Mahajatra

‘गोपी’ प्रचार : कविता लेखौं पुरस्कार जितौं

२०७५ पौष १२
‘गोपी’ प्रचार : कविता लेखौं पुरस्कार जितौं

चलचित्र ‘गोपी’को प्रवर्दधन गर्न कविता प्रतियोगिता आह्वान गरिएको छ । निर्माण कम्पनी आरोही इन्टरटेनमेन्ट प्रालिले नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ ।

प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरुले भाग लिन पाउनेछन् । उमेरको कुनै हदबन्दी छैन । सहभागीले चलचित्रको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ । सहभागीहरुबाट प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् । आगामी माघ ७ सम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ । कविता नेपाली भाषा लेखिएको हुनुपर्नेछ । माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गरिने जनाइएको छ 

चलचित्रलाई साहित्यसँग जोड्नका लागि कविता प्रतियोगिता आयोजना गरिएको निर्देशक दीपेन्द्र लामाले बताएका छन् । स्वावलम्बन र स्वरोजगारसम्बन्धी साहित्य प्रेमीहरुमा कस्तो खालको धारणा रहेको छ, त्यो जान्न पनि यो प्रतियोगिता सहयोगी हुने उनले बताए । सामिप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् । विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतका कलाकारको अभिनय रहेको चलचित्र माघ १८ गते रिलिज हुँदैछ ।