‘महादशा’मा उत्तम र निरुता, २१ वर्षपछि एकसाथ चलचित्र खेल्दै

२०८२ असोज ३
‘महादशा’मा उत्तम र निरुता, २१ वर्षपछि एकसाथ चलचित्र खेल्दै

अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह चलचित्र ‘महादशा’मा अनुबन्धित भएका छन् । पछिल्लो पटक सन् २००४ मा रिलिज भएको चलचित्र ‘सन्तान’मा उनीहरुले एकसाथ काम गरेका थिए ।

२१ वर्ष पछि उनीहरुले एकसाथ ‘महादशा’मा अभिनय गर्न लागेका हुन् । चलचित्रका निर्देशक किरण नेपालीले शुक्रबार सामाजिक सञ्जालमार्फत् यसको पुष्टि गरेका छन् । किरणले लेखेका छन्, ‘जीवनमा तपाईंहरुकै ‘दर्पण छायाँ’ जस्तो चलचित्र हेरेर प्रेरणा मिल्यो । आज आफ्नै निर्देशनमा हजुरहरूसँग काम गर्ने अवसर जुर्‍यो, खुसी र हर्ष छ नै । चलचित्रलाई राम्रो गर्ने नै छौं ।’

चलचित्रमा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ । लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने चलचित्रमा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको पनि अभिनय रहनेछ ।

मनिष गौतमले लेखेको फिल्ममा राजेन्द्र के  शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन् । सुरज आचार्य कार्यकारी निर्माता रहेका छन् ।