टुडिखेलमा तमाशा : यसरी देखाइयो पहिलो पटक चलचित्र
विश्वमा सर्वप्रथम चलचित्रको जन्म सन् १८९५ मा फ्रान्समा हुँदा नेपालमा एकतन्त्री जहानियाँ राणा शासन थियो । जसका कारण सर्वप्रथम चलचित्रको आम प्रदर्शन भएको पैंसठ्ठी वर्ष सम्म नेपालमा चलचित्र निर्माण हुन सकेनन् ।
सन् १९५१ अर्थात बिक्रम सम्बत २००७ मा नेपाली भाषामा पहिलो पटक चलचित्र बन्यो । उक्त चलचित्र पनि नेपालमा नभई भारतको पश्चिम बङ्गालको कलकत्तामा निर्माण गरिएको थियो । नेपालमा त त्यसको पन्ध्र वर्षपछि अर्थात बिक्रम सम्बत २०२२ देखि मात्र चलचित्र निर्माण कार्यको प्रारम्भ भएको हो । बि.सं. २००७ सालमा भारतमा बनेको नेपाली भाषाको पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ हो भने त्यसको पन्ध्र वर्षपछि बि.सं. २०२२ सालमा नेपालमा नै निर्माण भएको पहिलो नेपाली चलचित्र ‘आमा’ हो ।
तथ्यहरुलाई हेर्दा नेपालमा चलचित्र निर्माण कार्य २०२२ सालबाट मात्र सुरु भएपनि विदेशी भाषाका चलचित्रहरूको प्रदर्शनी भने त्यो अगावै भएको पाइन्छ । बिक्रम सम्बत १९५८ साल बैशाख २४ गते सोमबार प्रकाशित ‘गोरखापत्र’ को पहिलो अंकमा ‘टुडिखेलमा तमाशा’ शिर्षक दिई बैशाख २६ गते बुधबार साँझ टुँडिखेलमा चलचित्र हेर्न आउनु भन्ने बिज्ञापन रुपी सूचना छापिएको थियो । तत्कालिन राणा प्रधानमन्त्री देवशमशेरको शासनकाल उनी र उनकी श्रीमतीको सिन्दूर–यात्रा क्रममा उक्त दिन सर्वसाधारणलाई निशुल्क चलचित्र देखाइएको जनाइन्छ । यसअर्थ यही मितिलाई नेपालमा सर्वसाधारणका लागि निशुल्क पहिलो पटक चलचित्र प्रदर्शनी भएको दिनका रुपमा लिने गरिएको छ । यद्यपी, राजारानी, राणा प्रधानमन्त्री र उनीहरूको परिवार, नातेदारहरू, भाइ भारदार एवम् दरबारीयाहरुले त्यसअघि नै चलचित्र हेर्थे भन्ने कुरा नकार्न सकिदैन । ‘गोरखापत्र’मा प्रकाशित बिज्ञापनको व्यहोरा यस्तो थियो ।
टुडिखेलमा तमाशा
‘श्री ३ महाराज बाट बेदाम्मा दुनिया हरूले हेर्न पाउन् भनी टुडिखेल मा प्रोजेक्टास्कोप् अर्थात् मानिस ले चलफिर गर्ये को सब काम तसवीर बाट सोही बमोजीम दुरूस्त देखिन्या तमासा वैशाख गते २६ वुधवार देखि हुनेछ । सो तमाशा हेर्न लाई अगाडि केटा केटि हरू, ताहाँपछि नीज केटा केटी हरू का आमा हरू, वाहाँपछि लोग्ने मानिस हरू वाहाँ पछि वग्गी मा आउने हरू अरू लाई नछेकने गरी रहने छन् ।’
यस्तै त्यसको ३२ वर्ष पछि हल भित्र चलचित्र प्रदर्शन गरिएको अर्को एक तथ्य पनि भेटिन्छ । प्रधानमन्त्री जुद्ध शमशेरको शासनकालमा विक्रम सम्बत् १९९० साल भाद्र १७ गते शुक्रबारका दिन सिंहदरबार स्थित तत्कालीन नाचघरमा अंग्रेजी र हिन्दी समेत गरी जम्मा चारवटा चलचित्रहरू प्रदर्शन गरिएका थिए । ती चलचित्रहरू कुञ्जर शमशेरद्वारा विदेशबाट झिकाई उनकै आयोजकत्वमा सरकारी स्तरमा प्रदर्शन गरिएका थिए । त्यसपछि राजा र राणाका दरबारमा वर्षमा झन्डै पन्ध्र बीस वटा जति विदेशी चलचित्रहरू प्रदर्शित हुने कुरा इतिहासविद् डा. हेमन्त शम्शेर राणाद्वारा प्रस्तुत गरिएको ‘जनरल नरशम्शेर जंगबहादुर राणाको जीवनी’ नामक पुस्तकको पृष्ठ ११० मा उल्लेख गरिएको छ ।
कथानक चलचित्र अघि बनेका थिए छोटा चलचित्र
नेपाली भाषामा पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ बि.स. २००७ साल र नेपालमै निर्माण भएको पहिलो चलचित्र ‘आमा’ २०२२ सालमा निर्माण भएका हुन् । यद्यपी यस अघि नै राणा शासन कालमै छोटा चलचित्रहरु निर्माण भएको तथ्य भेटिएको छ ।
सन् १९३१ मा हल्याण्ड् अर्थात् नेदरल्यान्ड्स्का आर्नोल्ड् ए. बेक् नेपाल भ्रमणमा आएका थिए । नेपाली लोक बाजा संग्रहालयका संस्थापक अध्यक्ष तथा अध्येता रामप्रसाद कँडेलका अनुसार उनले उक्त समयमा नेपालका केही दृश्य सहित विभिन्न नृत्य, पर्व तथा साँस्कृतिक झाँकीहरुको छायाँकन गरी लगेका थिए । उनले छायाँकन गरेका ति नृत्यहरुलाई छोटा चलचित्रका रुपमा काठमाडौं स्थित ‘ब्रिटिश् लाइब्रेरी आर्काइभ’मा राखिएका थिए । हाल ति श्यामश्वेत चलचित्रहरू नेपाली लोकबाजा संग्रहालयमा राखिएको तथ्य नेपाली लोक बाजा संग्रहालयबाट प्रकाशित भएको ‘बाजा’ नामक द्वैमासिक पत्रिकाको वर्ष १३ अङ्क ३ मा प्रकाशित भएको छ ।
जसमा ६ मिनेट लामो ‘मारुनी नृत्य’ र ४ मिनेट लामो ‘इन्द्र जात्रा’ गरी दुईवटा छोटा चलचित्रहरू सन् २०११ नोभेम्बर २५ तारिखदेखि २८ तारिखसम्म काठमाडौंमा सम्पन्न भएको विश्व लोक संगीत सिनेमा उत्सवको पहिलो दिन वि.सं. २०६८ मंसीर ९ गते शुक्रबार प्रदर्शन गरिएको थियो । यसरी हेर्दा नेपालमा कथानक चलचित्र अघि विदेशी नागरिकले साँस्कृतिक महत्व बोकेका विषयमाथी छोटा चलचित्र निर्माण गरेका थिए ।
पहिलो वृत्तचित्र ‘हिमालयन् अवेकनिङ’
वृत्तचित्रको कुरा गर्दा काठमाडौंस्थित अमेरिकी सूचना सेवा केन्द्रले बिक्रम सम्बत् २०१३ सालमा नेपाल सम्बन्धी निर्माण पहिलो वृत्तचित्र ‘हिमालयन् अवेकनिङ’ (Himalayan Awakening) निर्माण गरेको थियो । यस वृत्तचित्रमा २००७ सालको राजनैतिक परिवर्तन पछि नेपालमा बिस्तारै विकास र निर्माण कार्य हुँदै आएको कुरालाई प्रस्तुत गरिएको छ । यो वृत्तचित्र पनि बिदेशी नागरिकै सहभागितामा तयार पारिएको हो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
