‘परदेशी–२’को गीत ‘कुरा सिधा छ’ सार्वजनिक

२०८० असोज १७
‘परदेशी–२’को गीत ‘कुरा सिधा छ’ सार्वजनिक

यही २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी–२’को गीत ‘कुरा सिधा छ’ सार्वजनिक गरिएको छ ।  सार्वजनिक डान्सिङ शैलीको गीतमा प्रताप दास र मिना निरौलाको स्वर, बि.बि. अनुरागीको शब्द तथा संगीत र गोविन्द राईको कोरियोग्राफी रहेको छ ।

अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत गीतको सार्वजनिक ‘लिरिकल शैली’को भिडियोलाई मिराज अर्यालले सम्पादन गरेका हुन् ।

दशैँको छेको पारेर प्रदर्शनमा आउन लागेको ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन छ । परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रले पेश गर्छ ।

 ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र  दिएका रायमाझी ‘परदेशी २’मार्फत निर्देशनमा सफलताको ह्याट्रिक गर्ने दाउमा छन् । यसअघि सार्वजनिक गीत र देशदौडाहाबाट चलचित्रले निकै राम्रो हाइप बनाइसकेको छ ।