Mansara

कतै गहनता, कतै सरलता तर, बुझाइमा सहजता – यि हुन दयाराम पाण्डेका १० रोमान्टिक गीत

२०७५ फागुन १
कतै गहनता, कतै सरलता तर, बुझाइमा सहजता – यि हुन दयाराम पाण्डेका १० रोमान्टिक गीत

शव्दमा कतै गहनता, कतै सरलता तर, बुझाइमा सहजता दयाराम पाण्डेका गीतका बिशेषता हुन । सन् २००१ को चलचित्र मुस्कानबाट गीत लेखनमा प्रवेश गरेका पाण्डेले थुप्रै चलचित्रमा गीत लेखेका छन् । रोमान्टिक, सेन्टिमेण्टल, आइटम विभिन्न खालका गीत लेखेका पाण्डेका थुप्रै गीतहरु अहिले पनि उत्तिकै हिट छन् ।

पाण्डे पुराना गीतको तुलनामा अहिलेका गीतमा गुणस्तरियता खस्किएको बताउँछन् । आफुले ७० प्रतिशत भन्दा बढी गीतहरु कोठामा भन्दा पनि सिटिङ्गमा बसेर लेखेको उनको भनाई छ । उनी मुड आएर भन्दा पनि मुड बनाएर गीत लेखेका कारण आफ्ना गीतमा बिबिधता पाइने तर्क गर्छन ।

शुरुका केही चलचित्रमा गीत रेकर्ड गर्न निकै कठिन भएपनि चलचित्र ख्यालख्यालैमाको गीत चलेपछि उनले पछाडी फर्केर हेर्न परेन । मुस्कान चलचित्रका लागि पहिलो शव्द लेखेका पाण्डेको गीतलाई संगीतकार शम्भुजित बासकोटाले आफ्नै संगीतमा गाएका थिए । स्याड भर्सनको उक्त गीत भने चलेन । त्यसपछि उनले चलचित्र मनमन्दीरमा (प्रदर्शनका हिसाबले पहिलो)का लागि गीत लेखे । दुर्भाग्य यो पनि चलेन । तर, ‘ख्यालख्यालैमा’को गीत ‘हमशे पुछोना बाबा’ले बिबाद पनि सृजना गर्‍यो भने पाण्डेलाई गीतकारका रुपमा पनि स्थापित गराइदियो ।

भ्यालेन्टाइन डे नजिकिदै गर्दा पाण्डेका १० रोमान्टिक गीतबारे जानकारी लिन मंगलबार दिउँसो लेन्सनेपालको टिम उनको कार्यलय पुगेको थियो । रमाइलो टिभीको कार्यलयमा चियाको चुस्किसँगै गफिदै गर्दा उनलाई आफ्ना १० रोमान्टिक गीत छान्न निकै मुश्किल पर्‍यो । थुप्रै रोमान्टिक गीतका सर्जक पाण्डेले शव्द शव्द केलाए अनि हामीसँग आफ्ना १० उत्कृष्ट रोमान्टिक गीतबारे बताउँन थाले ।

 

१, कुन लोककी परि हौ तिमी – चलचित्र मौसम


गीतका शव्दलाई केलाएर सुन्ने हो भने यो गीतमा एक युवकले युवतिको सुन्दरको वर्णन दिल खोलेरै गरेको छ । चलचित्रमा पनि एउटी युवतिको सुन्दरताको वर्णन गरेर गीत लेख्नुपर्ने सिच्युयसन थियो । गीतकार पाण्डेलाई पनि चलचित्रको कथामा नायिका अति सुन्दर हुन्छ उसलाई पहिलो पटक देख्दैमा नायकले कल्पनाको सागरमा डुबेर उसको वर्णन गर्नुपर्ने हुन्छ भनिएको थियो । यस्ता गीतहरु उनले पहिले पनि लेखेको थिए तर, ति भन्दा विल्कुल फरक बनाउनु पर्ने थियो । त्यसैले यसको शव्दमा नविनता खोज्न थाले । महिना दिन लामो सिटिङ्गको क्रममा गीतका शव्दमा निकै गहनता भरिएर आयो । शुरुमा उनले यो गीतका क्रसलाइनहरु लेखेका थिए । तिनै लाइनका आधारमा संगीतकार सुरेश अधिकारीले मेलोडि तयार पारे, त्यही मेलोडिमा बसेर पाण्डेले गीतलाई पुर्ण बनाए ।

गीत सार्वजनिक भइसकेपछि यसले निकै प्रसंसा पायो । केही अवार्डहरु समेत जित्यो । गीतमा समाबेश ‘पुलकित पल्लवी, सुसोभित सुरभी, मनमोहिनी मोहिनी – कोकिल कुञ्जनी, सुरशिव रञ्जनी, रसरागिनी रागिनी’ जस्ता शव्दहरु नेपाली चलचित्रका गीतमा सुनिएको थिएन र धेरै भाषा बिज्ञहरुले समेत यसबारे चासो दिएको पाण्डेलाई समझना छ । यो गीत आफुले लेखेका रोमान्टिक मात्र होइन सबै गीतको सुचिमा अग्रस्थानमा रहने बताएका पाण्डे यसको पिक्चराइजेशन बाट भने सन्तुष्ट छैनन् । अझ गीतका शव्द जति सुन्दर छन् नायिका कुनै पनि कोणबाट सुन्दर नदेखिएको कमेन्ट धेरैले गरेका थिए ।

 

२, एउटा फूल के मागु – डर


यो गीत निर्माता बाला गुरुङको नक्साल स्थित अफिसमा बसेर तयार गरिएको हो । संगीतकार थिए सुरेश अधिकारी अनि पाण्डे सोलो गीतकार थिए । चलचित्रकी नायिका निरुता सिंहको सधै जसो एउटै कुरा हुन्थ्यो ‘कम्तिमा एउटा गीत बबाल बनाउनु पर्छ ।’ त्यो समयमा निरुताले निकै गीत सुनाइछन् । पाण्डेले उनको नाम नै एमपी थ्री राखिदिए । एक महिना लामो सिटिङ्गको क्रममा कयौं पटक निरुताले आँफै खाना बनाएर पनि खुवाएकी रहिछन् उनीहरुलाई । यो गीतका गायक दिपक लिम्बु भर्खर नेपाली तारा भएका थिए । उनीपनि त्यही आउथे ।

यो चलचित्रका लागि उनीहरुले धेरै गीत बनाएका रहेछन् । एक साँझ दिपकले यो गीत गाए । सबैले मन पराए । गीत लेख्दै जादाँ धर्तिसँग फूल, आकाश सँग तारा अनि सृष्टिसँग अर्को संसार माग्ने कुरा भयो । अब धर्ति आकाशका सबै कुरा त सकियो के माग्ने भन्ने भएपछि पाण्डेले लेखे ‘तिमीलाई नै मागुकी म तिमीसँग तिम्रो लागि’ यो शव्द सुनेपछि सबैले उठेरै तालि बजाए । गीत निकै हिट भयो । पाण्डेले केही अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड समेत पाए । पाण्डेलाई अहिले यो लाइन माया गर्नेहरुका लागि सर्वोकृष्ट लाइन जस्तो लाग्छ ।

 

३, सिन्का सिन्का जोडेर – हंगामा


सुरुमा यो चलचित्रको नाम ‘मैनाराजा मैनारानी’ थियो । पाण्डे सोलो गीतकार थिए । त्यो बेला संगीतकार सुरेश अधिकारी र उनी यो चलचित्र सहित दुर्गा र दुई पलको गीत सिटिङ्गमा बसिरहेका थिए । गीत तयार गर्दा केही रात त बानेश्वर स्थित संगीतकार अधिकारीको अफिसमा बसेको पनि सम्झना छ उनलाई । एउटा रोमान्टिक गीत जहाँ युवा युवतिको मिलनको कुरा गराउनु पर्ने थियो । यहि सिच्युयसनमा बसेर पाण्डेले गीत लेखे । गीतको अन्तरामा केही नयाँ प्रयोग गरे – ‘झनन् झनन् धुन गुञ्जियो रनन् रनन् श्रृतु रागमा, चमन चमन प्रित फैलियो मगन मगन् भई बागमा ।’

गीत तयार भयो शुरुको एक अंशको संगीत हिन्दी गीतसँग मिलेको भनेर कुरा आयो । तर, शव्दलाई सुन्ने हो भने निकै रोमान्टिक छ । श्रीकाली चौरमा यो गीतको छायाँकन गरिएको हो । त्यो समयमा गीत राम्रो बनेको प्रतिक्रिया आयो । धेरैले रुचाए पनि भयो ।

 

४, सुस्तरी सुस्तरी – दाग


पाण्डेलाई फोन गरेर निर्देशक बिजय थापाले आफ्नो चलचित्रका लागि रोमान्टिक गीत लेख्न भनेका थिए । चलचित्रका लागि महेश खड्का संगीतकार थिए । पुतलि सडक स्थित उनकै अफिसमा पाण्डे र खड्का सिटिङ्गमा बस्थे । चलचित्रको सिच्युयसनमा फिट हुने गीत चाहिन्थो । यो गीत तयार गर्नका लागि त्यति धेरै समय भने लागेन । रोमान्टिक गीतमा पाण्डेले इमोशनल शव्द घुसाएका छन् – ‘सुस्तरी सुस्तरी तिमी दिलमा सर्यौं, किन यति धेरै मलाई माया गर्यो ।’ 

यो गीतमा अनस्कृन रोमान्स गरेपछि कलाकारद्वय निखिल उप्रेती र सञ्चिता लुइटेल आपसमा नजिकिएको चर्चा चल्यो । गीतमा उनीहरुको केमेष्ट्री जमेको छ । धेरैले यो गीतमा काम गरेपछि उनीहरुको लभ परेको समेत भने । केही दिन अघि निखिल उनको अफिस पुगेका थिए । त्यो बेला उनले निखिललाई पुरानो कुरा सम्झाए । निखिल हाँसिरहे ।

 

५, मागेर पाउने भए म – खलनायक


निर्माता रोज राणाले पाण्डेलाई एउटा रोमान्टिक गीत लेख्न भनेका थिए । संगीतकार थिए चेतन सापकोटा । कालिका स्थानमा रहेको सापकोटाको अफिसमा सिटिङ्गका लागि बस्थे । जति गीत गर्दा पनि रोजले मागे जस्तो ट्युन सापकोटाले निकाल्न सकेनन् । बरु रोजलाई भनेछन् तपाईले पाण्डेजीलाई पैसा नदिएर हो कि राम्रो गीत लेख्नु भएन । रोज राणाले पाण्डेलाई तत्काल पारिश्रमिक वापत ५ हजार दिएछन् । समस्या शव्दमा मात्र नभएर संगीतमा पनि थियो । गीत अझै भनेजस्तो भएन । पाण्डेले रोजलाई पैसा फिर्ता गर्दै गीत लेख्दिन सम्म भनेछन् । तर, रोजले उनलाई नै गीत लेख्न भने । ५–६ दिनपछि पाण्डेले ‘मागेर पाउने भए म तिम्रै लागि खुबी माग्थे’ भन्ने शव्द लेखे । सापकोटाले ट्युन गरे । रोजले मनपराएर टेवल नै ठोके । एक महिना भन्दा लामो समय पछि गीत तयार भयो । तर, पाण्डे र सापकोटाले १०–१५ मिनेटमै कुनै गीत सकेको उदाहरण पनि छ ।

(आधिकारीक डिजिटल प्लेटफर्ममा नभेटेका कारण हामीले यो गीत यहाँ प्रस्तुत गर्न सकेनौं ।)

 

६, रुपकी रानी उनी – किस्मत


यो गीत रोमान्टिक भएपनि अलिक फरक खालको छ । गीतमा युवतिको वर्णन त गरिन्छ तर एउटा साथीले अर्को साथीलाई आफुले मन पराएको युवतिको बारेमा भन्नु पर्ने थियो । जहाँ तिमी भन्न पाइदैनथ्यो उनी भनेर सम्बोधन गरिएको छ । एउटा युवकले गरेको वर्णन भन्दा अर्को युवकको बर्णन कुनै पनि कोणबाट कमजोर हुनुहुँदैनथ्यो । गीत लेख्न गाह्रो थियो । उनले लेखे ‘यो फूलको कुरै छोडौं, यो जुनको नी कुरै छोडौं – मेरी माया त यस्तो सर्माउछिन, मेरी माया त यस्तो मुस्काउँछिन, उनको त कुरै छोडौं, उनको उनको त कुरै छोडौं ।’

छबिराज ओझाले निर्माण गरेको यो चलचित्रका निर्देशक थिए उज्ज्वल घिमिरे । उज्ज्वल घिमिरेसँग काम गर्दा निकै असहज हुन्छ भन्ने हल्ला थियो बजारमा । तर, काम गर्दा उनलाई घिमिरे निकै सहज मान्छे लाग्यो । महेश खड्का चलचित्रका संगीतकार थिए । सिटिङ्गमा बस्दा खड्काले नै ‘रुपकि रानी उनी मायाकी खानि’ भन्ने दुई लाइन निकालेका थिए । त्यसपछि पाण्डेले ट्युनमै शव्दहरु लेखे । उदित नारायणले गीत गाए । पाण्डेलाई यो गीतमा सबैभन्दा शशक्त उदितकै आवाज लाग्छ । आर्यन सिग्देल, बिराज भट्ट र रेखा थापालाई गीतमा फिचर्ड गरिएको छ । गीत निकै रोमान्टिक बन्यो । यस्तो गीत विगतमा पनि कमै सुनिन्थ्यो, पाण्डेले फेरी यस्तो गीत अर्को चलचित्रमा लेखेका पनि छैनन् ।

 

७, माया नै माया – कुसुमे रुमाल


कुसुमे रुमालका निर्देशक निरक पौडेल अनि संगीतकार सौर्यजित बासकोटा दुबै जना दोस्रो पुस्ताका थिए । उनीहरु विदेशमा अध्ययन गरि नेपाली चलचित्रमा काम गर्दै थिए । गीत पनि अलिकति अरवियन प्याटनको बनाउने कुरा हुन्थ्यो । बालुवाटारको घरमा बसेर सौर्यजितले कम्पोज गर्थे । तर, उनले सहजै रुपमा कम्पोज गर्न भने सकेनन् । शम्भुजित बासकोटासँग पनि काम गरेको अनुभवका आधारमा पाण्डेलाई छोरा सौर्यजित अलिक कमजोर पनि लाग्यो । निकै पटकको प्रयास पछि उनले यो गीतको ट्युन तयार गरे । निर्देशक पौडेललाई पनि मन पर्यो । बासकोटाको ट्युनमा पाण्डेले यसका शव्दलाई पूर्णता दिए । पाण्डेलाई सम्झना छ यसको स्थायी बनाउन उनलाई निकै समय लागेको थियो तर अन्तरा भने तुरुन्तै लेखे ।

 

८, मुसुक्कै हाँस्यौ – तकदिर


पाण्डेले निर्देशक तथा लेखक स्वर्गिय शिव रेग्मीसँग पनि केही चलचित्रमा काम गरेका छन् । रेग्मी आफैमा शशक्त गीतकार पनि हुन तर उनले पाण्डेलाई पनि गीत लेख्न लगाएका छन् आफ्ना चलचित्रमा । रेग्मी पाण्डेलाई माया गर्थे, पाण्डे उनलाई सम्मान गर्थे । । एकदिन उनले भने तैले कस्तो ‘राम्रो गीत लेख्छन् अब माया र स्वर्गमा रोज्न परे तिम्रै माया नै रोज्छु म त भन्ने खालको गीत लेख, त्यो गहिराईको गीत चाहियो ।’ रेग्मीको कुरा उनको मनमा थियो । तकदिरका लागि उनले रोमान्टिक गीत लेख्नुपर्ने थियो । उनले रेग्मीले भनेकै शव्द यो गीतमा लेखे ।

मुम्बईमा गीत रेकर्डिङ्ग गर्ने कुरा भयो । संगीतकार, गीतकार र निर्माता मुम्बई हिडे । द्वन्द्वकालको समय थियो चितवन बन्द रहेछ । उनीहरु फरक बाटो प्रयोग गरेर सुनवल हुँदै गोरखपुरबाट ट्रेन चढेर मुम्बई गए । काठमाडौंमा छदै संगीतकार खड्काले दुई लाइन शव्द थप्न भनेका थिए । तर, पाण्डेलाई त्यत्ति शव्द नै पूर्ण लागेको थियो । उनले मुम्बई पुग्ने बेलासम्म थप्नुपर्ने शव्द तयार गर्ने बताए । ‘मुसुक्क हाँस्यौं, मोहनी लायौ के गर्यौ, कसरी भनु तिमी मलाई मन परयौ’ पछि आउने ल ल लै लै.... को ठाँउमा शव्द नै राख्ने कुरा थियो । तर, पाण्डेलाई अघिल्ला शव्दमा भने झै आफुलाई मन परे पछि पर्यो त्यसमा अरु किन थप्ने भन्ने लागेछ, उनले थप शव्द लेखेनन् । यत्तिकैमा गीत रेकर्ड भयो ।

 

९, ए मेरी प्रेम नगरकी रानी – इन्द्रेणी


सात जना हिरोइन थिए । एउटा रोमान्टिक गीत बनाउनु पर्ने । पाण्डेलाई गीत लेख्न भनियो । पानिपोखरी स्थित संगीतकार शम्भुजित बासकोटाको घरमा साँझको बेला सिटिङ्ग हुन्थ्यो । गीतलाई कसरी उठाउने भन्ने बारेमा लामै समय छलफल भयो । त्यो समयमा शम्भुजित बासकोटाको घरमा गएर त्यसरी गीतको छलफल गर्नु आफैमा ठुलो कुरा पनि थियो ।

गीत त्यतिबेला चलेका कलाकार शुशिल क्षेत्री र बिपना थापा माथी फिचर्ड गरिएको थियो । तर यही सिनेमाको झर्यो किष्ण भिर भन्ने गीत अत्यन्त चल्यो भने यो केही ओझेलमा परेको थियो ।

(आधिकारीक डिजिटल प्लेटफर्ममा नभेटेका कारण हामीले यो गीत यहाँ प्रस्तुत गर्न सकेनौं ।)

 

१० मेरो सुखले दिन ढल्दैन तिमी नभए – ठमेल डटकम


यस अघि पनि अर्जुन पोखरेल र पाण्डेले केही चलचित्रमा सँगै काम गरेका थिए । गोपीकृष्ण मुभिजको व्यानरमा बनेको यो चलचित्रका लागि एउटा रोमान्टिक गीत चाहिएको थियो । पाण्डे सोलो गीतकार थिए । हुन त यो गीत खासमा चलचित्र ‘ड्रिम्स’का लागि बनाइएको थियो । तर, उक्त चलचित्रमा अटेन । गीत स्टक थियो । ‘मेरो सुखले दिन ढल्लैन तमी नभए’ भन्ने थिम चाँही अर्जुन पोखेरलको हो । उनले बनाएको थिममा पाण्डेले गीत लेखे । दुवै जनाको सल्लाह बमोजित तिमी नभए भन्ने शव्दलाई समातेर गीत लेखियो । पछि ठमेल डटकममा यो गीत फिट हुने भयो । त्यसैले यसमा राखियो । शुरुमा अनिल सिंहले गीत गाएका थिए तर उनको गायकी पप प्याटनमा ढल्कीयो । उनको भन्दा अर्जुन स्वर नै फिट हुने देखियो । अर्जुनले नै गीत गाए । आलाप र अन्त्यको एक लाइनमा केटीको स्वर चाहिएको थियो । अञ्जु पन्त स्टुडियोमा छिरिन, उनलाई गीत मन परेछ त्यसैले पुरै गीत गाइदिइन । अञ्जुले गाएको गीत बजारमा त आएन तर, अहिले पनि सुरक्षित छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन । गीत चल्यो धेरैले रुचाए ।

Mahajatra