Mansara

संघर्षले बनेका उद्धव पौडेल

२०७७ असोज ९
संघर्षले बनेका उद्धव पौडेल

चलचित्र बितरण, निर्माण तथा प्रदर्शनमा सर्वाेच्च स्थान बनाएका उद्धव पौडेलले केही बर्षअघि ब्याबसायिक जीवन त्यागे । र, पुनः  राजनीतिमा सक्रिय भए । ०३९ सालमा बिराटनगरका उपप्रधानपन्च भएका पौडेल हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कोषाध्यक्ष छन् ।

समाज सेवा गर्नका लागि राजनीतिमा लागेको बताउने पौडेलले आफू शक्तिमा रहेको बेलामा काठमाडौमा फिल्म हल संचालन गर्न, निर्मातालाई सरकारका तर्फबाट सुबिधा दिन तथा नीजी क्षेत्रबाट फिल्म निर्माणका लागि प्रोत्साहीत गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । गोपीकृष्ण मुभीज तथा टिभी फिल्मीका मालिक समेत रहेका पौडेलले फिल्म ब्याबसायप्रतिको आफ्नो लगाव, संघर्ष, सफलता र अबको राजनीतिक यात्राबारे लक्ष्मण सुवेदीसंग कुराकानी गरेका छन् ।

 

अभावै अभावमा बित्यो बाल्यकाल


हाम्रो परिवारको आर्थिक अबस्था निकै कमजोर थियो । ०१२ साल असोजमा बिराटनगरमा जन्मिए । मेरो बुबा भन्सारको सामान्य सिपाही हुनुहुन्थ्यो । काग्रेस नेता आमोद उपाध्ययसंग चिनजान भएकाले बुबाले उहांलाई भन्न लगाएर मलाई निशुल्क स्कुल पढ्ने ब्यबस्था मिलाउनु भएको थियो ।

संगै पढ्ने साथीहरु राम्रा कपडा लगाएर हिड्थे । मिठामिठा खाने कुरा खान्थे । गरिब भएकाले म टुलुटुल हेर्न बाध्य हुन्थे । आर्थिक अबस्था निकै कम्जोर थियो हाम्रो । त्यसैले भित्रभित्रै मन कुडिन्थ्यो मेरो । तर मैले पढाइमा सधै मन लगाउथें । फस्ट त कहिल्यै भइन्, टप थ्रीमा भने सधै पर्थे । बुबाको सामान्य जागीरले हामीलाई पठाउन, परिवार धान्न निकै गाह्रो परेको थियो । त्यतिबेलानै मलाई पैसाको शक्तिको महत्व ज्ञान भएको थियो । तर के गर्नू, पैसै हुदैन्थ्यो हामीसंग । 

 

लेखनदासको काम गरें


पैसा कमाउनु पर्छ, सुखसंग जिवन जिउनुपर्छ भन्ने मनमा त थियो नि । तर, के गर्नू ? उपाय थिएन । धनी साथीहरुको रहनसहन देखेर मन रुन्थ्यो ।

०२८ सालमा मैले एसएलसी दिए । एसएलसी सुरु भएकै दिन राजा महेन्द्रको निधन भयो । त्यसकारण परिक्षा रोकीयो । हाम्रो घर अगाडि भूमि सुधारको अफिस थियो । त्यो अफिसका हाकीम हाम्रो घरमा भाडामा बस्थे । परिक्षा रोकीएको बेलामा मैले भूमि सुधारको अफिस अगाडि लेखनदासको काम सुरु गरे । जग्गा पास, नामसारी गर्न आउनेहरुको तीन पुस्ते खुलेको फारम भरिदिने, एउटा फारम भरिदिए वापत ५० रुपैयाँ कमाइ हुन्थ्यो । एकातिर पैसाप्रतिको मेरो लगाव, अर्काेतिर हाकिमको मप्रतिको सदासयता, परिक्षा पुनः सुचारु हुनुअघिमै आठ–दश दिनमै मैले नौ दश हजार रुपैयाँ कमाए ।

तेह्र दिनपछि एसएलसी पुनः सुरु भयो । पैसा कमाउनतिर लागेकाले मैले पढाइमा त्यत्ति ध्यान दिन पाइन । जसकारण दोश्रो श्रेणीमा एसलएलसी पास गरे । एलएलसीपछि महेन्द्र मोरङ क्याम्पसबाट आइएस्सी पास गरे । त्यतिबेला मैले लेखनदासदेखि लिएर पत्रकार, पत्रिका प्रकाशन, ठेक्दार, होटल ब्याबसाय, यातायात ब्याबसाय र हिन्दी फिल्म बितरकलगायतका बिबिध ब्याबसाय गरे ।  

 

बनारसका दादासँग फाइट पर्यो


म स्कुले जीवन देखिनै अलि हक्की स्वभावको थिए । पैसा नभए पनि, ज्यान सानो भए पनि म हिम्मत चाहिं गर्थे । केटाहरु मदेखि डराउथे । मलाई बक्सिङमा अगाढ लगाव थियो । म बक्सिङको राष्टिय खेलाडी पनि हुँ । त्यतिबेला बक्सिङ संघ बिराटनगरको अध्यक्ष पनि भएको थिए । त्यसकारण खेलाडीहरुसंग पनि मेरो चिनजान राम्रो थियो । दादागिरी गरेर पनि हिड्थे । लामो कपाल पालेको थिए ।

आइएस्सीपछि मैले बनारस गएर बिए पढें । त्यहां पढ्ने क्रममा पनि आर्थिक अभाव भयो । बक्सिङ खेलेको, युवा जोश थियो । पटकपटक मेरो बनारसका दादाहरुसंग झगडा पर्न थाल्यो । त्यसपछि म बिराटनगरनै फर्कीए ।

 

जेरी र छाली खान पाउदा दंग


रक्सी, चुरोट धनी मान्छे मात्र खान्छन् भन्ने मेरो दिमागमा परेको थियो । त्यसकारण मैले खादैन्थे । मलाई छाली लागेको दूध र जेरी निकै मन पथ्र्याे । जेरी र छाली जमेको दुध खान पाएको दिन म आफूलाई संसारकै भाग्यमानी सम्झन्थें । त्यसकारण म सधै जेरी र छालीवाला दूधकै जोहोमा लागीरहेको हुन्थे । कसो कसो पैसा जम्मा गरेर खाइहाल्थे ।

पैसा कमाएपछि पनि मैले कहिल्यै रक्सी, चुरोट खाइन । मलाई कहिल्यै मन परेन । त्यो सर्कल पनि भएन । अहिले पनि जेरी र छालीवाला दूध खान मन लाग्छ, तर बिडम्बना मलाई डाइबिटिज छ । खानै मिल्दैन । 

 

पत्रकारिता गरें


मेरो भूमि सुधार अफिसमा लेखनदासको काम सहायकहरु राखेर जारी थियो । सोही क्रममा मैले ०२८ सालको अन्तिमतिर सूचना बिभागबाट प्रेस प्रतिनिधिको कार्ड निकालेर पत्रकारिता गरे । कबिता, गीतहरु म पहिल्यैदेखि लेख्थे । नेपाल समाचारपत्र र नयाँ किरण साप्ताहिकको बिराटनगर प्रतिनिधि भएर समाचार पनि लेख्न थाले । पीपीरो नामक पत्रिकाको सम्पादन पनि गरे ।

अच्युत खनाल सम्पादक राखेर घटना साप्ताहिक प्रकाशन गरें । पत्रिकामा कारण मेरो समाजाीक सम्बन्ध र चिनजान बढ्यो । राजनीति पनि सुरु गरे । राजनीतिमा पनि मेरो सर्कल बढ्दै गयो ।

 

यसरी लागें फिल्म बितरणमा


घर अगाडि हिमालय टाकीज थियो । म फिल्म निकै हेर्थे । फिल्म हलका संचालक, स्टाफसंग पनि मेरो सुमधुर सम्बन्ध थियो । त्यतिबेला तराइ क्षेत्रमा अनाधिकृत रुपमा फिल्म ल्याएर चलाउने गरिन्थ्यो । कुनै निश्चीत प्रणालीमा फिल्म बितरण हुदैन्थ्यो ।

मैले बिहारको कोटियारबाट हिन्दी फिल्म ल्याएर बिराटनगरलगायतका स्थान हलमा बितरण गर्न थालें । थोरै पैसामा ल्याएका फिल्मबाट धेरै मुनाफा कमाएकाले मलाई फिल्म बितरणमा रस पस्यो । कमीसन एजेन्ट भएर पनि काम गरे । काठमाडौका हललाई हिन्दी फिल्म दिन थालें । त्यतिबेला काठमाडौमा फिल्म चलाउनु भनेको चिठ्ठा पर्नु जस्तै थियो । एउटै फिल्म दुई तीन महिनासम्म चलीरहन्थयो । मैले कलकत्ता गएर फिल्म ल्याउन थालें । ०२९ सालमा त म सोलो डिस्टीब्युटर भइसकेको थिए ।

काठमाडौमा अशोक सिनेमाका सुन्नदा जोशीहरुले फिल्म ल्याउनु हून्थ्यो । तराइमा खुल्ला सिमाना, त्यसै ल्याउने चलाउने हुन्थ्यो । हिन्दी फिल्म निर्माताले पनि नेपालमा अफिसिएल्ली बितरण खोजीरहेका थिए । मैले नेपालमा अफिसिएल्ली ब्यापार गरें । कलकत्तामा इन्स्र्टन इन्डिया मोशन पिक्चर्स एसोसिएसन थियो म  सदस्य भएं । मैले नेपालमा हिन्दी फिल्मको धेरै ब्यापार गरेकाले उनीहरुले मलाई कार्यकारी समितिमा पनि राखे । पछि मुम्बइबाट फिल्म ल्याउन थाले । सिनेमाको कामसंगै म त्यतिबेला ‘बि’ क्लासको कन्ट्रयाक्टर पनि भइसकेको थिएं । ‘ए’ क्लासको बन्न लागि म क्वालिफाइड भइसकेको थिएं । मैले सिनेमासंगै बिराटनगरमा होटेल इन्टरनेशनल स्थापना गरेर होटेल ब्याबसाय गरें । शिब यातायात चलाए । चार पाच बटा बस थिए । तर यी सबै ब्यापारका अगाडि सिनेमा लोकप्रिय भयो । मलाई सिनेमामै रस पस्यो ।

 

सबै छोडेर फिल्ममा


लेखनदास, पत्रकारिता, बस ब्याबसाय, होटल ब्याबसाय, ठेक्दारी, सबै ब्याबसायमा मैले पैसा कमाइरहेको थिएं । तर, ती मध्ये मलाई फिल्मनै उत्तम लाग्यो । मैले जति फिल्म ल्याएं, बितरण गरें, सबैमा नाफा कमाए । एक डेढ लाखमा ल्याएको फिल्मले काठमाडौबाट मात्रै नौ दश लाख रुपैया कमाउन थालेपछि मलाई अरु सबै ब्याबसाय फिक्का लाग्न थाल्यो । त्यसकाण मैले होटल ब्याबसाय छोडे । कन्ट्रयाक्टरको लाइसेन्स बेचे । बस ब्याबसाय पनि छोडे । फिल्म ब्याबसायमा मात्र एकत्रित भएं । छोटो समयमै म ठूलो बितरक हुन पुगें । 

 

यसरी बन्यो ‘कुसुमे रुमाल’


फिल्म बितरकका रुपमा मेरो बिकल्प थिएन त्यतिबेला । नीर शाहको बिनोद चौधरीले बनाउनु भएको बासुदेव फिल्मको बितरणको जिम्मा मैले लिएको थिएं । त्यतिबेलादेखिनै मेरो नीर दाइसंग राम्रो सम्बन्ध थियो । कुसुमेरुमाल फिल्मको सुटिङका लागि दार्जिलिङ जाने क्रममा उहांसंग मेरो भेट भयो । त्यतिबेला (०३९ साल) म बिराटनगर नगरपन्चायको उप प्रधानपन्च थिएं । मेरो गाडीमा उहांलाई काकडभित्तासम्म पुर्याउनु पर्थे थियो । उहांले त्यतिबेला मलाई कुसुमे रुमाल फिल्म खेलिरहेको र आर्थिक अभाव भएको बताउनु भएको थियो । बासुदेव फिल्मका एडिटर र कुसुमे रुमालका निर्र्दैशक एकैजना थिए – तुलसी घिमीरे ।

बासुदेवको सम्पादन कार्य मुम्बइमा भइरहेको थियो । कुसुमे रुमालको खिचीएका जति सिनको पनि त्यही एडिटङ भइरहेको रहेछ । आर्थिक अभावले फिल्मको सुटिङ पूरा हुन सकेको रहेन्छ । मलाई फिल्म लिइदिनु पर्यो भन्ने कुरा आयो । यता नीर दाइले श्रवण घिमीरेलाई मसंग कुरा गर्नु भन्नु भएको रहेछ । अर्काेतिर मुम्बइमै रहेको मेरो साथी अभिनेता बिश्व बस्नेतले पनि बिराटनगरका प्रधानपन्च राम भट्टराईलाई कुसुमे रुमाल पूरा गर्ने कुरा गरेको रहेछ । प्रधानपन्चले फिल्मबारे उद्धवजीलाई भन्नु भन्नु भएछ । दुईतिरबाट कुरा आएपछि मैले कुसुमे रुमाल लिए ।

सयपत्री फिल्मको ब्यानरमा मैले कुसुमे रुमालको सुटिङ नेपालमै ल्याएर पूरा गरे । ०४२ सालमा कुसुमे रुमाल रिलिज भयो । फिल्म पहिलो राउन्डमै लगातार सात महिनासम्म हाउसफूलका साथ चल्यो । प्रदर्शनको रजतजयन्ती मनाएको पहिलो फिल्म बन्यो कसुसमे रुमाल । 


‘कुसुमे रुमाल’ बाट करोडपति 


साधारण परिबेशमा हिडेको मलाई कसुमे रुमालले एकएक करोडपति बनायो । पहिलो राउन्ड चल्दा एक करोड बाह्र लाखको ब्यापार गरेको थियो । त्यसपछि दश बाह्र राउन्ड चलीनै रह्यो । कतिपय हलमा हाउसफूल हुदाहुदै निकाल्नु परेको थियो ।

मैले कसुमेमाल  तुलसी घिमीरेलाई २ लाख पचास हजार भारु दिएर किनेको थिएं । आफ्नै होटेल आफ्नै गाडी भएकाले सुटिङमा डेढ लाख जति खर्च भयो । त्यसपछि अलिअलि प्रचार सामाग्रीमा खर्च भयो । फिल्मको बाह्र पन्ध्र वटा प्रिन्ट निकालेको थिएं । प्रतिप्रिन्ट पचास हजार जति परेको थियो । यस हिसावले कसुमे रुमालको कुल बजेट दश लाख रुपैया थियो । अकल्पनीय ब्यापार गरेकाले मैले सोचें, मेरा लागि फिल्मनै सबथोक हो । त्यसपछि म फिल्म बितरण र निर्माणमै केन्द्रित भएं ।  


घिमीरेले मुद्धा हाले


कसुमे रुमालका निर्माता घिमीरे दाजुभाइले भारतका लागि बनाएका थिए । अडकीएको फिल्म पैसा हालेर मैले पूरा गरे । रिलिज गरें । बकाइदा निर्माता म भएं । फिल्मले अधिक पैसा कमाएपछि उहांहरुलाई लोभ लागेछ क्यारे, हामीले पनि पैसा पाउनु पर्यो भन्दै मलाई मुद्धा हाले ।

त्यतिबेला मनोरन्जक करको पचास प्रतिशत रकम सरकारले निर्मातालाई फित्ता दिने नीति थियो । त्यो रकममा उहांहरुको आखा लाग्यो । जबकी हाम्रो सहमति कुसुमे रुमालको नेपालको सबै नाफा नोक्सानको हक मेरो थियो । उहांहरुमा भारतको अधिकार थियो । तर पनि उहांहरुले हामी पनि निर्माता हो भन्दै अनाबश्यक रुपमा मलाई मुद्धा हान्नु भयो । सबै ठाउमा हारे पनि उहांहरुले मुद्धा फित्ता लिनु भएन ।

तर मैले घिमीरे सरलाई कहिल्यै रोष पोखिन् । किनभने, उहांकै कारण मैले फिल्म निर्माण अघि बढ्यो, सफलता हासिल गरें ।  पछि, ०५८ सालतिर हो क्यारे, मैले उहांहरुको फिल्म दर्पण छायाको मेरा हलको शेयर रोकीदिए । त्यसपछि चलचित्र निर्माता संघले सहजीकरण गरेर सो मुद्धा मिल्यो । अहिले उहांहरुसंग मेरो सम्बन्ध सुमधुर छ ।

 

यसरी मिल्यो फिल्मलाई सुबिधा


त्यतिबेला काठमाडौमा सिनेमा हल खोल्न सक्ने चान्सै थिएन  । संचार ऐनमा एउटा हलदेखि अर्काे हलसम्मको ‘एरिएल डिस्टान्ट’ दश किलोमिटर राख्नुपर्ने प्राबधान थियो । त्यसो हुदा काठमाडौभित्र हल खोल्न कुरै भएन । 
०४३ सालमा कमल थापा संचारमन्त्री भएको बेलामा मैले संचार ऐन परिमार्जन गर्न अनेक गरे । कमल दाइसंग राजनीति, खेलकुदका हिसावले पनि निकट सम्बन्ध भएकाले उहाले निकै सहयोग गर्नुभयो । नेपाली फिल्मप्रतिको उहांको सदासयताका कारण संचार ऐनमा सिनेमा हल, सिनेमा निर्माणसम्बन्धी सहज ब्यबस्था गरियो । अनेक तिकडम लगाए कानून सन्सोधन गरी जति पनि हल खोल्न पाउने, सिनेमा हलले आफ्नो टिकट दर आफै तोक्न पाउने, क्लास बर्गीकरण आफै गर्न पाउने, भिडियो हल खोल्न पाउने, निर्मातालाई मनोरन्जन कर फित्ता गराउने लगायतका बिबिध सुबिधाको प्राबधान मिलाइयो । त्यसपछि नै हो नीजि क्षेत्रबाट फिल्म बन्ने क्रमले तीब्रता लिएको  । 

 

बाध्यताले बनें निर्देशक


फिल्म निर्माण, बितरण गर्ने भए पनि अभिनय र निर्देशनमा मलाई कहिल्यै रुचि भएन । तर मैले एउटा फिल्म भने निर्देशन गरे । त्यो पनि बाध्यता परेर । फिल्म हो, गोपीकृष्ण । गोपीकृष्ण निर्देशनको जिम्मा भारतीय निर्देशक शतिसकुमारलाई दिएको थिए । तर उनी सुटिङका क्रममा बिरामी परे । त्यसपछि उपाय भएन । म आफैले गोपीकृष्ण निर्देशन गरे । मोहन निरौला मुख्य सहायक निर्देशन थिएं । फिल्म सुपरहिट भयो । गोपीकृष्ण सुपरहिट भएकाले मैले हलको नाम पनि गोपीकृष्ण नै राखे । पछि थप्दै जादा ओम, नम, शिबाय, राधा र मिरा भएका हुन् ।  

 

फिल्मबाट कहिल्यै घाटा भएन


मलाई फिल्म बितरण, निर्माण तथा प्रदर्शनमा कहिल्यै घाटा भएको छैन । कुनै फिल्मले करोड कमाए होला त कुनैले हजार । तर मलाई घाटा चाहि भएको छैैन ।

मेरो कम्पनीबाट बनेको मध्ये सबैभन्दा कमजोर ब्यापार गरेको फिल्म ठमेल डटकम हो । तर, त्यसले पनि लगानी उठायो भन्छन् मेरा छोराछोरी । सबै काम छोराछोरीले गर्छन । अचेल मलाई फिल्मबारे केही थाह हुदैन । म सधै नेपाली फिल्मको उन्नतीको पक्षमा छु । त्यसकारण नेपालको पहिलो फिल्मी टिभी टिभी फिल्मी खोलेको हुं । मेरो पूरै परिवार फिल्मकर्ममै आश्रित छ । 

 

यसकारण राप्रपामा


राप्रपाको एजेन्डा राष्ट्र, राष्ट्रियता र जनताप्रेमी छन् । पार्टीको बिचार,अबधारणा र लक्ष्य एकदमै दुरगामी छन् । आम नेपालीको चाहना अनुरुप हिन्दू राष्ट्र, राजतन्त्रको संबैधानीक ब्यबस्थापनलगायतका हाम्रो पाटीका एजेन्डाहरु निकै ब्यबहारिक र अपरिहार्य छन् । यसका साथै कमल थापा दाइको राष्ट्रप्रेम, सहयोगी भावना तथा जुझारुपनादेखि नतमस्तक छु । त्यसैले जीवन रहुन्जेल म यही पार्टीमा रहेर समाज सेवा गरिरहनेछु ।

 

समाजसेवा गर्न राजनीति 
म यौनवकालदेखिनै राजनीतिमा छु । अहिले ब्याबसायी जिवन छोडेर राप्रपामार्फत राजनीतिमा छु । मलाई कुनै कुराको मोह छैन । पहिला पैसा कमाउने मोह राखें । पुग्दो कमाएं । आफ्ना सपना सबै पूरा गरेको छु । अब म पूर्णरुपमाले देश र जनताको सेवा गर्न चाहन्छु । त्यसैले राजनीतिमा छु ।

म आम नेपालीमाझ पुग्न चाहन्छु । त्यसैले कहिलेकाही मास्क लगाएर सफा टेम्पु, नगर बसमा यात्रा गर्छु । म जनताको चाहना बुझन चाहन्छु । आम नेपालीको इच्छा, सुखदुख बुझ्न चाहन्छु । त्यसैले यसरी पनि जनमासमा गइरहेको छु ।

 


दुई दशक देखि चलचित्र पत्रकारितामा सक्रिय लक्ष्मण सुबेदी चलचित्र लेखक तथा निर्देशक पनि हुन् ।


 

Uddhab Poudel's Filmography


Movie Credit Release Date
Rose Presenter Sep 07, 2018
Homework Presenter May 20, 2016
Thamel Dot Com Presenter Oct 22, 2015
Mayako Barima Presenter Feb 17, 2012
Pal Producer Aug 26, 2011
Preeti Ko Phool Presenter Apr 08, 2011
Khushi Presenter Nov 19, 2010
Sundar Mero Naam Presenter Oct 26, 2010
Farkera Herda (The Flash Back) Presenter Oct 22, 2010
Kusume Rumal 2 Presenter Jan 04, 2009
Jiwan Mrityu Presenter Nov 07, 2008
Parkhi Base Presenter Jan 08, 2008
Ukali Orali Producer Jan 01, 2004
Shahidgate Presenter, Story Mar 23, 2002
Mato Bolchha Presenter, Story Sep 06, 1999
Aama Presenter, Story May 28, 1996
Jaya Baba Pashupatinath Presenter, Story Sep 18, 1995
Arpan Presenter, Story May 31, 1993
Gopi Krishna Director, Presenter, Story Oct 28, 1992
Pariwar Presenter, Story Oct 09, 1991
Tilahari Presenter, Lyricist Nov 27, 1989
Mayalu Presenter Nov 20, 1988
Kusume Rumal Presenter Oct 15, 1985
Mahajatra