‘शिवांश’ कात्तिक २७ गते रिलिज हुने

२०८२ भाद्र १४
‘शिवांश’ कात्तिक २७ गते रिलिज हुने

चलचित्र ‘शिवांशः च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो ।

जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ । यसको अर्थ र चलचित्रसँग के सम्बन्ध छ, यसबारे भने निर्माणपक्षले केही जानकारी दिएको छैन ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रलाई सन्तोष कुमार आत्रेयले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशकीय चलचित्र हो । अञ्जान केसी निर्माता रहेको चलचित्रको छायाँकन पोखरा आसपासका क्षेत्रमा गरिएको हो ।

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका रहेको चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रको कथा निर्माता केसी स्वयंले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बूको छ । चलचित्रमा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् ।सम्भू थापा चलचित्रका कार्यकारी निर्माता हुन् ।

सरद महतो डीओपी रहेको चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना छ । यस्तै न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत छ भने राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।