पहिले पहिले यसरी गरिन्थ्यो फोटोको काम । फ्रान्सबाट फोटो पठाउँदा राष्ट्राध्यक्ष गायब भएपछि हंगामा !

२०७५ असोज १३
पहिले पहिले यसरी गरिन्थ्यो फोटोको काम । फ्रान्सबाट फोटो पठाउँदा राष्ट्राध्यक्ष गायब भएपछि हंगामा !

फोटो पत्रकारिताको दुनियाँमा एक समय रेडियोफोटोको जमाना थियो । गोरखापत्र सरकारी अनि सशक्त प्रकाशन भएकोले रेडियोफोटोको साइनो गोरखापत्रसँग मात्र रहन्थ्यो ।

तत्कालीन राजा वीरेन्द्रको राजकीय भ्रमणमा खिचिएका तस्वीर गोरखापत्रमा प्रकाशन गर्नु पर्ने त्यो बेलाको अवस्थाले गोरखापत्रमा रेडियोफोटोको उल्लेख्य प्रकाशन हुन पुग्यो ।

रेडियोफोटो आफैमा सहज प्रविधि थिएन । एउटा सुटकेश बराबरको बाकसमा जडान गरिएको मेशिन जसमा फोटो स्क्यान गर्न मिल्ने प्रविधि त्यसबेला रहन्थ्यो । यो जता पनि बोकी लान मिल्ने हाते व्याग जस्तो आविष्कार थियो । यसको माध्यमबाट खिचिएको श्यामस्वेत फोटोलाई यही बाकसभित्र रहेको एउटा रोलरमा फिट हुने गरी बेरेपछि त्यसमा रहेको उज्यालो प्रकाशलाई अन गर्ने र स्वचालित यसको रोलर घुमाएर प्रकाशको माध्यमद्वारा फोटोलाई स्क्यान गर्ने जटिल प्रक्रिया यसमा हुन्छ । अर्कोतर्पm स्क्यान गरी पठाएको फोटो अर्को मेशिन रिसिभ गर्नको लागि तयारी अवस्थामा राखिएको हुन्थ्यो । पठाएको फोटो रिसिभ गर्नेले गरेपछि रिसिभ भएको फोटोलाई रसायनिक प्रविधिबाट प्रोसेस गरेर त्यसको छवि ठीक भएको जानकारी पाएपछि मात्र यसको कार्य समाप्त हुन्छ । यदि कुनै कमजोरी भएमा त्यति नै समय लगाएर पटक÷पटक पठाउनु पर्ने हुन्थ्यो । यसरी खिचिएको फोटो एक ठाउँबाट अर्को ठाउँमा पठाउने यो प्राविधिक कार्यलाई रेडियोफोटो भन्ने गरिएको थियो । त्यतिबेला नेपालमा यस्तो मेशिन एकै सेट मात्र थियो गोरखापत्र संस्थानमा ।

तत्कालीन राजा वीरेन्द्रको राष्ट्रिय अन्तर्राष्ट्रिय भ्रमणमा खिचिएका फोटो गोरखापत्रमा प्रकाशित हुनुपर्ने गरी रेडियोफोटो प्रशारित हुने गर्थे । यस कार्यमा मेशिनबाट फोटो पठाउने कार्य टेलिफोनको लाइन अर्थात् अन्तर्राष्ट्रिय टेलिफोन कलको माध्यमद्वारा सम्बन्धित ठाउँमा सम्पर्क गरेर फोनकै लाइनबाट पठाउने र प्राप्त गर्ने प्रविधिको प्रयोग भएको थियो ।

आजको दिनमा सञ्चार उपकरणको प्राविधिक सरलता र विकासले यससँग सम्बन्धित सबै कार्यहरू सरल एवम् सहज बनाएको छ । विगतमा इमेल, इन्टरनेट जस्ता कुनै पनि उच्चस्तरीय उपकरण वा माध्यमको आविष्कार भएको थिएन । यसरी रेडियोफोटो प्रयोग नै त्यतिबेला एक मात्र नौलो र सहज माध्यम उपलब्ध थियो । घण्टौंसम्म अन्तर्राष्ट्रिय कल टेलिफोनले सम्पर्क गरी मेशिनलाई चालु राखेर गर्नु पर्ने हुनाले टेलिफोन कल निकै समय व्यस्त हुने कुरा सहज थिएन र लाइनलाई जोड्दा पनि टेलिफोनका तारलाई नै निकालेर जोड्नु पर्ने असहज कार्य गर्नु सम्भव थिएन तर वाध्य भएर गर्नु पर्ने हुन्थ्यो । त्यतिबेला राजाका भ्रमणका तस्वीर यस्तै अवस्थाबाट अखबारमा छापिन्थे ।

राजकीय भ्रमणमा खिचिएको तस्वीरलाई गोरखापत्रमा भोलिपल्टै प्रकाशन गर्नै पर्ने कठिन र जोखिम अवस्था बीच यो रेडियोफोटोको सेवा कम खतरापूर्ण थिएन ।

फ्रान्समा भएको अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा तत्कालीन राजा वीरेन्द्र सहभागी हुने क्रममा समाचार चलचित्र संकलन गर्न तत्कालीन शाही चलचित्र संस्थानले मलाई खटाएको थियो । त्यसै क्रममा अखबारमा प्रकाशन हुने समाचारको लागि फोटो खिच्ने कार्यभार समेत मेरो नै जिम्मा पर्न आएको थियो । 

विदेशमा समाचारको लागि फोटो खिचेपछि तुरून्तै समाचारका लागि फोटो पनि पठाउनु पर्ने भएकोले, फोटो बनाउनु रेडियोफोटोको उहिल्यैको प्रविधि अहिलेको जस्तो सहज थिएन र फ्रान्सदेखि नेपाल पठाउनु पनि त्यति सरल थिएन । फोटो बनाउनको लागि निगेटिभ प्रोसेस गरी फोटो प्रिन्ट गर्नुलाई इन्लार्जर मेशिन चाहिने हुन्छ र यो सबै कार्यलाई लाइट नछिर्ने अँध्यारो कोठाको आवश्यक पर्ने हुन्छ । यी सबै आवश्यक ठाउँ र सामानहरू विदेशको नौलो ठाउँमा उपलब्ध हुने कुरा नै भएन । त्यसकारण आवश्यक सबै सामग्री नेपालबाटै लिएर जानुपर्ने हुन्थ्यो र त्यहाँ पुगेपछि अँध्यारो कोठा बनाउन उपयुक्त ठाउँ बाथरूमलाई बनाउनु पर्ने हुन्छ । दिनभरि कार्यक्रमको फोटोहरू खिची सकेर राती होटलको कोठामा आएर फेरि सबै खिचेका फोटोको क्यामेरामा भएको निगेटिभ केमिकलमा प्रोसेस गरी सकेर फेरि निगेटिभबाट इन्लार्जर मेशिनमा राखेर फोटो इन्लार्जमेन्ट गरी केमिकलमा प्रोसेस गरी महत्वपूर्ण फोटोहरूलाई सुकाएर फोटोमा समाचारका क्याप्सन लेखेर स्क्यानरमा रोल लोड गरेपछि रेडियो फोटो नेपालको रिसिभर जडान गरेको ठाउँ अर्थात् गोरखापत्र संस्थानमा टेलिफोन सम्पर्क गरी टेलिफोनकै माध्यमबाट रेडियो फोटो पठाउने तयारी गरिन्थ्यो । पठाउने र ग्रहण गर्नेको तयारी पछि फोटो पठाएको संकेत नेपालमा रिसिभ भएको नभएको कुरा थाहा पाउने यताबाट पनि त्यतिकै लामो समय लिए निगेटिभ केमिकलमा निगेटिभ प्रोसेस गरेपछि ठिक भएको संकेत भएमा बल्ल कार्य पूर्ण भएको मानिन्थ्यो । यदि कुनै पनि कारणले बिग्रन गएमा त्यतिकै समय लगाएर फेरि पठाउनु पर्ने हुन्थ्यो । अल्पविकसित राष्ट्रको त्यो सम्मेलनमा नेपाल लगायत अरू ३ राष्ट्रले भाग लिएका थिए । फ्रान्स आयोजक थियो । जम्मा ४ राष्ट्र सम्मिलित थिए । चार राष्ट्र मध्येमा एउटा राष्ट्र अफ्रिकन मुलका राष्ट्राध्यक्ष थिए । सम्मेलनको दुई तीन दिन पछि मात्र रेडियो फोटो मार्फत फ्रान्सबाट मैले पठाएको फोटो सहितको गोरखापत्र प्राप्त भएको खवर आयो । श्यामस्वेत फोटो थियो । चार राष्ट्राध्यक्षहरू मध्ये एउटा राष्ट्राध्यक्ष फोटोमा देखिएन, गायव भएको अवस्था थियो । यसरी तस्वीरमा सम्मेलनमा सहभागी एक राष्ट्राध्यक्ष नै गायव हुनुले सम्बन्धित सबै व्यक्तिहरू चिन्तित भए । कसरी यस्तो गल्ती हुन गयो भनेर निकै चासो भयो । सो फोटो हेरेर मलाई पनि चिन्ताले सताउन थाल्यो । तर गल्ती पत्ता लाग्यो । अफ्रिकन मूलको राष्ट्राध्यक्षको वर्ण कालो रहनु र फोटो कालै पृष्ठभूमिको रहनुले यसो भएको रहेछ । त्यसमा पनि श्यामस्वेत फोटोमा यो अस्वाभाविक थिएन । त्यसकारण ती राष्ट्राध्यक्ष गोरखापत्रमा छापिएको फोटोमा नदेखिएका रहेछन् । यसरी समय समयमा जोखिम मोलेर जिम्मेदारी पुरा गर्नु परेको थियो । यति मात्र कहाँ हो र अर्को ‘समाचार चलचित्र’ पनि त्यति नै महत्वपूर्ण त छँदैछ । समाचार चलचित्र संकलन गर्दा पनि यसरी नै आफैले साधनहरू बोकेर कार्यस्थलमा पुग्नु पथ्र्यो । यो त्यसै नै कठिन त छँदैछ । एउटै समयमा एउटै कार्यक्रमको विभिन्न महत्वपूर्ण समाचारका लागि चलचित्र संकलन गर्नु र हेर्नु संभव नै थिएन, तर त्यतिबेला त्यस्ता जोखिमपूर्ण कार्यहरू पनि पुरा गरी आफ्नो कार्यभार कुशलतापूर्वक कसरी सम्पन्न गर्न सकियो होला, अहिले यो संस्मरण नै आश्चर्यजनक छ । थोरै त्रुटि हुँदा जागिर जाने, सजाय भोगिनु पर्ने जमाना थियो त्यो ।

तत्कालीन राजा वीरेन्द्रवीर विक्रम शाहको राज्याभिषेकको समयमा गुप्ताजी कहलिएका अर्थात् यु.पि.आई. का प्रतिनिधि मार्फत मैले काठमाडौँको मकालु होटलको बाथरूमलाई पनि डार्करूम बनाएर त्यस अवसरमा खिचिएका फोटो धुलाई गरी भारत पठाएको र उक्त फोटो टाइम्स अफ इन्डियामा प्रकाशित भएको हुँदा यसबाट चौतर्फी सह्राना समेतको अनुभव गरियो ।

नेपालमा रेडियोफोटो प्रविधिको प्रयोगको विषयले भारतमा पनि चर्चाको विषय बनायो । अहिले यो रेडियोफोटो प्रविधि प्रयोगमा छैन । तर इतिहासमा यो प्रविधि निकै उपयोगी रह्यो । खिचिएका तस्वीरलाई भोलिपल्टै प्रकाशन गर्नु पर्ने अवस्थामा नेपालकै जेठो अखबार गोरखापत्र नै यो प्रविधिबाट चिखिएका तस्वीर प्रकाशन गर्ने अखबारका रूपमा पनि इतिहास बनाउन पुगेको छ ।

लेखक प्रसिद्ध चलचित्र छायाँकार हुनुहुन्छ ।

LPT
Gaun Aayeko Bato