Mahajatra

अनमोल देखि अनुभव सम्म, बोर्ड अध्यक्ष देखि वल्र्ड रेकर्ड सम्म, गद्दिसम्हाल्दै दोस्रो पुस्ता

२०७५ भाद्र २४
अनमोल देखि अनुभव सम्म, बोर्ड अध्यक्ष देखि वल्र्ड रेकर्ड सम्म, गद्दिसम्हाल्दै दोस्रो पुस्ता

नेपाली चलचित्रमा दोस्रो पुस्ताले आफ्नो पकड यसरी कायम गरेको छ कि उनीहरुको सफलता जो कोहीका लागि लोभ लाग्दो छ । स्टारडमका हिसावले होस् वा सफलताका हिसावले किन नहोस् दोस्रो पुस्ताका चलचित्रकर्मीहरुले आफ्नो बलियो उपस्थिति देखाइसकेका छन् ।
खासगरि अनमोल केसी र अनुभव रेग्मीको स्टारडमले पनि दोस्रो पुस्ताका कलाकारहरुको लोकप्रियता स्पष्टै देखाउँछ । यता विश्वकै कान्छा निर्देशकको रुपमा आफुलाई उभ्याएका सौगात विष्ट हुन वा चलचित्र क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डको अध्यक्षका रुपमा यस क्षेत्रको नेतृत्व गरिरहेकी निकिता पौडेलनै किन नहुन उनीहरु दोस्रो पुस्ताका चलचित्रकर्मी हुन । उनीहरुको सफलताले दोस्रो पुस्ताका चलचित्रकर्मीहरु प्रति गर्व गर्ने प्रशस्त ठाँउ दिएको छ ।

त्यसो त छिमेकी मुलुक बलिउडमा दोस्रो हुँदै तेस्रो पुस्ताको बोलाबाल चल्न थालिसकेको छ । नेपाली चलचित्रको कुरा गर्दा तेस्रो पुस्ताको आगमन त त्यस्तो उल्लेख्य छैन तर दोस्रो पुस्ता भने शशक्त  रुपमा अगाडी आइरहेको छ । नेपाली चलचित्रमा ब्यस्त कलाकार, निर्माता तथा निर्देशकका छोराछोरीहरू चलचित्रमा आउने क्रम पछिल्लो समय बढ्न थालेको छ ।

हुन त कामै नगरेपनि छोरा–छोरीको नाम निर्माताको रुपमा राखि चलचित्रमा उनीहरुको उपस्थिति देखाउने चलन पुरानै हो । धेरैले यस्तै गरेका छन् । यद्यपी हामी यहाँ त्यस्ता चलचित्रकर्मीको नभई वास्तवमै चलचित्र कर्ममा सक्रिय दोस्रो पुस्ताको चर्चा गर्दैछौं ।

निर्माता उद्धव पौडेल, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, सदावहार नायक भुवन केसी, संगीतकार शम्भुजित बाँस्कोटा, अभिनेता टिका पहारी, अभिनेता मदनदास श्रेष्ठ, निर्देशक बद्री अधिकारी, निर्देशक शोभित वस्नेत, निर्माता शेखर कोइराला सम्पादक रवि शाहलगायत हस्तिहरू चलचित्रका सफल अनि ब्यस्त व्यक्ति हुन् । यि हस्तिहरुले चलचित्र क्षेत्रमा आफ्नो प्रभाव मज्जैले जमाएका छन् । यीमध्ये धेरैको उमेरले पाँच दशक काटिसक्यो । तथापी कुनै न कुनै भूमिकामा चलचित्र क्षेत्रमा यिनिहरुको निरन्तरता कायम नै छ भने केहीले उत्तराधिकारीलाई गद्दी सुम्पिएका छन् । अझ केहीले त तेस्रो पुस्तालाई समेत चलचित्रमा प्रवेश गराएका छन् ।

भुवन केसीसुस्मिता केसीका छोरा अनमोल केसी
कुरा अहिलेका चर्चित नायक अनमोल केसी बाट नै शुरु गरौं । अनमोल केसीका बुबा भुवन केसी र आमा सुस्मिता केसी दुबै कलाकार हुन (हाल भुवन केसी र सुस्मिता केसी अलग भइसकेका छन्) । उनीहरुले थुप्रै सफल चलचित्रमा अभिनय गर्नुका साथै केही चलचित्र निर्माण पनि गरेका छन् । अझ भुवनले त चलचित्र निर्देशन समेत गरिसकेका छन् । उनै भुवन–सुस्मिताका छोरा अनमोलले अहिले चलचित्र क्षेत्रमा आफ्नो पकड बलियोसँग जमाएका छन् । उनको फ्यान फ्लोइङ लोभ लाग्दै देखिन थाल्यो । अनमोलको क्रेज छताछुल्ल देखिएको छ
यस्तै भुवन केसीले जेठी श्रीमती तर्फकी छोरी काजल केसीको नामबाट द काजल फिल्मस् स्थापना गरि सोही व्यानरमा चलचित्र निर्माण गर्दै आएका छन् भने केही चलचित्रको कथाकारका रुपमा पनि काजलको नाम रहेको छ ।

गजित विष्टकी छोरी संगम विष्ट र छोरा सौगात विष्ट
अभिनेता गजित विष्टका छोरा छोरी दुबै चलचित्रमा सक्रिय छन् । छोरी संगम विष्ट अनि छोरा सौगात विष्ट । छोरी संगम अभिनयमा सक्रिय छिन । बालकलाकारको रुपमा उनले गरेको अभिनयले चौतर्फी तारिफ समेत बटुल्ने गरेको छ । यता सौगातको सफलताको कुथा अझ सुखद छ । सौगातले ८ वर्षकै उमेरमा चलचित्रको निर्देशन गरे । उनले निर्देशन गरेको चलचित्र लभ यु बाबा हो । १२ डिसेम्बर २०१४ मा यो चलचित्र प्रदर्शन हुँदा ६ जनवरी २००७ मा जन्मेका उनी जम्मा ७ वर्ष ३४० दिनका थिए । जसका कारण गिनिज बुक अफ वल्ड रेकर्डले उनलाई विश्वकै कान्छा चलचित्र निर्देशकको मान्यता दिँदै योङगेस्ट फिल्म डाईरेक्टरको उपाधि दियो ।

अरुण रेग्मीकविता रेग्मीका छोरा अनुभव रेग्मी
सन् २०१३ को चलचित्र रिदम बाट अभिनय थालेका बालकलाकार अनुभव रेग्मीले त्यसपछि फर्केर हेर्नु परेन । निर्माता तथा प्रोडक्सन म्यानेजर अरुण रेग्मी र कलाकार कविता रेग्मीका छोरा हुन अनुभव रेग्मी । अनुभवले रिदम पछि कालीमा अभिनय गरे तर सन् २०१४ को नाइ न भन्नु ल २ बाट उनको चर्चा निकै चुलियो । बाल कलाकार मध्ये अहिलेका सबैभन्दा चर्चित कलाकार अनुभवनै हुन । उनको फ्यानफ्लोइङ लोभ लाग्दो छ ।

उद्धव पौडेलका सन्ताहरु छोरी निकिता पौडेल, छोरा निरज पौडेलनिरक पौडेल
चलचित्र क्षेत्रको सर्बोच्च निकाय हो चलचित्र विकास बोर्ड । जसको अध्यक्ष छिन निकिता पौडेल । निकिता विगत लामो समय देखि संस्थागत रूपमा चलचित्रको विकासमा क्रियाशील गोपिकृष्ण मुभिजका संस्थापक अध्यक्ष उद्धव पौडेल कि छोरी हुन । पौडेल अहिले व्यवसायिक जीवनबाट अवकाश लिई राजनीतिमा सक्रिय छन् । तथापी उनी सक्रिय रुपमा चलचित्रकर्ममा रहदा नै उनले आफ्नो उत्तराधिकारीका रुपमा आफ्ना सन्तानलाई तयार पारिसकेका थिए ।
हुन त उद्धव पौडेल प्रस्तुत चलचित्रमा उनका तिनै जना छोराछोरीको नाम निर्माताको रुपमा रहने गरेको छ । यद्यपी हाल उद्धवका सन्तानहरु सबै चलचित्रकर्ममा सक्रिय छन् । पौडेलले व्यवसायिक जीवनबाट अवकास लिएसँगै आफुले सम्हाल्दै आएको गोपीकृष्ण मुभिज र एनएफडिसीको अध्यक्षको जिम्मेबारी निकितालाई नै सुम्पेका थिए । उनले पनि कुशलतापूर्वक नै उक्त जिम्मेबारी सम्हालिन । त्यसो त उनले चलचित्र क्षेत्रकै विषयवस्तुलाई मात्र समेट्ने गरि रेडियो फिल्मी र टिभी फिल्मी पनि सञ्चालन गर्दै आएकी छिन । सन् २०१७ को डिसेम्बरमा उनी चलचित्र विकास बोर्डको अध्यक्षमा २ वर्षका लागि नियुक्त भइन । बोर्ड अध्यक्ष भएलगत्तै उनले आफ्नो व्यवसायिक जिम्मेबारीबाट राजिनामा दिएकी छिन ।
निकिताले व्यवसायिक जिम्मेबारीबाट राजिनामा दिए लगत्तै उद्धवकै जेठा छोरा निरज पौडेलले अहिले गोपीकृष्ण मुभिजको अध्यक्षको जिम्मेबारी सम्हालिरहेका छन् । यसका साथै चलचित्र वितरण कम्पनी क्यूव डिस्ट्रीब्यूशनको जिम्मेबारी पनि उनैले सम्हालिरहेका छन् । निरजले पनि बाबुको बाटो पछ्याएकाछन् ।
यस्तै उद्धवले आफ्ना कान्छा छोरा निरक पौडेललाई डेढ वर्षकै उमेरमा चलचित्रमा प्रवेश गराएका थिए । निरकले सन् १९८९ मा प्रदर्शन भएको चलचित्र तिलहरीमा बाल कलाकारको रुपमा काम गरि यस क्षेत्रमा प्रवेश गरे । सन् २००९ मा प्रदर्शनमा आउको चलचित्र कुसुमे रुमाल २ बाट निर्देशकका रुपमा उदाए । 
निरकले चलचित्र निर्देशन सँगै बाबु उद्धव पौडेलले सम्हाल्दै आएको एनएफडिसीको प्रवन्ध निर्देशकको जिम्मेवारी पनि सम्हालेका छन् । यस्तै उद्धवलेनै सञ्चालन गरेको गोपीकृष्ण मुभिज (सिनेमा हल र निर्माण कम्पनी)मा पनि उनी क्रियाशिल छन् ।

निरककी छोरी आर्य पौडेल
चलचित्र क्षेत्रमा उद्धव पौडेलको दोस्रो पुस्ता सक्रिय रहदै तेस्रो पुस्ताको पनि प्रवेश भएको छ । उद्धवका कान्छा छोरा निरककी छोरी आर्य पौडेलले चलचित्र रोजमा अभिनय गरेकी छिन । सवा एक वर्षकै उमेरमा आर्य चलचित्र रोजमा देखिएकी हुन ।

निकिता, निरज र निरककी आमा सुमित्रा पौडेल पनि चलचित्र निर्माता हुन । सयपत्रि फिल्मस्को व्यानरमा बनेका चलचित्रमा उनी निर्माता थिइन ।

बद्री अधिकारीकी छोरी केकी अधिकारी
कलाकार केकी अधिकारीको पारिवारिक पृष्ठभुमि पनि चलचित्र नै हो । टेलिचलचित्र र ठुलो पर्दाका चलचित्रमा सफल निर्देशक बद्री अधिकारीकि छोरी हुन केकी । बद्री पछिल्लो समय केही निष्कृय देखिए पनि उनकी छोरी केकी अधिकारी चलचित्रमा ब्यस्त छिन् । थुप्रै म्युजिक भिडियोहरूमा अभिनय गरिसकेपछि उनी अहिले चलचित्रमा रमाइरहेकी छन् । आफ्नो अभिनयका साथै फेसियल एक्सप्रेसनका कारण केकी लोकप्रिय भएको बताइन्छ ।

शोभित बस्नेतका छोरा सलोन बस्नेत र छोरी सलिना बस्नेत
अहिलेका बिकाउ कलाकार सलोन बस्नेत निर्माता, निर्देशक शोभित बस्नेतका छोरा हुन । उनी पनि बालकलाकारका रुपमा नै यस क्षेत्रमा प्रवेश गरेका हुन । सन् १९९९ को चलचित्र नेपाली बाबुमा बालकलाकारको रुपमा सलोन निकै रुचाइए । सलोनले सन् २०१३ को चलचित्र होस्टेलबाट नायकका रुपमा डेव्यु गरे ।
यस्तै शोभितकै छोरी सलिना बस्नेतले पनि सन् २००५ को चलचित्र पापी मान्छेमा बाल कलाकारको रुपमा अभिनय गरि यस क्षेत्रमा पाइला राखिन । उनले मुख्य भुमिकामा काम गरेको चलचित्र टिचर रिलिज हुन बाँकी नै छ ।

टिका पहारीका छोरा गौरब पहारी
बाउको बिडो थाम्ने अर्का कलाकार हुन गौरव पहारी । चर्चित अभिनेता टिका पहारीका छोरा हुन गौरव । सन् २०१३ को चलचित्र मञ्जरीबाट गौरबले डेव्यु गरेका हुन । गौरबले हालै साइली नामक चलचित्रमा लगानी समेत गरेका छन् ।

नारायण पुरीका छोरा संयम पुरी
सफल निर्देशक नारायण पूरीका छोरा संयम पुरीले पनि चलचित्रमा काम गरेका छन् । नारायणकै निर्देशन रहेको सन् २००० को चलचित्र आगो मार्फत संयम बाल कलाकारका रुपमा यस क्षेत्रमा आएका हुन् । केही चलचित्रमा बाल कलाकारका रुपमा देखिएका उनले सन् २०१२ को चलचित्र सायदमा मुख्य भुमिकामा काम गरे ।

शम्भुजित बास्कोटाका छोरा सौर्यजित बास्कोटा
डेढ सय भन्दा बढी चलचित्रका सयौं गीतमा संगीत तथा केही गीतमा स्वर समेत दिइसकेका सफल संगीतकर्मी हुन शम्भुजित बासकोटा । उनका छोरा सौर्यजित बासकोटाले सन् १९९८ को चलचित्र गुरु चेलामा बाल कलाकारका रुपमा काम गर्नुका साथै गीत पनि गाएका छन् । यद्यपी संगतिकारका रुपमा उनले सन् २००९ को चलचित्र कुसुमे रुमाल २ बाट डेव्यु गरे । उनले अहिले चौका दाउ नामक चलचित्र बनाएका छन् ।

उदित नारायण झादिपा नारायण झाका छोरा आदित्य नारायण झा
गायक तथा नायक उदितनारायण झा र गायिका दिपा नारायण झाका छोरा आदित्यनारायण झाले पनि केही चलचित्रका गीत गाएका छन् । सन् १९९४ को चलचित्र मोहनीबाट पाश्र्व गायन थालेका उनले अहिले सम्म झण्डै आधा दर्जन चलचित्रमा गीत गाएका छन् । उनले रणभिर कपुर, दिपिका पादुकोण लगायतको अभिनय रहेको चर्चित चलचित्र रामलिला लगायतका केही बलिउड चलचित्रका गीतमा समेत स्वर दिएका छन् ।

राजेन्द्र खड्गीका छोरीहरु रागिनी खड्गी र रोमी खड्गी अनि रागिनी खड्गीका छोरा आर्यन खड्गी
द्वन्द्व निर्देशक हुँदाहुँदै अभिनय पनि गर्न थालेका राजेन्द्र खड्गीकी छोरी रागिनी पनि नायिकाको रूपमा यस क्षेत्रमा आइन । सन् १९९८ को चलचित्र सगुनमा बाल कलाकारको रुपमा काम गरेकी रागिनीले चलचित्र ‘प्लान’ बाट नायिकाको रुपमा डेब्यु गरेकी हुन् । रागिनी मात्र होइन राजेन्द्र आफैले निर्देशन गरेको चलचित्र नोथिङ्ग इम्पोसिवल मार्फत उनले कान्छि छोरी रोमीलाई पनि नायिकाको रुपमा अगाडी ल्याए । राजेन्द्रले यही चलचित्र मार्फत तेस्रो पुस्तालाई पनि चलचित्रमा भित्राए । उनले छोरी रागिनिका सुपुत्र आर्यन खड्गीलाई लिड रोलमा अभिनय गराए । सम्भवता तेस्रो पुस्ताको प्रवेश यो नै पहिलो हो । यद्यपी रोमी र आर्यनले त्यसपछि अन्य चलचित्रमा काम गरेका छैनन् ।

चेतन सापकोटाका छोरा शिर्षक सापकोटा
संगीतकार चेतन सापकोटाका छोरा शिर्षक सापकोटाले पनि चलचित्रमा काम गरेका छन् । उनी बालकलाकारको रूपमा चलचित्र साथी म तिम्रोमा अभिनय गरी यस क्षेत्रमा आएका हुन् । उक्त चलचित्रबाट शिर्षकको कामको तारिफ भए पनि अध्ययनको कारण देखाई त्यसपछि अन्य चलचित्रमा काम गरेका छैनन् ।

मदनदास श्रेष्ठका छोरा रेमनदास श्रेष्ठ
कुशल अभिनेता मदनदास श्रेष्ठका छोरा रेमनदास श्रेष्ठले पनि केही चलचित्रमा अपभिनय गरेका छन् । सन् २०१२ को चलचित्र भिजा गर्ल मार्फत अभिनयमा आउका उनले झण्डै आधा दर्जन चलचित्रमा काम गरिसकेका छन् ।

शेखर कोइरालाका छोरा संजोग कोइराला
निर्माता शेखर कोइरालाका छोरा संजोग कोइराला पनि चलचित्र क्षेत्रमै सक्रिय हुन थालेका छन् । सन् १९९९ का चलचित्र साथी र परदेशीमा मार्फत बालकलाकारको रुपमा यसक्षेत्रमा प्रवेश गरेका संजोगले सन् २०१४ को चलचित्र उत्सवबाट नायकको रुपमा डेव्यु गरे । उनी यो चलचित्रका निर्माता पनि हुन ।

विश्व बस्नेतकी छोरी निरीशा बस्नेत
कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरीशा बस्नेतले पनि चलचित्रमा अभिनय गरेकी छिन । निरिशाले चलचित्र जानी नजानीबाट डेव्यु गरेकी हुन् ।

शिव रेग्मीकी छोरी भावना रेग्मी
लेखक तथा निर्देशक स्वर्गिय शिव रेग्मीले आफ्नी छोरी भावनालाई नायिका बनाएका थिए । रेग्मीले आफैले निर्देशन गरेको चलचित्र सो सिम्पलमा भावनालाई अभिनय गराए । तर त्यसपछि भावनाले अन्य चलचित्रमा काम गरिनन् ।

विपना बस्नेतकी छोरी रिश्ता बस्नेत
दोस्रो पुस्ताको कुरा गर्दा मेकअप आर्टिष्ट विपना बस्नेतकी छोरी रिश्ता बस्नेत पनि नायिका बनेकी छिन । रिश्ताले सन् २०१३ को चलचित्र होस्टेलबाट डेब्यु गरेकी हुन । त्यसपछि अन्य ६ चलचित्रमा काम गरेकी रिश्ता पछिल्लो समय चलचित्रमा देखिन छोडेकी छिन ।

रबी शाहका छोरा बनिष शाह
चर्चित चरित्र अभिनेता स्वर्गीय रवि शाहका छोरा वनिष शाह पनि चलचित्र क्षेत्रमै क्रियाशील छन् । सफल चलचित्र सम्पादकको परिचय बोकेका वनिष चलचित्र क्षेत्रमा लोकप्रिय छन् । सन् १९९१ को चलचित्र तृष्णा मार्फत सम्पादकका रुपमा प्रवेश गरेका उनले अहिले सम्म झण्डै २ सय चलचित्रको सम्पादन गरिसकेका छन् ।

शम्भु प्रधाननुतन प्रधानकी छोरी इश्वरी प्रधान र छोरा सशांक प्रधान
सम्पादक तथा निर्देशक शम्भु प्रधान र लेखक तथा कलाकार नुतन प्रधानकी छोरी इश्वरी प्रधान सन् १९८९ को चलचित्र बेहुली मार्फत यस क्षेत्रमा प्रवेश गरेकी हुन । बाल कलाकारको रुपमा आएकी इश्वरीले सन् २००० को चलचित्र ‘सोह्र वर्षे जोवन’ बाट नायिकाको रूपमा डेव्यु गरिन । तर उनको उपस्थिति नायिकाको रुपमा अव्वल रहन सकेन । यस्तै शम्भूका छोरा सशांक प्रधान चलचित्र रङ वैजनी मार्फत छायाँकारको रुपमा यस क्षेत्रमा प्रवेश गरे तर त्यसपछि अर्को चलचित्रमा काम गरेका छैनन् ।

द्धारिका उदय का छोरा प्रदिप कुमार उदय
बुटबललाई केन्द्र बनाई चलचित्र प्रदर्शन व्यवसाय गर्दै आएका द्धारिका उदयका छोरा हुन प्रदिप उदय । प्रदिपले पनि बाबुको बाटो पछ्याए । चलचित्र हलको व्यवस्थापन समहाल्नुका साथै उनी सन् १९९० को चलचित्र चेलिभेटी मार्फत निर्माताको रुपमा पनि यस क्षेत्रमा प्रवेश गरे । हाल चलचित्र निर्माण, वितरण र प्रदर्शन गरि तिनै बिधामा सक्रिय रहेका उदय नेपाल चलचित्र संघको अध्यक्ष समेत हुन । स्मरण रहोस् प्रदिपका बुबा द्धारिका उदय पनि चलचित्र संघको अध्यक्ष भइसकेका हुन ।

राधा लम्सालकी छोरी अरुणिमा लम्साल
सन् २००३ को यस्तै रहेछ जीन्दगीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री अरुणिमा लम्साल कलाकार राधा लम्सालकी छोरी हुन । झण्डै चार दर्जन चलचित्रमा काम गरेकी यि अभिनेत्री अहिले भने विदेशीएकी छिन ।

प्रदिप दाहालकी छोरी आश्मा दाहाल
अभिनेत्री आश्मा दाहाल कलाकार तथा लेखक प्रदिप दाहालकी छोरी हुन । सन् २०१५ को चलचित्र आभाष बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी आश्माले त्यसपछि नाइ न भन्नु ल ३ र रामप्यारीमा काम गरेकी छिन ।

बसन्तजंग रायमाझीका छोरा सुनिलजंग रायमाझी
सन् २०१५ को चलचित्र सेतो बाघबाट अभिनयमा डेव्यु गरेका सुनिलजंग रायमाझी बरिष्ठ नृत्य निर्देशक स्वर्गीय बसन्तजंग रायमाझीका छोरा हुन । बाउको बिडो धाम्ने कोसिस गरे पनि उनी दोस्रो चलचित्रमा देखिन सकेका छैनन् ।

शुशीला रायमाझीकी छोरी प्रसिद्धिका रायमाझी
चरित्र अभिनेत्री शुशीला रायमाझीले पनि आफ्नी छोरी प्रसिद्धिका रायमाझीलाई पिजंडा मार्फत हिरोइनमा डेव्यू गराइन् । उनी पनि निरन्तरता रहन सकिनन् । पलायन हुन पुगीन् ।

भक्तराज आचार्यका छोराहरु सत्यराज आचार्यस्वरुपराज आचार्य
भजन शिरोमणी भक्तराज आचार्यका सुपुत्र हुन सत्यराज आचार्य र सवरुपराज आचार्य । सत्यले सन् २००० को चलचित्र सोह्र बर्षे जोवनमा र स्वरुपले पनि सन् २००० कै चलचित्र चलचित्रमा पाश्र्व गायन गर्दै यस क्षेत्रमा प्रवेश गरेका हुन । यि दाजुभाइले सन् २००८ को चलचित्र सानो संसारका लागि एकसाथ संगीत समेत दिएका छन् । यो विचमा सत्यले केही चलचित्रमा अभिनय समेत गरेका छन् भने स्वरुप पाश्र्व गायनमै व्यस्त छन् । सन् २०११ मा भक्तराज आचार्यको जीवनीमा बनेको चलचित्र आचार्यमा सत्यले मुख्य भुमिकामा अभिनय गरेका थिए भने स्वरुप एउटा गीतमा देखिएका छन् । पाश्र्व गायनमा यि दाजुभाईको पकड राम्रै छ ।

गोपालराज मैनालीकी छोरी सज्जा मैनाली
सन् १९९५ को चलचित्र दाजु भाई मार्फत अभिनय यात्रा थालेकी अभिनेत्री सज्जा मैनाली हाँस्य कलाकार गोपालराज मैनाली कि छोरी हुन । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेकी सज्जा अहिले भने विदेशीएकी छिन ।

दिपकराज गिरीकी छोरी मौसमी गिरी
दिपकराज गिरीले पनि आफ्नी छोरी मौसमी गिरीलाई चलचित्रमा अभिनय गराए । सन् २०१७ मा आफैले निर्माण गरेको चलचित्र छक्का पञ्जा २ मा दिपकले छोरी मौसमीलाई अभिनय गराएका हुन । यद्यपी मौसमीले निरन्तर रुपमा चलचिमा अभिनय गर्ने सम्भावना भने ज्यादै न्यून देखिन्छ ।

जयकिशन बस्नेतकी छोरी जाहान्वी बस्नेत
जयकिशन बस्नेतकी छोरी जाहान्वी बस्नेतले पनि चलचित्रमा अभिनय गरेकी छिन । सन् २०१६ को चलचित्र सुव्वा साप र सन् २०१८ को चलचित्र पञ्चायतमा उनले अभिनय गरेकी छन् । साथै जयले निर्माण गर्ने चलचित्रमा उनको नाम निर्माताको रुपमा रहने गर्छ ।

रञ्जित गजमेरकुसुम गजमेर की छोरी भारति घिमिरे
बरिष्ठ संगीतकार रञ्जित गजमेर र गीतकार कुसुम गजमेरकी छोरी भारति घिमिरे पनि चलचित्र कर्ममै व्यस्त छिन् । निर्देशक तुलसी घिमिरेसँग विवाह भएकोले पनि भारतिको चलचित्र यात्रा थप सहज भयो । उनी कलाकार, निर्माता, कथाकार तथा सहायक निर्देशकको रुपमा कार्यरत छिन ।

शुभबहादुर सुनामका छोरा दिनेश सुनाम
संगीतकार शुभबहादुर सुनामका छोरा दिनेश सुनाम पनि संगीत कर्ममै व्यस्त छन् । चलचित्रमा पाश्र्व संगीत, संगीत संयोजन र संगीत निर्देनमा उनी सक्रिय रहि आएका छन् ।

अमुल कार्कीका छोरा एलिस कार्की
चर्चित संगीत संयोजक अमुल कार्कीका छोरा हुन एलिस कार्की । एलिस चलचित्रको पाश्र्व संगीतमा व्यस्त र सफल छन् भने उनले पछिल्लो समय चलचित्रको लागि गीत समेत तयार गर्न थालेका छन् । प्रेमगीत २ र रोजका लागि उनले संगीत दिएका गीत चर्चित पनि छन् ।

मौसमी मल्लका छोरा विक्की मल्ल
अभिनेत्री मौसमी मल्लका छोरा विक्कि मल्लले पनि चलचित्रमा अभिनय गरेका छन् । सन् २०१३ को चलचित्र समयबाट डेव्यु गरेका उनले त्यसपछि नागबेलीमा काम गरे । हुन त उनले साइकल नामक चलचित्रमा पनि अभिनय गरेका थिए तर यो चलचित्र सार्वजनिक प्रदर्शन हुन सकेको छैन ।

टिका भुषण दाहालका छोरा भुषण दाहाल
चलचित्र माइती घरका कलाकार तथा सम्वाद लेखक टिका भुषण दाहालको छोरा हुन भुषण दाहाल । भुषणले सन् २००८ मा चलचित्र कागबेनीको निर्देशन गरेका थिए । त्यसपछि उनको दोस्रो चलचित्र आएको छैन । यद्यपी उनी सञ्चारकर्म र म्युजिक भिडियो निर्देशनमा भने निरन्तर क्रियाशिल छन् ।

प्रकाश थापाका छोरा विजय थापा
बाघ निर्देशक भनेर चिनिएका स्वर्गिय प्रकाश थापाका छोरा विजय थापा पनि चलचित्र निर्देशनमा आए । सन् २००० मा चलचित्र आवारा निर्देशन गरेर यस क्षेत्रमा प्रवेश गरेका विजयको निर्देशन यात्रा बुबा प्रकाश थापाको जस्तो सुखद भने रहन सकेन ।

शंकर आचार्यका छोरा राज आचार्य
कलाकार तथा निर्देशक शंकर आचार्यका छोरा हुन राज आचार्य । सन् २००२ को सन्तानको मायाबाट अभिनय थालेका उनले झण्डै एकदर्जन चलचित्रमा काम गरेका छन् । उनी टेलिश्रृखला तितो सत्यबाट चर्चामा आएका थिए ।

सुनिल कुमार थापाझरना थापाकी छोरी सुहाना थापा
निर्माता सुनिल कुमार थापा र कलाकार झरना थापाले छोरी सुहाना थापालाई पनि अभिनयमै ल्याएका छन् । सन् २००२ को चलचित्र ए मेरो हजुरमा बाल कलाकारका रुपमा काम गरेकी सुहानाले यसकै तेस्रो सिक्वेलमा नायिकाको रुपमा काम गरेकी छिन ।

सुब्रत आचार्यका छोरा साइब्रत आचार्य
केही चलचित्रमा अभिनय समेत गरेपछि निर्देशनमा आएका सुब्रत आचार्यका छोरा हुन साइब्रत आचार्य । साइब्रतले सन् २०१३ को चलचित्र कर्कशमा अभिनय गरेका छन् । यद्यपी २०१६ को चलचित्र छाँयाले उनलाई बालकलाकारको परिचय स्थापित गरिदियो ।

कृष्ण भट्टराईका छोरा कुसाग्र भट्टराई
चलचित्र पत्रकार कृष्ण भट्टराईले पनि छोरा कुसाग्रलाई चलचित्रमा ल्याएका छन् । कुसाग्रले सन् २०१८ मै प्रदर्शन भएका ३ चलचित्र मा काम गरेका छन् । उनको डेव्यु फिल्म पिंजडा व्याक अगेन हो ।

छबीराज ओझाका छोरा साकार ओझा
निर्माता छबीराज ओझाका छोरा हुन साकार ओझा । साकार अहिले चलचित्र निर्देशक बनने बाटोमा रहेका छन् । उनले केही चलचित्रमा सहायक हुँदै केही चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।

सुरज सुब्बा नाल्बोका छोरा युदिन लिम्बु नाल्बो
चलचित्र लेखन तथा निर्देशनमा ख्याति कमाएका सुरज सुब्बा नाल्बोका छोरा युदिन लिम्बु नाल्बो पनि चलचित्र क्षेत्रमै सक्रिय छन् । युदिनले अहिले सहायक निर्देशकको रुपमा काम गरिरहेका छन् ।

मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ
बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ पनि चलचित्र क्षेत्रमै सक्रिय छन् । केही टेलिचलचित्रमा अभिनय गरेका उनले चलचित्र छक्का पञ्जा ३ मा सम्बाद समेत लेखेका छन् ।

हरिबंश आचार्यका छोरा मोहित
बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यका छोरा मोहित आचार्यले पनि चलचित्र खेलेका छन् । मह जोडीको समेत लगानी रहेको चलसिचत्र शत्रु गतेमा उनको अभिनय रहेको छ ।

अशोक शर्माका छोरा अंकित शर्मा
अशोक शर्माका छोरा अंकित शर्मा पनि चलचित्रमै प्रवेश गरेका छन् । उनले अशोककै निर्देशन रहेको चलचित्र जय भोलेको निर्माणमा सहकार्य गरेका हुन ।

देवेन्द्र श्रेष्ठकी छोरी नम्रता श्रेष्ठ
अभिनेत्री नम्रता श्रेष्ठका बुबा देबेन्द्र श्रेष्ठ पनि कला क्षेत्रमा सक्रिय थिए । व्यवसायिक कलाकारिता नगरेपनि उनले केही ड्रामाहरु प्ले गरेका थिए ।

किरण केसीका छोरा सूदन केसी
बरिष्ठ हाँस्य कलाकार किरण केसीका छोरा सूदन केसी पनि चलचित्र निर्देशनमा आएका छन् । उनले किरणकै निर्माण रहने चलचित्र दाल भात तरकारी को निर्देशन गर्ने घोषणा भइसकेको छ ।

श्रीपुरुष ढकालका छोरा स्वरुपपुरुष ढकाल
गीतकार श्रीपुरुष ढकालका छोरा स्वरुप पुरुष ढकाल पनि चलचित्र क्षेत्रमै आएका छन् । स्वरुपले चलचित्र छक्का पन्जा २ मार्फत डेव्यु गरेका हुन । त्यसपछि अर्को चलचित्र तिमी हुन्छौं जहाँ जहाँमा उनले काम गरिसकेका छन् ।

जगन श्रेष्ठका छोरा जयन श्रेष्ठ
निर्माता तथा कलाकार जगन श्रेष्ठका छोरा जयन श्रेष्ठ पनि चलचित्र क्षेत्रमा आएका छन् । चलचित्र किङ्गको निर्माण गरि यस क्षेत्रमा आएका जयनले पछिल्लो समय चलचित्र वितरणमा समेत हात हालेका छन् ।

सन्तोष सेनका छोरा अयुब सेन
निर्माता सन्तोष सेनका छोरा अयुब सेन पनि चलचित्रमा प्रवेश गरेका छन् । चंखे शंखे पंखे नामक चलचित्रबाट निर्माणमा हात हालेका सन्तोषको चौथो चलचित्र मेरी मामु मार्फत उनका छोरा अयुबले पनि अभिनयमा डेव्यु गरेका हुन ।

बिनोद अर्यालका छोरा विभाष अर्याल
सन् २००९ को चलचित्र माया त माया हो मा बाल कलाकारको रुपमा काम गर्ने कलाकार विभाष अर्याल निर्माता विनोद अर्यालका छोरा हुन । लामो समय चलचित्र पत्रकारिता गरेपछि बिनोदले उक्त चलचित्र बनाएका थिए । हाल यि बाबु छोरा चलचित्र क्षेत्रबाट टाढै छन् ।

गणेश सापकोटाका छोरा अमरदिप सापकोटा र बिशाल सापकोटा
प्रोडक्सन म्यानेजर गणेश सापकोटाका दुबै छोरा चलचित्र क्षेत्रमा क्रियाशिल छन् । जेठा छोरा अमरदिप सापकोटाले चलचित्र कारखानाको लेखन तथा निर्देशन गरेका हुन् भने कान्छा छोरा विशाल सापकोटाले चलचित्र अलविदाको पटकथा लेखेका थिए । चलचित्र सफरमा एसोसियट निर्देशकका रुपमा काम गरेका विशालले एकाध चलचित्रमा अभिनय समेत गरेका छन् ।

मित्रलाल शर्माका छोरा नवराज शर्मा
हिजो आज भोली र परिवर्तनका कलाकार मित्रलाल शर्माका छोरा नवराज शर्मा पनि चलचित्र क्षेत्रमै सक्रिय छन् । उनी मुख्य सहायक निर्देशक हुन ।

उत्तम कुरार खड्काका छोरा गौतम राज खड़का
ल्याब टेक्निसियन उत्तम कुमार खड्काका छोरा गौतम राज खड्का पनि यसै क्षेत्रमा सक्रिय छन् । सम्पादक गौतमराजका बुबाले लामो समय एनएफडिसीमा Reel Processing, Reel Check up र Chemical Mixing को काम गरेका थिए ।

यसरी हेर्दा बाउको बिँडो थाम्ने भनेझै दोस्रो पुस्ता चलचित्रमा आफ्नो पकड जमाउन सफल भएको छ । परिवारले समेत यो पेशालाई बुझेको हुनाले काम गर्न सजिलो हुने दोस्रो पुस्ताको तर्क छ । त्यसो त दोस्रो पुस्ता सजिलै क्लिक हुनुले उनीहरूको तर्कलाई थप बल पु¥याएको छ । तर केही भने पहुँचका आधारमा मात्र यस क्षेत्रमा आउने हुँदा उनीहरुलाई दर्शकले स्वीकार गर्न नसकेको पनि देखिन्छ । यसअर्थ दोस्रो पुस्ताले आफुले गर्ने कर्म बारे सिकेर आउँदा उनीहरुको आगमन अझ प्रभावकारी हुन सक्छ ।