चलचित्रमा यौनजन्य दृष्य कलात्मक भन्दा अश्लिल ज्यादा !

दृष्टिमा हैन दृष्यमै अश्लिलता !

बिष्णु सुबेदी २०७५ असोज ११
चलचित्रमा यौनजन्य दृष्य कलात्मक भन्दा अश्लिल ज्यादा !

भनिन्छ कामुकता दृष्यमा हैन दृष्टिमा हुन्छ । तर अपबादलाई छोडेर नेपाली चलचित्रको हकमा भने कामुकता दृष्टिमा भन्दा पनि दृष्यमै देख्नेहरु धेरै छन् । यति सम्मकी त्यस्ता दृष्यहरुलाई कलात्मक नभएर भल्गर वा अझ भन्ने हो भने अश्लिलताको बात लाग्ने गरेको छ ।

हुन त विम्ब जस्तो प्रतिविम्ब त्यस्तै देखिन्छ । तर, किन अक्सर नेपाली चलचिमा समावेश यौनका दृष्यहरुलाई अश्लिलताको बात लाग्छ ? चलचित्रमा समावेश यस्ता दृष्यको प्रस्तुतिमा कलात्मक पक्ष शुन्य भएकै हो त ? वा बिरोध र आलोचनाका लागि मात्र यस्तो आरोप लाग्ने गरेको छ । दृष्यनै अश्लिल हो वा दृष्टि । विषय प्रवेश अघि केही नेपाली चलचित्रका दृष्यहरु सम्झौं ।

दृष्य नम्बर १
चलचित्र आमाको मायामा कथाको मागअनुसार नै स्तनपानको दृष्य राखिएको थियो । तर पनि यो दृष्य चलचित्र सेन्सर बोर्डबाट सहजै पास भएन । अभिनेत्री निलु रायमाझीले स्तनपान गराएको यो दृष्यमा बोर्डका पदाधिकारीलाई आपत्ति थिएन । आपत्ति थियो त अविवाहित अभिनेत्रीले स्तनपान गराएकोमा ।

दृष्य नम्बर २
चलचित्र कसमको एक गीतमा विना बुढाथोकीको भित्री वस्त्र नै देखिएको थियो । त्यही गीतमा राजेश हमाल पनि अन्डरवेयरमा नाचेका थिए । तर राजेशको अन्डरवेयरको कुनै चर्चा भएन, विनालाई धेरैले गिज्याए ।

दृष्य नम्बर ३
बालकृष्ण समले लेखेको कृतिमा आधारित चलचित्र हो प्रेमपिण्ड  । यसको कथामा राणाकालिन समयको विषयवस्तुलाई प्रस्तुत गरिएको छ  । जहाँ कथाले धेरै कुरा मागेको छ  । यतिसम्म कि उक्त कृतिमा कथाकारले कथामा उनको अंग यस्तो थियो, उस्तो थियो भनेर पनि वर्णन गरेका छन् तर चलचित्रमा त्यस्ता दृष्यहरु सबै हटाइए ।

दृष्य नम्बर ४
चलचित्र लुटमा क्लोज सर्कलभित्र बोलिने केही सम्बादहरु थिए । जुन सम्बाद मास मिडियामा बोल्नु उपयुक्त पक्कै हुँदैन । त्यस्ता सम्बादहरुमा विपको प्रयोग गर्नुप¥यो । चलचित्र चल्यो । लुट चल्नुको पछाडी धेरै कुराको उपयुक्त संयोजन थियो । तर धेरैले त्यस्तै सम्वादका कारण चलचित्र चलेको बुझे । त्यसपछिका धेरै चलचित्रमा सुन्नै नसकिने शव्दहरु समेत समावेश गरिए ।

दृष्य नम्बर ५
चलचित्र चपली हाइट पनि व्यवसायिक रुपमा सफल भयो । यसको पोष्टर देखि दृष्य सम्मलाई लिएर केही आलोचना पनि भए । चलचित्रमा यौनजन्य केही दृष्यहरु थिए तर ति कथाको आवश्यकता र प्रस्तुतिमा कलात्मक लाग्थे । यद्यपी यो चलचित्रको सफलता पछि केही चलचित्रकर्मी त्यस्तै दृष्य राखेमा चलचित्र चल्छ भन्ने भ्रममा परे ।

दृष्य नम्बर ६
चलचित्र एटिमलाई सरोकारवाला निकायले बन्देज नै लगायो । सहजै भन्न सकिन्छ यसको प्रोमो नै अश्लिल थियो । सेन्सरमा लामो समय चलचित्र अड्कियो । धेरै दृष्यहरु काटेर सेन्सर पास भयो तर निर्माता÷निर्देशकले बदमासी गरे । सेन्सरले हटाउन भनेका दृष्य नहटाई सार्वजनिक प्रदर्शन गरे । जसका कारण चलचित्रको प्रदर्शनमा बन्देज लाग्यो । निर्माण युनिट अदालत पुग्यो पछि अदालको आदेशमा सेन्सरले काट्न भनेका दृष्य हटाएर मात्र प्रदर्शन भयो । जसले जे भनुन यो चलचित्रका निर्माताको नियत मै खोट थियो । कलाकार पनि अश्लिलता प्रदर्शन गर्न हिच्किचाएन् ।

२०६९ साल तिर यस्तो पनि भयो अधिकांश चलचित्रमा यौनजन्य सम्वाद र दृष्यहरु समावेश हुन थाले । 

दृष्य नम्बर ७
चलचित्र भुइँमान्छेमा एक युवतिको नाङ्गो दृष्य छ । जसमा युवतिको शरिरमा कुनै पनि लुगा छैनन् । गोप्यअंग समेत देखिन्छन् । यद्यपी कसैले पनि त्यसलाई अश्लिल भनेनन् । सबैले त्यसमा कला देखे ।

दृष्य नम्बर ८
चलचित्र कथा काठमाडौंको मा समावेश गरिएको एक दृष्य । जहाँ दुई पात्र बिचको शारिरिक सम्बन्ध देखाइएको छ । सरकारले अश्लिलताको संज्ञा दिदै ट्रेलर नै हटाउन पत्र काट्यो । भिडियो साझेदारी सञ्जाल युट्युवले यसको गीतलाई एडल्टको सुचिमा राख्यो । सेन्सरले चलचित्रका केही दृष्यमा कैचि चलायो । विषय बस्तुका आधारमा यस्ता दृष्य अपरिहार्य होलान तर कलात्मक प्रस्तुति दिन निर्देशक चुकेकै हुन ।


बायाँबाट क्रमश चलचित्र किन किन, कथा काठमाडौंको र एटिएममा समावेश दृष्य


नेपाली चलचित्रमा अश्लिलता वा अंग प्रदर्शनको बात पटक पटक लाग्ने गरेको छ । केही चलचित्रकर्मीहरुले त्यस्ता दृष्यहरुलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् र यस्ता आरोपबाट बचेका छन् भने केही चलचित्रकर्मीहरुले दृष्यलाई कलात्मक बनाउन नसक्दा चर्को आलोचना खेपिरहेका छन् ।

माथी प्रस्तुत गरिएका दृष्यहरुले विभिन्न कालखण्डमा नेपाली चलचित्र वा चलचित्रकर्मीले अश्लिलता र अंगप्रदर्शनको मामलामा के कस्ता आलोचना खेप्नु प¥यो अनि चलचित्रकर्मी स्वयम्ले कसरी यस्ता दृष्यबाट चलचित्रलाई मुक्त बनाए भन्ने कुराको झल्को दिएको छ ।

कुनै समय यस्तो थियो चलचित्रमा नायक नायिकाले चुम्वन गर्दा हंगामा हुन्थ्यो । किस सिनकै कारण नायिकाका श्रीमानले नायकलाई पिटेको घट्ना पनि अब इतिहास भइसक्यो । चलचित्रमा नायिकाको भित्री बस्त्र देखिएका गसिपहरु अब सामान्य भइसके । किनकी समाज गतिशिल छ । समयको गतिसँगै मानविय चेतनामा आउने परिवर्तनका कारण यस्ता दृष्यहरु सामान्य हुँदै आएका छन् । तर अझै पनि हाम्रो समाजले यौनजन्य दृष्यहरु पचाउन सकेको छैन । यसो भनिरहदा चलचित्रकर्मीहरुले समाजमा पच्ने खालकै दृष्यहरु मात्र पस्किरहेका छन् भन्न खोजिएको पनि होइन । चलचित्रकर्मीहरु पनि यस्ता दृष्यलाई कलात्मक बनाउन चुकैकै छन् ।

अपबादलाई छोडेर हेर्ने हो भने अधिकांश चलचित्रमा कथा वा विषयको माग भन्दा पनि जवरजस्ती रुपमा यस्ता दृष्यहरु समावेश गरिएको जस्तो लाग्छ । तैपनि चलचित्रकर्मीहरुको एउटै जवाफ आउँछ, यो कथाको माग हो  । तर के यौनजन्य दृष्यहरु पनि कथाले मात्रै माग्छ र ? यो प्रश्नको जवाफ खोज्नु त्यति सहज छैन ।

कथा सोचबाट शुरु हुन्छ, कथा कुनै घट्नाबाट शुरु हुन्छ, कथा समाजिक परिवेशबाट शुरु हुन्छ, कथा मानसिक द्वन्द्वबाट शुरु हुन्छ, कथा भोगाईबाट शुरु हुन्छ, कथा ...................... । कथा काल्पनिक हुन्छ, कथा रियालिष्टिक हुन्छ । कथा रियल नै हुन्छ । सुराक वा सुत्र जे होस् कथा खालि पन्नाबाट शुरु हुन्छ । अनि कलाको मसिले कथा पुर्ण हुँदै जान्छ । यसैले कथाको माग भनेर चलचित्रकर्मीहरु उम्कन नमिल्ने बताउँछन् लेखक तथा निर्देशक यादब खरेल ।

कथा यस्तो कुरा हो  । जुन कल्पनामा कोरिन्छ । त्यही कल्पनाको कुरालाई चलचित्रमा उतारिन्छ भने कथाले नै अंग प्रदर्शन कसरी माग्छ  ? कि त यौनका विषयवस्तुमा चलचित्र बनाइनुपर्छ  । कथाकारको सिर्जनशिलता र त्यसलाई पर्दामा उतार्ने निर्देशकको खुवी वा भनौं कलात्मकताले कथालाई मोड दिन्छ  । भनिन्छ नि कुरो र कुलो जता गए पनि जान्छ  । तर त्यो कुरोमा चुरो र कुलोमा पानी नजान पनि सक्छ  । अहिले पनि यस्तै भएको छ । अधिकांश चलचित्रकर्मीहरु यस्ता दृष्यलाई कथाको माग भन्छन् तर, धेरै चलचित्रमा त्यस्ता दृष्यहरु स्वभाविक लाग्दैनन् । बरु जवरजस्ती थोपरिएको भान हुन्छ ।

केही समय अघि निर्देशक खरेलसँगको एक भेटमा उनले आफ्नै चलचित्र प्रेमपिण्डको उदाहरण दिदै भनेका थिए – ‘यदि कथामा वर्णन गरिएझैं चलचित्रमा पनि अंगप्रत्यंग देखाएको भए सायद त्यो चलचित्र नेपाली माटोको सुगन्ध बोकेको चलचित्र बन्ने नै थिएन ।’ बालकृष्ण समले लेखेको कृतिमा आधारित चलचित्र हो प्रेमपिण्ड  । यसको कथामा राणाकालिन समयको विषयवस्तुलाई प्रस्तुत गरिएको छ  । जहाँ कथाले धेरै कुरा मागेको छ  । यतिसम्म कि उक्त कृतिमा कथाकारले कथामा उनको अंग यस्तो थियो, उस्तो थियो भनेर पनि वर्णन गरेका छन् तर, चलचित्रमा त्यस्ता दृष्यहरु सबै हटाइए  । त्यसैले खरेलको यो भनाई तर्कका लागि कुतर्क गरेर आफूलाई बचाउन कथाको माग भन्नेहरुका लागि एउटा गतिलो झापड हुनसक्छ ।

तर, कतिपय अवस्थामा खरेलले भनेझै यस्ता दृष्यहरु हटाउन मिल्दैन । यौन मनोविज्ञानका चलचित्र वा कथाको मुलआशय यस्तै दृष्यले बोक्ने चलचित्रमा सिम्बोलिक दृष्य पनि अर्थ पुर्ण नहुने पत्रकार तथा लेखक सामिप्यराज तिमिल्सिना बताउँछन् । चलचित्रकर्मीले नियतबस राखेको नभई कथाको मुल मर्म नै यस्ता दृष्यले बोक्ने गरि बनाइएको छ भने त्यस्ता दृष्यमा कलात्मक प्रस्तुति गर्नु पर्ने उनको भनाई छ । कतिपय अवस्थामा कथाको माग विनै नियतवस थोपरिने यस्ता दृष्यहरुबाट चलचित्रकर्मी स्वयम् बच्न भने आवश्यक ठान्छन् उनी ।

त्यसो त अर्को पत्रकार तथा लेखक शुशिल पौडेल कस्तो कथालाई चलचित्रमा पस्कने भन्ने विषयमा जिम्मेवार भएर सोच्नु पर्ने बताउँछन् । चलचित्र सामाजिक उत्तरदायित्व पनि हो अनि मास मिडिया पनि त्यसैले समाजमा घट्ने घट्नालाई चलचित्रको विषय बनाउनु अघि त्यसको असर र प्रभावबारे सुक्ष्म रुपमा केलाउन सक्नु पर्ने उनको भनाई छ । तर रियालिष्टिक चलचित्र बनाउने होडमा चलचित्रकर्मीहरु कलात्मक हुन नसकेको आंशका पनि छ पौडेललाई । उनी यस्ता दृष्य समावेश गरेर पनि समाजलाई सकारात्मक शन्देश नै प्रवाह गरिएको छ भने त्यस्ता चलचित्रलाई अश्लिल मान्न नसकिने बताउँछन् । यति हुँदा हुँदै पनि प्रस्तुति कलात्मक भएन भने त्यस्ता चलचित्रलाई अश्लिलताको वात लाग्नु स्वभाविक नै ठान्छन् ।

चलचित्र कला हो । कलात्मक प्रस्तुतिले चलचित्रलाई अव्वल बनाउँछ । त्यस्तै अवस्थामा त्यस्तै दृष्य कुनै चलचित्रमा कलात्मक लाग्छ त कुनै मा भल्गर वा भनौं अश्लिल । निर्देशक दिनेश राउत जस्तो सुकै दृष्यलाई पनि कलात्मक प्रस्तुतिले आकर्षक बनाउन सकिने बताउँछन् । कथाले माग्यो भन्दैमा त्यस्ता दृष्यहरु समावेश गर्नुभन्दा कलात्मक ढंगले कथा बुनेर त्यसलाई पनि सोही अनुरुप प्रस्तुत गर्न सके यौनका दृष्यहरु पनि कलात्मक लाग्ने उनको भनाई छ ।


बायाँबाट क्रमश लेखक तथा निर्देशक यादब खरेल, लेखक तथा निर्देशक रमेश बुढाथोकी, कलाकार सरिता लामिछाने, निर्देशक दिनेश राउत, पत्रकार तथा लेखक शुशिल पौडेल र पत्रकार तथा लेखक सामिप्यराज तिमिल्सिना


यता निर्देशक रमेश बुढाथोकी आफ्नै चलचित्र भुइँमान्छेको उदाहरण दिदै भन्छन् – ‘भुइँमान्छेमा युवति सर्वाङ्ग रुपमा नाङ्गो भएको एक दृष्य छ । जहाँ उनका गोप्य अंगहरु पनि देखिएका छन् । तर उक्त दृष्य कसैलाई भल्गर लागेन, न त अश्लिलताको नै बात लाग्यो । बरु हेर्ने जतिले कलात्मक प्रस्तुति भने ।’ उनको भनाईबाट पनि के स्पष्ट हुन्छ भने निर्देशकले यस्ता दृष्यलाई कलात्मक रुपमा प्रस्तुत गर्न सक्ने हो भने अश्लिलताको आरोप खेपिरहन पर्दैन । त्यसो भए निर्देशकहरु कलात्मक प्रस्तुति दिनबाट चुकेकै हुन त ? बुढाथोकी थप्छन् – ‘चलचित्र कला हो । त्यसैले कलात्मक प्रस्तुति हुनै पर्छ । चलचित्र साहित्य पनि हो । त्यसैले कथा भन्ने शैली प्राज्ञिक हुनै पर्छ । कथाले यस्ता दृष्य माग्न सक्छ तर त्यसलाई स्वभाविक बनाउने भनेको प्रस्तुतिले नै हो ।’

यता चलचित्र कलाकार संघकी महासचिब सरिता लामिछाने दर्शक तान्ने होडमा त्यस्ता चिज बनाउन चलचित्रकर्मी नै तल्लिन भएको हुन सक्ने बताउँछिन । यस्ता दृष्यहरुलाई कलात्मक ढंगले प्रस्तुत गर्न सकिन्छ तर, त्यसो नहुनुले पनि आलोचनाको शिकार हुनु परेको लामिछानेको बुझाई छ । त्यसो त कलाकारले पनि कस्तो कथामा काम गर्ने, अनि त्यसको प्रस्तुति कस्तो हुन्छ भन्ने कुरामा ध्यान दिनु पर्ने उनी बताउँछिन । कलाकार समाजको आइडल हुने हुँदा उसका गतिबिधिलाई धेरैले फलो गर्नु स्वभाविक हो । लामछिाने आफु कुन समाजमा छु र के कुरालाई प्रतिनिधित्व गर्छु भन्ने बारेमा कलाकार पनि सचेत हुनुपर्ने धारणा राख्छिन ।

त्यसो त लेखक तिमिल्सिना ग्ल्यामर र भल्गारिटीमा रौं वराबरको अन्तर भएको बताउँछन् । अलिकति पनि कलात्मक बनाउनबाट चलचित्रकर्मीहरु चुक्ने हो भने यस्ता दृष्यहरु भल्गर लाग्छन् । अनि सिच्युयसन र प्रिजेन्टेसनका आधारमा कथाकै माग अनुसार यस्ता दृष्य समावेश छन् भने त्यसलाई स्वभाविक मान्नु पर्ने उनी बताउँछन् । तर केही चलचित्रमा अनावश्यक रुपमा यस्ता दृष्यहरु थोपरिदा अश्लिलताको बात लागेको हुन सक्ने उनको कथन छ । उनी पनि कलात्मक प्रस्तुतिमा जोड दिन्छन् । उनकै जस्तो भनाई छ अर्का लेखक पौडेलको पनि । उनले चलचित्रमा यस्ता दृष्य समावेश गर्ने मान्छेको नियत र हेर्ने मान्छेको हेराईमा अश्लिलता वा ग्ल्यामर भेटिने बताउँछन् । पौडेल समय, समाज, परिवेश र विषयका आधारमा चलचित्रमा समावेश यस्ता दृष्यहरु स्वभाविक छन् भने त्यहाँ चलचित्रकर्मीको नियत खराब नलाग्ने जनाउँछन् । तर, समाजमा पच्न नसक्ने खालका दृष्यहरु समावेश गर्ने चलचित्रकर्मीको भने नियतमै खोट देख्छन ।

त्यसो त कसम देखि कथा काठमाडौं सम्म आइपुग्दा यस्ता दृष्यहरुलाई लिएर नायकको भन्दा नायिकाको चर्को आलोचना हुने गरेको छ । कसममा बिना बुढाथोकीको होस् वा कथा काठमाडौंको मा प्रियंका कार्कीको किन नहोस् । एउटै फ्रेममा उस्तै भुमिकामा देखिएका पुरुष पात्रको भन्दा नारी पात्रकै बढी आलोचना हुने गरेको छ । चलचित्र कलाकार संघकी महासचिब सरिता लामिछाने समाजले नारीलाई संबेदनशिल रुपमा हेर्ने गरेकोले पनि यस्तो भएको हुन सक्ने बताउँछिन । त्यसो त उनले यसका पछि नारीलाई सम्मान दिने गरेकोले तिमीहरुलाई त्यो छुट छैन है भनेर पनि भन्न खोजिएको हुन सक्ने धारणा राख्छिन् । एउटा कलाकारले जस्तो सुकै कथामा पनि अभिनय गर्न सक्नु पर्छ । तर, सामाजिक संरचनालाई ध्यानमा राखेर निश्चित दायरा भित्र भने बस्नु पर्ने लामिछानेको भनाई छ । उनका अनुसार हाम्रो सामाजिक संरचना, परम्परा र संस्कृतिले नारीलाई शक्ति मानेको छ, नारीलाई देबी मानेको छ, नारी मान हो, नारी सम्मान हो, नारी इज्जत हो यसैले एउटा निश्चित दायरा भित्र बस्नु पर्छ भनेर समाजले झक्झकाएको हुन सक्छ ।

चलचित्र सृजनात्मक अभिव्यक्ति हो । त्यसैले जुन सुकै कुरालाई सृजनशिल बनाउन सकिन्छ । रियालिष्टिक चलचित्रको नाममा जे हो त्यही कुरा दृष्यमा उतार्नु पक्कै पनि सृजनात्मक अभिव्यक्ति होइन । अपबादलाई छोडेर हेर्दा अंग प्रदर्शन वा अश्लिलताको मामलामा सभ्य र साहिन ढङ्गले कलात्मक प्रस्तुति दिन धेरै चलचित्रकर्मीहरु असमर्थ भएकै हुन्  ।

यहाँ धेरै वर्ष पहिलेका चलचित्रहरुमा जस्तै रुखको हाँगामा दुईवटा चराहरु राखेर चुच्चो जोडेको वा फुलका थुङ्गाहरु एक अर्का तिर ढल्कदै टासिएको सिम्वोलिक दृष्यहरु नै अहिलेका चलचित्रमा राखिनु पर्छ भन्न खोजिएको होइन । यसो भन्दैमा कथाको माग भनेर पश्चिमा देशहरुमा सामान्य भइसकेको सेक्सलाई हाम्रो चलचित्रमा पनि सहजै देखाउन खोज्नु त्यति उपयुक्त पनि नहोला  । यसअर्थ पौडेलले भने झै समय, समाज र परिवेशलाई ध्यानमा राखेर मात्र चलचित्रमा यस्ता दृष्यहरु समावेश गरौं । रियालिष्टिक बनाउने बहानामा जस्तो घट्नालाई पनि छनौट गर्नुभन्दा त्यसले पार्ने असर र प्रभावबारे सुक्ष्म रुपमा बुझौं । अनि कलात्मक ढंगले त्यस्ता दृष्यलाई प्रस्तुत गरौं । सायद यसो भयो भने अश्लिलताको आरोपबाट मुक्त हुन सकिन्छ होला ।