Kumari Bank

द्धन्द्ध पिता गोपाल भुटानीको भित्री पाटो, भुटानी आफैले लेखेको जीवनको कथा

लेन्सनेपाल २०७७ श्रावन १६
द्धन्द्ध पिता गोपाल भुटानीको भित्री पाटो, भुटानी आफैले लेखेको जीवनको कथा

द्धन्द्ध पिताका रुपमा चिनिने गोपाल भुटानी नेपाली चलचित्र र चलचित्र प्रेमीका लागि नौलो नाम होइन । नेपाली चलचित्रमा द्धन्द्धको ट्रेण्ड स्थापित गरिदिने व्यक्ति मात्र नभएर कला निर्देशनमा पनि उनको योगदान अतुलनिय रह्यो । २०६७ साल मंसिर ७ गते मंगलबार निधन भएका भुटानी कुशल कलाकार पनि थिए ।

निधनको केही समय पछि भुटानी स्वयम्ले लेखेको आफ्नो जीवन कथा फेला परेको थियो । जुन कथामा उनले आफ्नो जीवनका बिभिन्न उतार चढाबहरु बारे उल्लेख गरेका छन् । उक्त कथामा उल्लेख भए अनुसार भुटानीको वास्तबिक नाम गोपाल बहादुर तामाङ हो । उनले आफ्ना गुरुको निधन पछि उनको सम्मानमा भुटानी लेख्न थालेका थिए । उनले आफ्ना पिता बुद्धिमान तामाङ र बाजे हर्कमान तामाङ भएको जनाएका छन् । भुटानीको जन्म विस १९८४ भदौ १६ गते इलामको फिक्कलमा भएको हो ।

भुटानीले नेपाली चलचित्रमा पहिलो पटक प्रकाश थापा निर्देशित चलचित्र जीवन रेखामा द्धन्द्ध निर्देशकको रूपमा काम गरेका थिए । भुटानीकै शब्दमा द्धन्द्ध समावेश गरिएको पहिलो नेपाली चलचित्र पनि यही थियो । कला निर्देशनमा अब्बल रहेका उनको छायाँकन स्टुडियो निर्माण गर्ने सपना भने अपुरै रह्यो ।

आफ्नो जीवनको संघर्ष सहित संक्षित जीवन कथा उल्लेख गरिएको उक्त कथाको सम्पादित अंश भुटानी शब्दमा :

१९९० सालमा बंगलादेशमा गई ५ कक्षा सम्मको शिक्षा हासिल गरि १९९८ सालमा बम्बई प्रस्थान, बम्बई जानुको मुख्य कारण थियो फिल्म खेल्न ।  बम्बईमा केही समयसम्म त एउटा स्टेशनमै बास बस्न पर्यो  । त्यसपछी फिल्म नसाले गर्दा विभिन्न किसिमका दुःख कष्ट सहेर घडी पसल नारायण वाचमा काम गरे त्यहाँबाट पनि छोडेर क्याप्टेन फाउण्डेशन पेनमा २ बर्ष काम गरे ।

त्यसपछी त्यही फिल्म नशाले गर्दा जागिर खाने र छोड्ने क्रम चलिरहयो । पछी गोरेगाँउको सुदामा सिल्क मिलमा लेवर काम गरे । त्यहाँ पनि त्यो नशाले गर्दा जागिर छोड्नु पर्यो । आजाद मैदान मेरो स्टूडियोहरू घुम्ने पुरा समय त भयो तर, खाने र बस्ने समस्याले होटलमा काम गर्नु पर्यो । आजाद मैदान होटलको छेउमा थियो । त्यही मैदानमा जेमिनी सर्कस आयो । म पनि ६ महिना सम्म सर्कसमा काम गरें । मेरो काम फोहोर उठाउने थियो । यो मेरो जिन्दगीको लागि एउटा मार्गदर्शन हुन पुग्यो ।

मैले त्यहाँ प्रशस्त मात्रामा सिक्ने मौका पाएँ । अनि मैले स्टूडियोहरू घुम्ने मौका पाएँ । मलाई एम एम टी स्टूडियोमा लगियो । मलाई हिरोइनको डुप्लिकेट गर्नको लागि लगिएको रहेछ । बुरान भाईले फाईट मास्टरसंग भेर्टाई दियो । उसले  ‘यो रोल गर्न सक्छस भनेर सोध्यो ?’ यो मेरो सपना थियो, अनि म पनि नअलमलिकन सक्छु भनिदिएँ । त्यसपछी केटीको लुगा लगाई दिईयो र यसो–यसो गर्न भनि सिकायो । सेट लगाएको रहेछ त्यहाँ गईयो, सुटिङ्ग पनि सुरू भयो मेरो सपना, विपनामा पहिलो फिल्म यात्रा थियो ।

एक तल्ला माथिबाट ग्रिल तोडेर तल खस्नु पर्ने थियो । सट लड्न पर्ने थियो तर म नलडी उभी दिएँ । पहिलो शब्द सुने ताली बज्यो कटकट, के होला जस्तो लाग्यो त्यसपछी धेरै राम्रो त भयो तर लड्नु पर्ने फेरी अर्को सट लिने भनी सोध्यो मैलै हुन्छ भनिदिएँ । तर, फाईट मास्टरले यहीँ लडे हुन्छ भनी दियो । म पनि भने बमोजिम त्यही लडी दिएँ ताली बज्यो मास्टरजीले ५ रूपैया इनाम दियो । हिरो हिरोइनले स्यावासी सहित अँगालो मारे । म त यति खुशि भए कि त्यो म बर्णन गर्न नै सक्दिनथे । यो मेरो पहिलो फिल्मी यात्रा थियो । दिन भरी त्यहीँ बसियो खाना खाईयो, साँझ प्रोडक्सन म्यानेजरले १० रूपैयाँ पारिश्रमिक दियो ।

फेरी समस्या खाने बस्नेको । होटलमा बस्दा एउटा सरदार ड्राईभरसँग दोस्ती थियो । त्यसलाई भेटे कामको कुरा गर्दा गाडी धुने काममा लगाईदियो र सिकायो । गाडी धुने काम गर्न थाले । त्यहीँ गाडी चलाउन सिकें । इगल्स फिल्ममा ड्राईभरको नोकरी पाएँ । फेमस स्टूडियोमा अफिस रहेछ । त्यहाँ पहिला म धेरै पटक गएको थिएँ । गेटमा पालेले भित्र पस्न दिदैनथ्यो । तर, पहिलो पल्ट गाडी लगेर भित्र जाँदा मलाई साहै खुशी लाग्यो । मैले त्यहाँ प्रोडक्सनको काम सिकेर त्यही सानोतिनो रोल पनि गर्न थालें ।

मुभी स्टण्ट आर्टिष्ट एशोसिएशन भन्ने संघ खुल्यो र म त्यसको सदस्य भएँ । त्यतिबेला वेसी काम हुदैनथ्यो । पेटको लागि केही त गर्न पथ्र्यो त्यसपछि आर्ट डाईरेक्टरसँग कुल्ली काम गर्न थाले । त्यहाँ मैले आर्टको काम सिकें जो मैले अहिले गरिरहेको छु । त्यपछी दाह्रासिहं किङ्गकङ्गको फाइटिङ्ग पिक्चर्स बन्न थाले पछी फाइटको काम पाउन थालें । त्यसपछी म फाईटतिर लागें । दिनको ६ रूपैया पाईन्थ्यो । गर्दा–गर्दा शेठ्ठी साबको असिस्टेन्ट बनें । चेतन आनन्दले एउटा फिल्म सुरू गर्नु भएको रहेछ । उहाँले मलाई बोलाउनु भयो । त्यो चाईनिज ब्याकग्राउण्डमा बनेको रहेछ । त्यसमा मलाई मेन भिलेनमा सेलेक्ट गर्नुभयो । हिरो त बन्न पाईन तर भिलेन बनें खुशी लाग्यो । फिल्म थियो हकिकत । फिल्म सुपरहिट भयो । त्यसपछी अरू फिल्महरू एडिँका पञ्जावी, ए रास्ता हे चिन के, ललकारमा गर्ने मौका पाएको थिएँ तर पछी इण्डियाको प्रधानमन्त्रीले तास्कन घोषणामा प्रपोगान्डा फिल्म नबनाउने घोषणाले गर्दा यस्ता फिल्महरू बन्द भयो ।

भिलेन भइसकेको  हुनाले सानो–सानो रोल गर्न मिलेन । त्यसपछी एउटा साथीले मरकरी प्रोडक्सन खोल्यो । त्यसमा मैले प्रोडक्सन म्यानेजरको काम गरें । त्यो पिक्चर्स थियो नैनीहाल । त्यसमा साईड भिलेनको रोल पनि गरें । फेरी अर्को अफर आयो सुनिल दत्तको फिल्म मनका मीत जसमा आर्ट डाईरेक्टर बाबु भाईले दार्जलिङ्गको सेट लगाउनु पर्ने हुनाले मलाई नेपाली भनेर सेकेण्ड असिस्टेन्ट भई काम गर्ने मौका दिनु भयो । पूरा सेट मैले दार्जलिङ्गमा लगाएँ । बम्बईमा मैले प्रोडक्सन एक्टिङ्ग, फाईट, आर्ट गरें । त्यहाँ एउटा क्लब थियो । मैले फाईट सम्बन्धी काम सिकें । सतिस भुटानी भन्ने गुरू हुनुहुन्थ्यो तर उहाँ भुटानी होईन । सिहं हैदरबादको हुनुहुन्थ्यो जो अहिले पाकिस्तानमा हुनुहुन्छ । उहाँको देहान्तपछी हामी चेलाहरूले उहाँको सम्मानमा भुटानी राखियो जो मेरो अहिले पनि नामसँग जोडिएको छ ।

म नेपाल आईरहन्थें । यहि क्रममा मैले नेपालमा मनको बाँध भन्ने फिल्ममा काम गरें । त्यसपछी प्रकाश थापाजीले जीवन रेखामा द्धन्द्ध निर्देशकको रूपमा नेपालमा काम गर्ने मौका दिनु भयो । त्यो नेपालकै पहिलो द्धन्द्ध भएको फिल्म थियो । त्यो २०३६ सालमा बनेको थियो । त्यसपछी म नेपालमै निरन्तर रूपमा काम गरिरहेको छु । यहाँ मैले द्धन्द्ध निर्देशक कला निर्देशक, कलाकार गरी विभिन्न किसिमका रोलहरू निभाउदै आईरहेको छु र हाल एउटा सुटिङ्ग स्टूडियो बनाउन लागि रहेको छु । जुन स्टूडियो दुनियाँमा पनि नहुन सक्छ । त्यहाँ रेडिमेड सामानका साथ उपलब्ध हुनेछ । जहाँ सुटिङ्ग गर्दा निर्माताले आफ्नो सामान बाहेक अरू सबै उपलब्ध रहने छ ।

बम्बई गएपछी मैले आफ्नो नाता गोता घर, आमा, बुबा, भाईबहिनी सबै गुमाएँ । पछि फिक्कल घर भएको कुरा भाई भेटेपछी थाहा भयो । यो जिन्दगीमा मैले गुमाएको सबभन्दा महङ्गो कुरा थियो । आज म संग कोही छैनन् तर, म खुशी छु किन कि मलाई गोपाल भुटानी भनेर सवैले चिन्छन् माया गर्छन् । यो नै मेरो जिन्दगीको लागि सब थोक भइरहेको छ । म यसमा खुशी छु । म शान्तसँग यही देशमा रमाउन संकु र अन्त्य पनि यहि देशमा होस् । आज मेरा चेलाहरूले साथ दिईरहेका छन् । मेरो सिप आज उनीहरूले उपयोग गरी नेपाली चलचित्र उद्योगलाई रित्तो हुन दिईरहेका छैनन् । म आफुलाई यसमै भाग्य मानी ठानीरहेको छु । ..............

साभार : फिल्मीखबर