प्रदर्शनमा आयो ‘रिमै’, सय भन्दा बढी शो

२०८२ भाद्र २०
प्रदर्शनमा आयो ‘रिमै’, सय भन्दा बढी शो

चलचित्र ‘रिमै’ प्रदर्शनमा आएको छ । गुरुङ समुदायको संस्कार, संस्कृति र परम्परामा आधारित ‘रिमै’मा ‘कबड्डी’ श्रृखलाबाट चर्चामा आएको जोडी दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको छ । खिलबहादुर गुरुङको निर्देशन रहेको चलचित्रमा अर्पण थापा, गौमाया गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले मगर, वीरमाया गुरुङ लगायतको पनि अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रले देशव्यापी एक सय बढी शो पाएको छ । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायांकन, मित्र डि गुरुङको सम्पादन र दिपक शर्मा र थानेश्वर गौतमको संगीत रहेको छ ।

वीरवल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।

बुधबार चलचित्रको प्रिमियर गरिएको थियो । प्रिमियरमा चलचित्र हेरेका चलचित्रकर्मीहरुले मुक्त कण्ठले प्रसंसा गरेका थिए । गुरुङ समुदायको संस्कार, संस्कृति र परम्परामा आधारित अहिले सम्मकै उत्कृष्ट चलचित्र बनेको धेरैको प्रतिक्रिया थियो । भावनात्मक रुपमा चलचित्र निकै बलियो बनेको चलचित्रकर्मीको भनाई छ ।

यस्तै आजबाट प्रर्दशनमा आउने तयारीमा रहेको अर्को चलचित्र  ‘चिट्ठी’ पनि प्रदर्शन भने स्थगीत गरिएको छ । देशभरका हलले उचित शो नदिएको भन्दै बिहीबार साँझ निर्माताले रिलिज स्थगित गरेका हुन् ।