रिश्मा भन्छिन् – गुरुङ जातिमा छोरीको महत्व कति धेरै छ, त्यो ‘रिमै’मा देख्न सकिन्छ

२०८२ भाद्र १७
रिश्मा भन्छिन् – गुरुङ जातिमा छोरीको महत्व कति धेरै छ, त्यो ‘रिमै’मा देख्न सकिन्छ

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो ‘रिमै’ । अभिनेत्री रिश्मा गुरुङ चलचित्रले गुरुङ समुदायको संस्कार र संस्कृतिको कथा भन्ने बताउँछिन ।

त्यसो त चलचित्रको नाम गुरुङ भाषाकै शब्द ‘रिमै’बाट राखिएको हो । नेपालीमा ‘रिमै’को अर्थ ‘छोरी–चेली’ भन्ने हुन्छ । यसलाई अलि ठाडो भाषामा भन्दा कतिपय अवस्थामा ‘तरुनी’ भन्ने अर्थ पनि लगाइन्छ ।

चलचित्रले उठान गरेको कथाको केन्द्रमा छोरी–चेली नै भएकोले यसको नाम ‘रिमै’ सान्दर्भिक रहेको उनको भनाई छ । उनी गुरुङ जातिका संस्कार र संस्कृतिमा छोराको भन्दा छोरीको महत्व बढी हुने बताउँछिन ।

अभिनेत्री गुरुङ आफ्नो समुदायमा छोरी सबैभन्दा केन्द्रमा हुने बताउँछिन् । ‘अरु समुदायमा बाबु वा आमाको मृत्यु हुँदा अन्तिम संस्कार गर्न छोरा चाहिन्छ, छोरी नभए पनि हुन्छ’, रिश्मा भन्छिन्, ‘तर, हाम्रो गुरुङ जातिमा शव उठाउन छोरा नभए पनि हुन्छ तर छोरी अनिवार्य चाहिन्छ । छोरी नभएसम्म घरबाट लास उठाउँनै मिल्दैन ।’ उनी गुरुङ जातिमा छोरीको महत्व कति धेरै छ, त्यो ‘रिमै’मा देख्न सकिने उनले बताइन् ।

गुरुङ समुदायको कथामा बनेको बलियो चलचित्र भएकैले आफूले यसमा काम गरेको रिश्माले बताइन् । रिश्मा गुरुङ भाषाकै चलचित्रबाट मेनस्ट्रिममा आएकी कलाकार हुन् ।

त्यसो त अभिनेता दयाहाङ राईले पनि चलचित्र ‘रिमै’ गुरुङ समुदायको अध्ययन गर्न चाहने व्यक्तिका लागि बलियो दस्तावेज हुने बताएका छन् । उनका अनुसार गोरखाको माथिल्लो बेल्टमा बस्ने गुरुङ समुदायको दस्तावेजका रुपमा यो चलचित्र रहनेछ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिस्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

खिल बहादुर गुरुङको निर्देशन रहेको चलचित्रमा कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा, शैलेन्द्र ध्वज कार्कीको छायाँकन र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

वीरवल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।