Mansara

जुम्लामा ‘प्रकाश’को वल्र्ड प्रिमियर हुने

२०७९ भाद्र ३
जुम्लामा ‘प्रकाश’को वल्र्ड प्रिमियर हुने

चलचित्र ‘प्रकाश’को वल्र्ड प्रिमियर जुम्लामा गरिने भएको छ । आगामी शुक्रबार अर्थात भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ५ गते आइतबारका दिन जुम्लामा वल्र्ड प्रिमियर हुन लागेको हो ।

जुम्लाको तिर्खु गाँउमा छायाँकन भएको यो चलचित्रको सोही गाँउको मोक्ष माध्यमिक बिद्यालयको प्राङगणमा वल्र्ड प्रिमियर गर्न लागेको निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । आइतबार हुने वल्र्ड प्रिमियरका लागि चलचित्रका लेखक बिकास सुबेदी सहितको टिम शनिबार जुम्ला जानेछ ।

प्रायः चलचित्रको बल्र्ड प्रिमियर स्ट्याण्डर्ड हलहरुमा रेडकार्पेटका साथ गर्ने सेलिब्रटीहरुका बिच गर्ने गरिन्छ । तर, प्रकाशको वल्र्ड प्रिमियरमा भने चलचित्र हल नभएका कारण बिद्यालयमा प्रोजेक्टरको माध्यमबाट चलचित्र देखाइने छ । चलचित्र हेर्न स्थानिय राजनीतिक दलका प्रतिनिधी, शिक्षक, बिद्यार्थी, बिभिन्न पेशा ब्यवसायमा आवद्ध ब्यक्तिहरुका साथै सम्पूर्ण गाँउबासिलाई निम्ता दिइएको छ । जुम्लाको परिवेशमा कथा भनिएका कारण चलचित्रको पहिलो दर्शकका रुपमा स्थानिय जनतालाई रोजेको निर्माण पक्षले जनाएको छ ।

निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहन सहन, रितिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रुपमा त्यहीका स्थानिय जनतालाई चलचित्र देखाउन लागिएको जनाएका छन् । त्यसो त स्थानिय दर्शकहरुले चलचित्र हेर्दा अपनत्व फिल गर्छन वा गर्दैनन् भन्ने कुराले चलचित्र यर्थाथ सँग कति नजिक छ भन्ने कुरा पनि प्रष्ट हुनेछ । त्यसो त आइतबार जुम्लामा वल्र्ड प्रिमियर गर्न लागेको चलचित्रको ८ गते बुधबार चलचित्रको काठमाडौं प्रिमियर गरिने जनाइएको छ ।

चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्र यतिबेलाको बहुप्रतिक्षित चलचित्र हो ।

चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

Mahajatra