अष्ट्रेलियामा ‘पीआर’ को रेड कार्पेट प्रिमियर गरिने

२०८२ श्रावन १२
अष्ट्रेलियामा ‘पीआर’ को रेड कार्पेट प्रिमियर गरिने

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘पीआर’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ । निर्माण पक्षका अनुसार चलचित्रको प्रिमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा हुने भएको हो ।

चलचित्रको पहिलो प्रिमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा हुनेछ भने दोस्रो प्रिमियर अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमाका दुई हलमा आयोजना गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्र अष्ट्रेलियामा आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतीमा प्रदर्शन हुँदैछ । शोभित बस्नेतद्वारा निर्देशित चलचित्रमा आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय रहेको छ । त्यसैगरी  विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसीले अभिनय गरेका छन् ।

चलचित्रमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता छन् । कथा निर्देशक बस्नेतकै हो भने पटकथा र संवाद गणेश बुढाथोकीले तयार पारेका हुन् ।

छायांकन सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)ले गरेका हुन भने सम्पादन बन्दे प्रसादको छ । चलचित्रमा नृत्य रामजी लामिछाने, संगीत मानस राज र भीम बीसीको रहेको छ ।

निर्देशक बस्नेतका अनुसार चलचित्रको ६० प्रतिशत छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र ४० प्रतिशत नेपालमा गरिएको हो । विदेशमा रहेका नेपाली विद्यार्थीहरूको संघर्ष, र नेपालमा रहेका परिवारजनको पीडा चलचित्रको मुख्य विषयवस्तु हो ।