चलचित्र ‘रिमै’को प्रिमियर, सेलिब्रेटीले गरे खुलेरै तारिफ

२०८२ भाद्र १९
चलचित्र ‘रिमै’को प्रिमियर, सेलिब्रेटीले गरे खुलेरै तारिफ

शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘रिमै’को प्रिमियर सम्पन्न भएको छ । बुधबार न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा भब्य रुपमा आयोजना गरिएको प्रिमियरमा ‘रिमै’ हेर्न चलचित्रकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति थियो ।

चलचित्रको प्रिमियर शो सुरु हुनु अघि गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरुप सोरठी नाच समेत प्रस्तुत गरियो । चलचित्रका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ गुरुङ समुदायको भेषभुषामा देखिए । प्रिमियरमा उपस्थित सेलिब्रेटीहरूले चलचित्रको कथावस्तु र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरे । चलचित्रको प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायतका सेलिब्रेटीहरु पुगेका थिए ।

चलचित्र हेरिसकेपछि अभिनेता बाट निर्देशक बनेका विल्सन विक्रम राईले ‘रिमै’ मन छुने चलचित्र बनेको बताए । ‘रिमै’ हालसम्म गुरुङ समुदायमाथि बनेको उत्कृष्ट चलचित्र भएको आफ्नो बुझाई रहेको उनको भनाई थियो । यता, अभिनेता तथा निर्देशक माओत्से गुरुङले पनि चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिए । उनले भने –  ‘‘निर्देशकले हाम्रो समुदायमाथि एउटा निकै राम्रो चलचित्र निर्माण गर्नु भएको छ । सवैले साथ दिनु जरुरी छ । त्यसैले सवै समुदायका दर्शकलाई ‘रिमै’ हेर्न अनुरोध छ ।’’

चलचित्रकी मुख्य अभिनेत्री रिश्मा गुरुङले पनि आफ्नो करिब ८ वर्षपछिको कमव्याकलाई लिएर उत्साहित रहेकाले चलचित्र हेरिरहँदा रोचक लागेका अनुभव सेयर गरिन् । ‘म लामो समयदेखि अमेरिकामा बस्दै आएकी छु । म जुन शहरमा बस्छु, त्यहाँ नेपाली समुदायको बसोबास निकै कम छ । त्यसैले अमेरिकामा रहँदा यो सवै मिस गरिरहेकी थिए । आज रिमै हेरिरहँदा त्यो सवै भुलेर नयाँ अनुभव बटुले । चलचित्र निकै राम्रो बनेको छ । लामो समयपछि काजी र मैंयाको जोडी पुन पर्दामा आएकाले दर्शकलाई आकर्षित गर्ने विश्वास छ,’ उनले भनिन् ।

चलचित्रका निर्देशक खिलबहादुर गुरुङ आफुले विगत ३ वर्ष यता रातदिन रिमै बाहेक अरु केही नसुनी काम गर्दाको परिणाम आज पाउँदा खुशी लागेको बताए । ‘हामीले इमान्दारीताका साथ चलचित्र निर्माण गरेका छौं । दर्शकले मन पराई दिनु हुन्छ भन्ने विश्वास छ । आज प्रिमियर शोबाट मिलेको प्रतिक्रियाले चलचित्रको व्यापारमा अझै प्लस गर्ने विश्वास छ,’ निर्देशक गुरुङले भने ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।

चलचित्रमा दीपक शर्मा र थानेश्वर गौतमको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ ।