Mansara

हाम्रै टेलिचलचित्रको ट्रेण्डमा छन् अहिलेका चलचित्र – हरिबंश आचार्य, कलाकार

युट्युबले हाम्रो क्रेज बचाई राख्यो

२०७५ माघ १३
हाम्रै टेलिचलचित्रको ट्रेण्डमा छन् अहिलेका चलचित्र – हरिबंश आचार्य, कलाकार

भनिन्छ नेपाली चलचित्र विस्तारै बम्बैया मसलाबाट मुक्त हुँदैछ । चलचित्र निर्माणमा युवा पुस्ताको प्रभाव बढेसँगै मौलिक चलचित्रहरु निर्माणको क्रम पनि बढीरहेको छ । भारतिय चलचित्र निर्माणको फर्मुलाबाट नेपाली चलचित्र विस्तारै पर सरिरहेको छ । दृष्यभाषामा मौलिकता खोजिन थालिएको छ । तर, मौलिक चलचित्रको स्वरुप खोजिदै गर्दा चलचित्रहरु डकुमेण्ट्री र टेलिसिरियल बने भन्ने आरोप भने लागिरहेको छ । हरिबंश आचार्यले त सार्वजनिक कार्यक्रम मै अहिले चलचित्रको ट्रेण्ड आफुले धेरै पहिला निर्माण गरेका टेलिचलचित्रको स्वरुपमा फर्किएको दाबि गरे ।

महसञ्चारको व्यानरमा निर्माण भएको चलचित्र दालभात तरकारीको एक कार्यक्रममा हरिबंशले पहिले पहिले आफ्नो टेलिचलचित्रलाई चलचित्र नै नमान्ने गरेको भए पनि अहिले आएर त्यही ट्रेण्ड चलचित्रमा लागु भएको बताए । त्यो समयमा चलचित्र हुनका लागि टेलिचलचित्र भन्दा भिन्न गीत, फाइट, हाँस्यकलाकार, भिलेनलगायतका मसलाहरु आवश्यक हुने भएपनि अहिले त्यसो नरहेको उनको कथन छ । उनले आफुहरुले निर्माण गरेका टेलिचलचित्रहरु १५ गते, बनपाले, चिरञ्जिवी, लालपुर्जा, सुरबेसुर, लक्ष्मीकै ट्रेण्डमा अहिलेको चलचित्र निर्माण हिडिरहेको दाबी गरे । टेलिचलचित्र र चलचित्रमा खासै भिन्नता थिएन र छैन भन्दै उनले त्यो बेलामा गरेको काम प्रति अहिले पनि गर्व हुने बताएका छन् ।

यता पछिल्लो समय केही चलचित्रकर्मीले युट्युवले चलचित्रको बजार खस्काइरहेको बताइरहदा हरिबंशले भने प्रविधिले आफुहरुलाई जीवित बनाइराखेको जनाएका छन् । नयाँ चलचित्र तत्काल हाल्दा व्यापारमा असर गर्न सक्ने भएपनि केही समय पछि युट्युबमा राख्यो भने त्यसले नेपाली चलचित्रलाई बचाई राख्ने उनको भनाई छ । त्यसको उदाहरणका रुपमा मदन कृष्ण श्रेष्ठ र आफैलाई पेश गरेका हरिबंशले युट्युबकै कारण आफुहरुको क्रेज पुस्तान्तरण भएको समेत बताए । आफुहरुले हप्तै पिच्छे टेलिभिजनमा कार्यक्रम गर्न नसक्ने, हप्तै पिच्छे रंगमञ्चमा कार्यक्रम गर्न पनि नसक्ने र वर्षको २–३ वटा चलचित्रमा काम गर्न पनि नसक्ने भन्दै उनले पहिले गरेका काम युट्युबमा हेर्न पाएइकोले नै अहिले आफुहरु बाचेको जनाएका छन् । युट्युब नभएको भए न्यू जेनेरेशनले मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई चिन्ने कुनै आधार हुँदैन थियो भन्दै उनले यस्ता चलचित्र पछि युट्युबमा राख्यो भने त्यो इतिहास बनेर बसिरहने जिकिर गरेका छन् । उनले पहिले गरेका टेलिचलचित्र अहिले युट्युबमा राखेकोले न्यू जेनेरेसनले आफुहरुलाई चिनेको र त्यसले आफ्नो क्रेजलाई वचाईराखेको बताए । प्रविधिको विकासका कारण आफुहरु नरहे पनि आफ्नो काम इतिहासमा सुरक्षित रहिरहने उनको विश्वास छ ।

Mahajatra