चलचित्र ‘परिवर्तन’को शुभ मुहूर्त

२०८२ जेष्ठ २५
चलचित्र ‘परिवर्तन’को शुभ मुहूर्त

चलचित्र ‘परिवर्तन’को शुभ मुहूर्त झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा-अर्चनासहित सम्पन्न भएको छ । विजय केरुङले निर्देशक गर्ने चलचित्रमा सुशील श्रेष्ठ र अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । मुहूर्तसँगै चलचित्रको छायाङ्कन पनि सुरु भएको छ । चलचित्रको छायाङ्कन करिब ४० दिनसम्म पूर्वी नेपालका विभिन्न स्थानहरू झापा, विराटनगर र इलाममा गरिनेछ । निर्माण पक्षले यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ ।

मुहूर्त समारोहमा श्रेष्ठ र बराइलीले पहिलो सट दिए । मुहूर्त सटको ‘एक्सन कट’ अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङले गरे भने नेपाली काँग्रेसका मेचीनगर सचिव मुकेश लिम्बुले ‘क्ल्याप’ हानेका थिए । यस अवसरमा कलाकारहरू श्रेष्ठ,  बराइली, आशा पौडेल, सुवास मेचे, गौतम तिवारी, आयशा कार्कीका साथै निर्देशक विजय केरुङ र निर्माता दीपक सिवाकोटी लगायत चलचित्र युनिट उपस्थिति थियो । साथै, अन्य स्थानीय जनप्रतिनिधिहरू र समाजसेवीहरूको पनि उपस्थिति थियो ।

दिब्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो, र गरिब, दुःखी तथा असहाय जनताको पीडादायी यथार्थलाई पनि उजागर गर्ने बताइएको छ ।

चलचित्रका निर्माता दीपक सिवाकोटीले नै यसको कथा लेखेका हुन् । चलचित्रमा सुशील र अञ्जना सहित सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको अभिनय रहनेछ । चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन् ।