पाठ्यक्रम विकास केन्द्रले भन्यो ‘यो मन त मेरो नेपाली हो’ बालबालिकालाई देखाउन उपयुक्त

२०८२ आषाढ १७
पाठ्यक्रम विकास केन्द्रले भन्यो ‘यो मन त मेरो नेपाली हो’ बालबालिकालाई देखाउन उपयुक्त

असार २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘यो मन त मेरो नेपाली हो’ विद्यालयस्तरका बालबालिकालाई देखाउन उपयुक्त रहेको पाठ्यक्रम विकास केन्द्रले बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले चलचित्रका निर्मातालाई पठाएको शुभकामना सन्देशमा चलचित्रले बालबालिकालाई आफ्नो भाषा र संस्कृतिप्रति उच्च सम्मान महसुस गराउने जनाइएको छ ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक विजयराज बढुले पठाएको शुभकामना पत्रमा भनिएको छ, ‘भविष्यका कर्णाधार आजका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्न तथा नेपाली हुनुमा उच्च सम्मान महसुस गराउने भएकाले विशेषतः विद्यालयस्तरका बालबालिकालाई ‘यो मन त मेरो नेपाली हो’लाई सरोकारवाला निकायको अनुमति तथा स्वीकृति लिई देखाउनु उपयुक्त हुने देखिन्छ ।’

चलचित्रमा मित्र प्रधान (नर)को निर्देशन रहेको छ । उनले यही चलचित्रबाट निर्देशनमा डेव्यु गरेका हुन् । यो चलचित्रले नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई दर्शाउने बताइएको छ । चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतको अभिनय छ ।