सांगीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक

२०८० असोज ५
सांगीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक

स्वर्गीय सुरेश केरुङको सम्झनामा निर्माण गरिएको सांगीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच २० मिनेट लामो सांगीतिक चलचित्र रिलिज गरिएको हो । सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन तल्लिन सुरेशको २६ वर्षको उमेरमा कार दुर्घटनामा परी निधन भएको थियो ।

सुरेश केरुङको जीवनलाई विक्रम साङ्पाङले गीतमा उतारेका थिए । विक्रमको शब्दलाई शंकर थापा  ‘स्माइल’ले संगीत दिएका छन् भने राजेश पायल राई, प्रविशा अधिकारी र सुनिता थेगिमको स्वर रहेको छ । शंकरले कथा अनुसार एउटै गीतमा खुशी, दुःख, हर्षलगायतका विभिन्न परिस्थितिहरु बुझाउने संगीत उत्कृष्ट तवरले सृजना गरेका छन् । उनको संगीतले मात्र पनि सांगीतिक चलचित्र हेर्नेहरुलाई बिभिन्न मुडमा लैजान्छ ।

भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व. केरुङको वास्तविक कथामा आधारित सो चलचित्र सार्वजनिक कार्यक्रममा केरुङको परिवारसँग नजिक भएका गायक राजेश पायल राई भक्कानिए । सुरेशसँगका पलहरू सम्झिँदै राईले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए । उनले गत वर्ष निधन भएका सुरेशको परिवारसँगको भावनात्मक सम्बन्धका कारण उनीहरू बस्ने सहर एटलान्टामा हुने सबै कार्यक्रम रद्द गरेको बताए । केरुङ परिवार भने रिलिज कार्यक्रममा उपस्थित थिएनन् । परिवारको प्रतिनिधित्व पनि गायक राईले नै गरेका थिए ।

२० मिनेट लम्बाइको यस चलचित्रलाई देव जङ्ग थापाले निर्देशन गरेका छन् । यसमा माओत्से गुरुङ, कविता आले, बुद्धि तामाङ, एलिशा राई, रजनी गुरुङ, अनिल सुब्बा, दिप्सन आङ्बो र धनु ग्याङ्मीको अभिनय रहेको छ । सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्मा हुन् भने सम्पादक विवेक उप्रेती हुन् ।

कार्यक्रममा कलाकार कविता आलेले आफूले सुरेशलाई कहिल्यै नभेटेको भएता पनि छायाङ्कनको क्रममा आफूछेउ आएको जस्तै भान भएको बताइन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुगेका साङ्गीतिक सङ्घ नेपालका अध्यक्ष प्राज्ञ चेतन सापकोटाले वास्तविक कथालाई साङ्गीतिक चलचित्रमा उतार्नु जोखिमपूर्ण काम भएको तर निर्देशक यसमा सफल भएको बताए । सापकोटाले भिडियो मार्फत आफ्नो सन्तान गुमाउन पर्दा परिवारलाई परेको आघातलाई जस्ताको तस्तै उतारेर समाजमा ठुलो सन्देश छोडेको बताए ।