आफ्नै पेशालाई प्रेरणा दिन ‘नम्बरी सुन’ बनाएको निर्माता खातीको भनाई
कलाकार तथा निर्माता नारायण खाती पेशाले सुन व्यवसायी हुन् । चलचित्र ‘कोहिनूर’मा सानो भूमिकामा अभिनय गरेर नेपाली चलचित्र क्षेत्रमा पाइला चालेका नारायण यही साउन २५ गतेबाट रिलिज हुने ‘नम्बरी सुन’बाट निर्माताका रुपमा ‘डेब्यू’ गर्दैछन् । चलचित्रमा उनले नायक गौरव पहाडीको बुवाको भूमिकामा अभिनय गरेका छन् ।
नारायण आफ्नो नै सुन व्यवसाय रहेकाले त्यही पेशालाई प्रेरणा दिन र इतिहासलाई चिनाउन ‘नम्बरी सुन’ निर्माण गरेको बताउँछन् । ‘चलचित्रको कन्सेप्ट मेरै हो । यो वास्तविक कथा हो । यसमा सुनको इतिहास छ । परापूर्व कालमा सुनको काम कसरी अगाडि बढ्यो, कालीगढी काम कसरी बढ्यो भन्ने कुरालाई चलचित्रमा देखाएका छौं’, उनी भन्छन्, ‘सुन जन्मदेखि अन्त्यसम्ममा लगाउनुपर्छ । त्यसको आफ्नै इतिहास छ । त्यो इतिहास दर्शकले यो चलचित्रमा हेर्न पाउनुहुन्छ ।’ निर्माता खातीले चलचित्रमा काजीकी छोरी र कालीगढको छोराको प्रेमलाई पनि हेर्न पाउने खुलाए । ‘चलचित्रमा वनावटी केही छैन । सबै वास्तविक कथा हो’, नारायण भन्छन् ।
सानैदेखि कलाकारितामा रुची राख्ने नारायणको आफ्नै युट्युब च्यानल छ । त्यही च्यानलमा उनले निर्माण गरेका सिरिज छन् । निर्देशक राजु गिरीसँग सिरिजकै काम गरिरहँदा नारायणको भेट भएको रहेछ । ‘मेरो सिरिजमा उहाँले निर्देशन गर्नुहुन्थ्यो । उहाँलाई चलचित्र बनाउने चासो देखाएपछि ‘म गरिदिन्छु’ भन्नुभयो । सँगै काम गरिरहेको मान्छेसँग काम गर्न सजिलो हुन्छ भनेर राजुजीसँग सहकार्य गरें’, नारायणले भने । एउटै चलचित्रमा आफैं निर्माता र कलाकार रहँदा निकै चुनौती अनुभव भएको नारायणले सुनाए । ‘निर्माताका रुपमा मेरो पहिलो चलचित्र हो । निर्माता र कलाकार दुवै अनुभव बटुलें । तनाव धेरै हुँदो रहेछ ।चलचित्रमा ठूलै पैसा लगानी भएको छ’, नारायण भन्छन्, ‘काममा कोही पनि कलाकारले कम्प्रोमाइज गर्नुभएन ।’ नारायण अझैं चलचित्र बनाउन चाहन्छन् । त्यो चाहना भने ‘नम्बरी सुन’ले पुरा गर्नुपर्ने उनको बुझाई छ । ‘नम्बरी सुनले लगानी उठाउनेमा आशावादी छु । यो चलचित्र रिलिजपछि लगानी रिटर्न गर्छ भन्नेमा ढुक्क छु । लगानी रिटर्न गरेपछि मात्र अरु चलचित्र बनाउने योजना छ’, नारायण भन्छन् ।
नारायणका अनुसार दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठका दाजु मीनकृष्ण श्रेष्ठ उनका साथी हुन् । ‘मीनकृष्णको टिमले कोहिनूर बनाएपछि त्यो चलचित्रमा सानो भूमिकामा अभिनय गरें । श्रीकृष्णको निधन नभएको भए त्यो टिमसँग मिलेर अहिलेसम्म मैले झण्डै चारवटा जति चलचित्र निर्माण गरिसक्थें’, उनी भन्छन् ।चलचित्र ‘कोहिनूर’ सुटिङका समयमा श्रीकृष्णका दाजु मीनकृष्णसँग नारायणको चलचित्र बनाउने सल्लाह पनि भएको रहेछ । ‘मीनजीले ‘नारायणजी हामी मिलेर एउटा चलचित्र बनाउनुपर्छ’ भन्नुभएको थियो । मैले ‘हुन्छ म २५ देखि ३० प्रतिशत लगानी गर्छु’ भनेर वचन पनि दिएको थिएँ । तर श्रीकृष्णको निधनपछि सबै कुरो तितरवितर भयो’, नारायण सम्झन्छन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
