‘पिताम्बर’को टिजर सार्वजनिक, प्रदिप र सौगातको एक्सन

२०८१ पौष २९
‘पिताम्बर’को टिजर सार्वजनिक, प्रदिप र सौगातको एक्सन

चलचित्र ‘पिताम्बर’को एक्सनपूर्ण टिजर सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो ।

चलचित्रका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा ही धर्मस्य’बाट वाचन गरेपछि सुरु हुने टिजरमा चलचित्रका कलाकारहरु प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झा अँटाएका छन् । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने चलचित्रको टिजरमा प्रदीप र सौगातको एक्सनलाई विशेष स्थान दिइएको छ ।
 
कार्यक्रममा बोल्दै निर्देशक कृषा चौलागाईले आफ्नो टिमले ठूलो क्यानभासमा उत्कृष्ट चलचित्र बनाएको दाबी गरिन । उनले ट्रेलरमा चलचित्रको बृहत क्यानभाष देखिने जनाइन । नायक प्रदीप खड्काले एक्सनले सबै कुरा बोल्नै भन्दै टिजरमा सबै कुरा केही हदसम्म देखिएको दाबी गरे । उनले आफूले ‘पिताम्बर’मा स्क्रिप्ट भन्दा पनि निर्देशक कृषाको इन्टेन्सन हेरेर काम गरेको खुलाए ।

निर्माता विशाल चौलागाईंले चलचित्र प्रति आफ्नो रुची बढ्दै गएकाले अझ राम्रो चलचित्र बनाउनेमा आफू प्रतिबद्ध रहेको बताए । दिदी कृषाको चलचित्र प्रतिको लगाव प्रति आफू नतमस्तक रहेको बताउँदै आफू चलचित्रमा सक्रिय रहँदा साथीभाईहरु पनि छक्क परेको खुलाए । पेशाले मेडिकल व्यवसायी विशालले यसअघि कृषाको निर्देशन रहेको चलचित्र ‘एैचोपैचो’ निर्माण गरेका थिए ।

नायिका सुरक्षा पन्तले एउटा राम्रो टिमसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । नायिका सुपुष्पा भट्टले चलचित्रमा आफूले ‘इमोसनल’ चरित्र निभाउनु परेकाले चरित्र विकासमा सहयोग पुगेको बताइन् । नायिका दिव्या रायमाझीले चलचित्र आफ्ना लागि राम्रो बनेको बताइन् ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ । चलचित्रमा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।

विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता र सुमन गौतम कार्यकारी निर्माता रहेका छन्  । चलचित्रमा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत र हिमाल केसीको द्वन्द्व छ ।