चलचित्र ‘एक्टरः टेक वन’ को ट्रेलर सार्वजनिक

२०८१ माघ ४
चलचित्र ‘एक्टरः टेक वन’ को ट्रेलर सार्वजनिक

माघ १६ मा प्रदर्शन हुने चलचित्र ‘एक्टरः टेक वन’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

राजन भुसालद्वारा निर्देशित चलचित्रको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रहरूबीचको द्वन्द्वलाई केन्द्रमा राखेको छ । चलचित्रमा मुख्य भूमिका निभाउने प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालालाई ट्रेलरमा विशेष रूपमा फिचर गरिएको छ । ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगाराहरू पार गर्नुपर्छ ।

राजबल्लभ कोइराला ग्रे क्यारेक्टरमा देखिएका छन्, जसले षड्यन्त्र र द्वन्द्व सिर्जना गर्न भूमिका खेल्ने ट्रेलरले देखाउँछ । चलचित्रमा निश्चल बस्नेतको इन्ट्रीलाई ट्रेलरले सस्पेन्सपूर्ण बनाएको छ । चलचित्रमा प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको प्रमुख भूमिका रहेको छ ।

अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘एक्टरः टेक वन’को स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । थमन कुमार भण्डारीले निर्माण गरेको यस चलचित्रमा अनीश भुसाल सह निर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसरको भूमिकामा छन् ।

चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । संगीतमा हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले योगदान दिएका छन् । द्वन्द्व निर्देशन अष्ट महर्जनले गरेका छन् भने कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।

चलचित्रको नृत्य कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । पोस्ट–प्रोडक्सन सुपरभाइजरको रूपमा साहिल खान रहेका छन् ।

Kumari Bank