‘पुजार सार्की’को कथा भेरी घट्नाबाट प्रभावित छैन – विकास सुबेदी, लेखक

२०८१ बैशाख २७
‘पुजार सार्की’को कथा भेरी घट्नाबाट प्रभावित छैन – विकास सुबेदी, लेखक

पछिल्लो जनगणना अनुसार नेपालमा कुल ३९ लाख ४ सय ६९ दलित समुदाय रहेका छन् । राष्ट्रिय तथ्यांक कार्यलयले २०८० मंसिर १८ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो कुल जनसंख्याको १३.४ प्रतिशत हो ।

त्यही समुदायका एक पात्र ‘मैतबहादुर’लाई केन्द्रमा राखेर कथा भनिएको चलचित्र ‘पुजार सार्की’ यतिबेला चर्चामा छ । जेठ १० गतेबाट प्रदर्शन हुने चलचित्रको टिजर र गीतले मात्र होइन मंगलबार सार्वजनिक गरिएको ट्रेलरले पनि चलचित्रको मुख्य कथा नै जातिय विभेद बिरुद्ध रहेको स्पष्ट पारेको छ ।

बिकास सुबेदीले लेखेको चलचित्रलाई दिनेश राउतको निर्देशन गरेका हुन् । निर्देशक राउतले तीन पात्रले समान उद्धेश्य अर्थात जातिय बिभेद बिरुद्ध गर्ने संघर्ष नै चलचित्रको मुल कथा भएको जनाएका छन् । सार्वजनिक टिजर र ट्रेलरमा समान अर्थात गाउँलेहरुले चलचित्रका मुख्य दुई पात्र मैतबहादुर र पुजारलाई ढुङ्गाले हान्दै लखेटेको दृष्य समावेश छ । चलचित्रको ट्रेलरमा दलित समुदायको ‘मैतबहादुर’ र जनजाति समुदायकी ‘गौमाय’ अनि ब्राम्हण समुदायको ‘पुजार’ र दलित समुदायकी ‘मैया’ बिचको प्रेम स्थापित रुपमा प्रस्तुत गरिएको छ । जसका कारण गाउँलेहरुले उनीहरुमाथी आक्रमण गर्नुको प्रमुख कारण अन्र्तजातिय प्रेम नै हो कि भन्ने आँकलन गर्न सकिन्छ ।

जुन दृष्यलाई धेरैले बि.सं. २०७७ जेठ १० गते पश्चिम रुकुममा घटेको घट्नासँग समेत जोड्ने गरेका छन् । उक्त घट्नामा जाजरकोटको रानागाउँका २१ वर्षिय नवराज विक सहित छ जनाले आक्रमणमा परि ज्यान गुमाएका थिए । जसमा चार जना दलित भनिने समुदायका थिए । ज्यान गुमाएका छ जनाकै शव भेरी नदिमा फेला परेको थियो ।

रुकुम पश्चिम चौरहजारी नगरपालिका – ८ सोती गाउँकी मल्ल थरकी युवतिसँग प्रेममा रहेका विक सो दिन उनलाई भगाएर विवाह गर्न साथीहरु लिएर त्यहाँ पुगेका थिए । दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले विक सहित उनका साथीहरुलाई लखेटेर मारेको पुष्टि भएको छ । २०८१ बैशाख २६ गते जिल्ला अदालत रुकुम पश्चिमले २४ जनालाई दोषी ठहर्याउँदै जन्मकैदको सजाय सुनाएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो अनुसन्धान प्रतिवेदनमा उक्त घट्नाको प्रमुख कारक ‘जातिय विभेद’ रहेको निष्कर्ष निकालेको थियो ।

चलचित्र ‘पुजार सार्की’को कथा भने २०४६ सालको सेटअपमा भनिएको छ । चलचित्रको टिजरमा रेडियो नेपालको समाचारको डेटलाईन ‘आज २०४६ साल फागुन ५ गते’ सुन्न सकिन्छ । जसका कारण यो चलचित्रको कथा भन्ने समयमा उक्त घट्ना नघटेको प्रष्टै हुन्छ । त्यसो त उक्त समयमा दलित समुदायले अहिलेको भन्दा पनि चर्को विभेद भोग्नु परेको बिभिन्न तथ्यहरुले देखाएको छ । चलचित्रका लेखक सुबेदी आफ्नो जन्मथलो कास्किको कास्कीकोटमा आफुले देखेको वास्तविक घट्नाबाट चलचित्र प्रभावित भएको बताउँछन् । मंगलबार ट्रेलर सार्वजनिक कार्यक्रममा उनलाई यही घट्नासँग जोडेर पनि प्रश्न सोधियो । उनले चलचित्रले प्रस्तुत गर्ने कथा भेरीको मात्र नभएर लाखौं दलितहरुको भएको बताए । उनले वषौं देखि दलितहरुले यस्तो विभेद सहदै आएको तर, पछिल्लो समय सोसियल मिडियाका कारण केही घट्नाले मात्र चासो र चर्चा पाएको बताए । उनले चलचित्रको कथा आफैमा मौलिक भएको र यो घट्नासँग कुनै तामले नभएको भन्दै उक्त आरोप अस्विकार गरेका छन् । उनले भने – ‘यो भेरीको मात्र प्रश्न होइन । हजारौं वर्षदेखी कतिजना लखेटिएर मरे मरे नी, मारिए होलान, लखेटिए होलान, घर छोडे होलान यस्ता त हजारौं कथाहरु छन् । हामीलाई त मिडियामा आएको भएर, यो सोसियल मिडियाको युग भएको भएर नवराज विकको कुरा थाहा भएको मात्र हो । त्यही भएर यो चरित्र, यो कथाको आफ्नै मौलिकता छ र आफ्नै फरक प्रसंग छ । चलचित्र हेरेपछि तपाईहरुले अनुभव गर्नुहुन्छ, भेरी घट्ना बाट प्रभावित कथा होइन र त्यो चरित्रसँग हाम्रा चरित्रहरुले कुनै तालमेल राख्दैनन् ।’

चलचित्रमा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह, अञ्जना बराइली, परिक्षा लिम्बुलगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

LPT
Gaun Aayeko Bato