Mansara

‘समर लभ’का दुई योजना - ‘मायाको सेल्फी उत्सव’ र थाइल्याण्ड घुम्ने अफर

२०७५ माघ १

चलचित्र ‘समर लभ’ले प्रचारका लागि २ वटा योजना अघि सारेको छ । चलचित्रले अघि सारेको दुबै योजनामा दर्शकहरु संलग्न हुन सक्नेछन् । पहिलो योजना थाइल्याण्ड टुरको छ भने दोस्रो योजनामा विभिन्न उपहारहरु प्रदान गरिने जनाइएको छ ।

पहिलो योजना अनुरुप निर्माण टिमले एक जोडीलाई थाइल्याण्ड घुमाउने भएको छ । ‘समर लभ’ हेर्न हलभित्र प्रवेश गर्नका लागि काटिने टिकटको नम्बरमार्फत् एक जोडीलाई लक्की ड्रबाट विजेता घोषणा गरेर थाइल्याण्ड टुरमा लगिने निर्देशक मुस्कान ढकालले बताएका छन् । उनका अनुसार, विजेता घोषित हुनेले सिनेमाको गीत, पोस्टर र ट्रेलर फेसबुकमा अनिवार्य रुपमा सेयर गरेको हुनुपर्ने छ भने चलचित्र हेरेको टिकट साथमा हुनुपर्नेछ ।

यस्तै दोस्रो योजनालाई ‘मायाको सेल्फी उत्सव’ टाइटल दिइएको छ । यो योजना अनुरुप आफ्नो प्रेमी वा प्रेमिकासँग खिचेको सेल्फी चलचित्रको फेसबुक पेजमा पठाएर विभिन्न उपहारहरु जित्न सकिने छ । भ्यालेनटाइन डेको अवसर पारि माघ २५ बाट प्रदर्शन हुने चलचित्र सुबिन भट्टराईको उपन्यास समर लभ माथी बनेको हो । लभ रोमान्स र विछोडको कथा भन्ने चलचित्रमा सामीप्यराज तिमल्सेनाले पटकथा, सुबिन र सामिप्यको सम्बाद, पुष्पन प्रधानको संगीत, सञ्जय लामाले छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले मिलेर निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् भने सपन सरकार र मनोज बिक सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रमा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया, रेवती क्षेत्रीलगायतका कलाकारको अभिनय रहेको छ । आशिष र रेवतीले यसै चलचित्रबाट डेब्यु गर्दैछन् ।

Mahajatra