचित्रकर्म

पछिल्लो समय थुप्रै चलचित्र पत्रकार तथा समिक्षकहरु चलचित्र कर्ममा सक्रिय छन् । कोही चलचित्र लेखन, कोही अभिनय त कोही निर्देशनमा । केही पत्रकारहरु भने निर्माताका रुपमा पनि देखिए । पत्रकारितासँगै चलचित्रकर्ममा लागेका केही सफल भए भने केही असफल भए । यिनै चलचित्र पत्रकार र समिक्षकहरुको चलचित्रकर्म बारे पत्रकार बिजयरत्न लेख्छन् ‘कलम चर्को कि चलचित्रकर्म’


हतियारभन्दा कलम बलियो – यो भनाइ सायद नेपोलियन वोनापार्टको हो । जसले विश्वविजेता बन्न सपना देखेका थिए । नेपोलियनको सपना यहाँ चर्चाको विषय हैन । यहाँ चर्चाको विषय भनेको कलम हो । चलचित्र जगतमा कलम समाउने हातहरू धेरै छन् । कलम समाएरै चलचित्रको कथा लेखेका छन् पटकथा लेखेका छन् संवाद लेखेका छन् । यीबाहेक चलचित्रबारे अरु पनि लेख्ने गरिन्छ र त्यो लेखाइलाई समीक्षा भनिन्छ । पत्रकारिता भनिन्छ ।

नेपालमा चलचित्र पत्रकारिताको इतिहास केलाउने हो भने २०१४ साल कार्तिक १० गते प्रकाशनमा आएको ‘सिनेमा’ नै सबैभन्दा जेठो प्रत्रिका हो भन्ने पुष्टि भइरहेको छ  । यसपछिका दिनहरूमा चलचित्र सम्बन्धी पत्रप्रत्रिकाहरूले कस्तो मोड लिए भन्ने कुरा अलग्गै चर्चाको विषय हो । कुरा पुरानै खोतलौं । सिनेमापछि सिनेमामाथि कलम चलेको भनेको रंगमञ्चमा हो । यो २०४१ सालको कुरा हो । यसरी सिनेमा प्रकाशित गर्ने सम्पादक के.एल. कर्माचार्य र रंगमञ्चमा सम्पादकद्वय कुमारीमन चन्दा र शेखरकुमार चलचित्रमाथि कलम चलाउने अमर कलमजीवीका रूपमा इतिहासले सम्झिरहने नाम बन्न पुगेका छन् । हुनत् ती पत्रिकाहरूमा हिन्दी चलचित्रमाथि कलम चलाएको थियो । त्यो बाध्यता थियो । समयले दिएको बाध्यता । कलम चलाउने नेपाली चलचित्र नै नभएपछि हिन्दी चलचित्रबारे नै भए पनि कलम चलाउनुपर्ने बाध्यतातर्फ इंगित गर्दै सिनेमाको पहिलो अंकको सम्पादकीयमा के.एल. कर्माचार्यले लेखेका छन् ‘आफ्नै उद्योग नभएको देशले बाहिरी उद्योगको फाइदा लिन हिच्किचाउनुभन्दा बरु आफ्नै उद्योग गर्नु लाख गुणा जाति थियो भने नहुन्जेलसम्मलाई युगले दिएको सुविधाबाट बञ्चित भइरहनु बुद्धिमानी हुँदैन ।’

हिन्दी चलचित्रमाथि नै भए पनि कलम चलाइ आरम्भ भएको चलचित्र पत्रकारिता क्षेत्रमा यस्ता धेरै कलमजीवीहरू पनि जन्मे, जो कलमको बाटो हुँदै चलचित्रकर्मतिर पनि लागे । अहिले खोज्ने हो भने यस्ता चलचित्रकर्मीहरू असंख्य नै भेटिनेछन् । तर यतातिरका अग्रज को हुन् भन्ने कुरा कौतुहलताको विषय हुनसक्छ । नेपालमा चलचित्र पत्रकारिताको व्यवस्थित एवम् पेशागत विकास भनेको कामना मासिकको प्रकाशन आरम्भसँगसँगै भएको हो । यो २०४१ मंसिर १५ गतेको कुरा हो । यसभन्दा अगाडि चलचित्र विषयलाई समेटेर सुभाष गजुरेलको सम्पादनमा ‘कलाकारको आवाज’ र विजय उदय पाल्पालीको सम्पादनमा ‘ममता’ अनि अभिनेता विश्व बस्नेतको सम्पादनमा ‘मधुरम’ पनि प्रकाशित भइसकेको थियो । ‘मधुरम’ रंगीन आवरणमा प्रकाशित नेपालको पहिलो पत्रिका हो ।

यसरी हेर्दा कलमजीवीको रूपमा यात्रा गर्ने अर्थात् चलचित्रबारे कलम पनि चलाउने अनि सँगसँगै चलचित्रकर्म पनि गर्ने पहिलो व्यक्ति विश्व बस्नेत हो भन्ने देखिन्छ । तर वास्तविकता अर्कै देखिन्छ । विश्व बस्नेत व्यवसायिकरूपमा अत्याधिक सफलता हासिल गरेको पहिलो चलचित्र ‘सिन्दुर’का नायक हुन् । यो चलचित्रको नियमित प्रदर्शन २०३६ मंसिर १० गते आरम्भ भएको थियो २०३७ जेठ ४ गतेसम्म लगातार प्रदर्शन भएको यो चलचित्रले आफ्नो प्रदर्शनको सत्ताइस हप्ता पूरा गरेको थियो । यस हिसाबमा रजत–जयन्ती सप्ताह पूरा गरेको पहिलो चलचित्र ‘सिन्दुर’ नै हो भन्ने देखिन्छ ।

सफलताको किर्तिमान नै कायम गर्दा पनि कुनै विशेष चर्चा नपाएको आवेशमा विश्व बस्नेत आफैले पत्रिका प्रकाशित गरी चर्चा कमाउन ‘मधुरम’ निकालेको देखिन्छ । अरु धेरै सिनेपत्रिकाहरू जस्तै ‘मधुरम’को यात्रा पनि दिगो रहन सकेन । प्रकाशन नै दिगो हुन नसकेपछि विश्व बस्नेतको कलम यात्रा पनि दिगो रहन सकेन । पत्रिका नै प्रकाशन गर्ने चलचित्रकर्मी विश्व बस्नेत नै पहिलो ठहरिए पनि चलचित्रबारे कलम चलाउने पहिलो चलचित्रकर्मी लक्ष्मीनाथ शर्मा हुन् भन्ने देखिन्छ । युवा अवस्थादेखि नै चलचित्रकर्ममा रुची राख्दै आएका शर्मा भारतको प्रसिद्ध अध्ययनशाला ‘फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इण्डिया (पुना इन्स्टच्युट)’ बाट चलचित्र निर्देशनमा डिप्लोमा पनि गरेका छन् । चलचित्रबारे गहिरो अध्ययन गरेका लक्ष्मीनाथ शर्माले वि.सं. २०४० सालमा ‘बदलिँदो आकाश’को निर्देशकको रूपमा चलचित्रकर्मको थालनी गर्नुभन्दा धेरै अगाडि नै चलचित्रमाथि कलम चलाउन थालिसकेका थिए । ‘नेपालमा चलचित्र वितरण र प्रदर्शन’ शीर्षकमा लक्ष्मीनाथ शर्माले लेखेको लेख वि.सं. २०२९ मंसिर १ गतेका दिन गोरखापत्रमा प्रकाशित भइसकेको थियो । त्यसपछि अहिलेसम्म पनि निरन्तररूपमा कलम चलाउँदै आउनुभएका शर्माले लेखेको पुस्तक ‘चलचित्रकला’ नै नेपालमा चलचित्रबारे लेखिएको पहिलो पुस्तक हो । यो पुस्तक २०३८ असारमा प्रकाशित भएको थियो । यसरी हेर्दा कलमको यात्राबाट चलचित्र गन्तव्य बनाउने पहिलो व्यक्ति लक्ष्मीनाथ शर्मा नै हुन् भन्ने देखिन्छ । यसरी हेर्दा नेपाली चलचित्रबारे लेखिएको पहिलो लेख नै लक्ष्मीनाथ शर्माले लेखेको हो भन्ने देखिन्छ ।

चेतन कार्की नेपालका वरिष्ठ चलचित्रविद् हुन् । उनले आफ्नो चलचित्रकर्मको यात्रा लक्ष्मीनाथ शर्माभन्दा धेरै अगाडि नै बढाइसकेका थिए । चलचित्र ‘परिवर्तन’ मा उनी संवाद लेखेका थिए । साथसाथै सह –निर्देशकका रूपमा पनि काम गरेका थिए । चेतन कार्कीले स्वतन्त्र निर्देशकको रूपमा बनाएको चलचित्र ‘विश्वास’ २०४३ सालमा प्रदर्शित भएको थियो । निर्देशनको यात्रा ढिलै थालेका चेतन कार्की सधैं नै नेपाली चलचित्र विकासमा लाग्दै आएका चलचित्रकर्मी हुन् । उनले चलचित्र निर्देशको रूपमा चलचित्रकर्म थाल्नुअघि थुप्रै पत्रपत्रिकाहरूमा नेपाली चलचित्रका विविध पक्षमाथि कलम चलाइसकेका थिए । ती मध्ये ‘राजा वीरेन्द्रको शुभ राज्यभिषेक’ विशेष अंकका रूपमा प्रकाशित ‘भानु’ पत्रिकामा प्रकाशित चलचित्रको संक्षिप्त इतिहास र वर्तमान शीर्षकको लेखाइ त्यतिबेला एक विचारोत्तेजक लेखमा लिएको कुरा यहाँ उल्लेखनीय हुन आउँछ ।

लक्ष्मीनाथ शर्मा, चेतन कार्की, विश्व बस्नेत मात्र नभई ‘कलाकार आवाज’ का प्रकाशक सम्पादक सुभाष गजुरेल, ‘चेतना’ का मोहन निरौला पनि कलमको यात्राबाट चलचित्रकर्मको यात्रातिर अघि बढेका केही अग्रजहरू मध्ये पर्छन् । यस्तै विजय पराजय, सौता, महादेवी, अरुणीमा, तपस्याजस्तो धेरै चलचित्रका निर्माण परिकल्पनाकार शैलेश आचार्य पनि चलचित्रमाथि कलम चलाउने कलमजीवी नै थिए । चलचित्र विकास बोर्डको अध्यक्षसमेत भइसकेका शैलेश आचार्यजस्तै बोर्डका अर्का अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली पनि मूलतः पत्रकारिताफाँटसँग नै सम्बन्धित व्यक्तित्व हुन् । आफ्नो पार्टी नेकपा (माओवादी) को विचार सम्प्रेषण गर्न सक्ने प्रखर कलमजीवी ईश्वचन्द्र ज्ञवालीजस्तै बोर्डका एक पूर्व–सदस्य नयनराज पाण्डे पनि विगतमा कलम चलाउँदै आएका व्यक्तित्व हुन् ।

‘सिमाना’ जस्तै विचारोत्तेजक चलचित्रका सर्जक निर्देशक एवम् लेखक प्रकाश सायमी पनि पत्रकारिताको पृष्ठभूमि बोकेको चलचित्रकर्मी हुन् । यो लेखक पनि कलमको यात्राबाट चलचित्रकर्मको गन्तव्यतिर बढेको चलचित्रकर्मी हो । ‘कामना’ पत्रिकाबाट चलचित्र पत्रकारिता थालेका कमलजीवी मदन घिमिरे पनि चलचित्र निर्देशक हुन् । ‘रोहिणी साप्तहिक’मा कलम चलाएका दयाराम पाण्डेय चर्चित गीतकार हुन् भने केही चलचित्रमा अभिनय समेत गरेका छन् । ‘रोशनी’ पत्रिकामा कलमजीवीका रुपमा रहेका काम गरेका सुशील देवकोटाले पनि चलचित्र लेखेका छन् । यस्तै ‘मन परेपछि’ का निर्देशक सुमन दाहाल र ‘निशाना’का निर्देशक सुरेश दर्पण पोखरेल पनि सञ्चारकर्मी नै थिए ।

पत्रकारिताको कथामा ‘परिभाषा’ जस्तो सार्थक चलचित्र बनाएका निर्देशक राजेन्द्र शलभ, ‘सावधान’ बाट निर्देशन–यात्रा थालेका दिनेश डि.सी. र पहिलो महिला निर्देशका रूपमा चिनिएका सुचित्रा श्रेष्ठ पनि कलमको यात्राबाट चलचित्रकर्मको गन्तव्यतिर बढेका चलचित्रकमीहरू हुन् । दीपक रौनियार, दीपेन्द्र लामा जस्ता शशक्त पत्रकारहरु पनि पछिल्लो समय चलचित्र लेखन र निर्देशनमा व्यस्त छन् । पछिल्लो समयमा चर्चित कलाकार दिकराज गिरीले पनि रेडियो कान्तिपुरमा कार्यक्रम सञ्चालन गर्छन ।

यसरी पाइला अघि बढाउने चलचित्रकर्मीहरूमा ‘अर्धकट्टी’का र ‘सुश्री सम्पति’का निर्देशक सुब्रत आचार्य, ‘एउटा साथी’ र ‘लाल जोडी’का लेखक तथा निर्देशक लक्ष्मण सुबेदी, ‘फिटकिरी’का लेखक यज्ञश, ‘वान वे’का लेखक डा. प्रदिप भट्राई, ‘प्रसाद’का लेखक शुशिल पौडेल, ‘को होला मेरो मायालु’का कथाकार तथा ‘बोबी’का लेखक नरेश भट्टराई मात्र होइन थुप्रै चलचित्र लेखिसकेका सामिप्य राज तिमिल्सना, ध्रुव लम्साल र दिवस गुरागाईंजस्ता शशक्त युवा चलचित्र पत्रकारहरु पनि अहिले पत्रकारितासँगै चलचित्रकर्ममै रमाइरहेका छन् ।

फूल एच.डि. फम्र्याटमा निर्मित नेपालको पहिलो डिजिटल चलचित्र ‘कागबेनी’का निर्देशक भुषण दाहाल पनि मूलतः सञ्चारकर्मी नै हुन् । यस्तै स्वर्गिय आलोक नेम्बाङले पनि सञ्चारकर्म बाटनै आफ्नो करियर शुरु गरेका थिए । चलचित्रकर्ममा लाग्ने कलमजीवीहरू धेरै छन् । अभिनेताकै रूपमा स्थापित हुन नचाहे पनि आकलझुकल नै भए पनि आफ्नो अनुहार देखाउने पत्रकारहरू धेरै नै छन् । निर्देशक शोभित बस्नेत त पत्रकारलाई अभिनेता बनाउन मनपराउने चलचित्रकर्मी हुन् । अभिनयमा रुचि राख्ने पत्रकारहरूमा मनोज के.सी., आर जे प्रणव, दयाराम पाण्डेय, नरेश भट्टराई प्रमुख हुन् । अग्रज चलचित्र पत्रकारहरूमध्ये एक श्रीओम रोदनले पनि ‘जुनी’ लगायतका चलचित्रहरूमा अभिनय गरेका छन् ।

शान्तिप्रिय, सन्तोष रिमाल, जयप्रकाश रिमाल, भरत शाक्य, बिष्णु सुबेदी, विजय आवाज आदि पनि आकलझुकल पर्दामा देखा परेका अनुहारहरू हुन् । उनीहरूमध्ये जयप्रकाश रिजाल त चलचित्र निर्माताका रूपमा समेत अघि बढिरहेका नाम हो । यस्तै पत्रकार बिनोद अर्यालले पनि ‘माया त माया हो’ नामको चलचित्र निर्माण गरेका थिए । निर्देशक के.पी. पाठक र नारायण पुरी पनि कलमबाट चलचित्रकर्मतिर अगाडि बढेका चलचित्रकर्मीहरू हुन्  । ‘कलाकार अवाज’ का प्रकाशक विमल पाण्डेले करिब अठार बर्र्ष अगाडि ‘दृष्टिकोण’ र ‘समाधान’ शीर्षकका टेलिफिल्महरूमा नायकको भूमिका गरेका थिए भने निर्देशक राजेन्द्र उप्रेतीको ‘भरोसा’ मा पनि एक सानो भूमिकामा देखापरेका छन् । जनभावना साप्ताहिकका सम्पादक प्रकाशक एवम् वरिष्ठ पत्रकार निराधराज पाण्डे पनि निर्देशक प्रकाश थापाको ‘सिन्दुर’मा उद्घोषकको रूपमा सानो भूमिका गरेका थिए । वरिष्ठ चलचित्र पत्रकार भरत शाक्यले ‘प्रतिज्ञा’ र ‘संरक्षणमा’मा पत्रकारकै रूपमा अभिनय गरेका थिए । अर्का पत्रकार शान्तिप्रियले ‘माया त माया हो’मा लामै भुमिकामा अभिनय गरेका छन् । पत्रकारिताबाट निर्देशन क्षेत्रमा लागेका के.पी. पाठकले चलचित्र ‘मैना’ भित्र रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलालगायत एक दर्जन वास्तविक पत्रकारहरूलाई पत्रकारकै रूपमा अभिनय गराएका छन् । यस्तै कलमजीवी डब्बु क्षेत्री पनि निर्देशकको रूपमा स्थापित हुने क्रममा अगाडि बढिरहेका छन् । ‘कलेज अफ फिलम स्टडिज्’ बाट फिल्म डाइरेक्सनमा डिप्लोमा गरेका डब्बुले ‘राहदानी’को निर्देशन गरेका थिए । वरिष्ठ चलचित्र समिक्षक रमण घिमिरे त गीतकारका रूपमा स्थापित नाम नै हो । यस्तै अर्का कलमजीवी समिर बलामीले ‘द फेमस’ नामको चलचित्र निर्देशन गरेका छन्  भने पत्रकार श्रीधर पौडेल ‘गोपी’ र सन्तोस राई ‘पुरानो बुलेट’ मार्फत कार्यकारी निर्माताका रुपमा देखिए । यि केही प्रतिनिधी नाम हुन् । यि बाहेक पनि धेरै कलमजीवीहरु कुनै न कुनै रुपमा चलचित्रकर्ममा आवद्ध भएका छन् ।

नेपालमा करिब पचपन्न बर्ष अगाडि नै आरम्भ भएको चलचित्र पत्रकारिताको गर्विलो इतिहास वास्तवमै चाख लाग्दो छ । यसका साथै चलचित्रमाथि कलम चलाउने आफ्नो यात्राको गन्तव्य चलचित्रकर्मलाई बनाउँदै लानु पनि कम रोचक भने छैन । कहिलेकाहीँ त यस्तो लाग्छ कि पत्रकारिताको फाँटलाई चलचित्रकर्मतिर बढ्ने सिंढी बनाइरहेका छन् । तर, निष्कर्षमा भन्ने हो भने चलचित्रकर्ममा अघि बढेकाहरूले वास्तवमा आफूभित्र भएको प्रतिभा प्रदर्शन गर्ने क्रममा चलचित्रकर्मलाई आफ्नो गन्तव्यका रूपमा लिएका हुन् । त्यसैले यसलाई स्वभाविक नै मान्नुपर्दछ । अनि यस्तो यात्राले चलचित्रबारे लेख्ने कलम र चलचित्रकर्मबीचको सम्बन्धलाई नयाँ आयाम दिएको छ भन्ने कुरामा दुई मत गर्नुपर्ने देखिँदैन ।