दर्शक बढाउँदै ‘परदेशी २’, बलियो ‘वर्ड अफ माउथ’

२०८० असोज २८
दर्शक बढाउँदै ‘परदेशी २’, बलियो ‘वर्ड अफ माउथ’

चलचित्र ‘परदेशी २’ले दर्शकको बलियो साथ पाएको छ । शुक्रवारबाट प्रदर्शन भएको चलचित्रले शनिवार र आइतबार आफ्नो प्रभाव बढाउँदै लगेको छ । शनिबार र आइतबार चलचित्र हेर्न हलहरुमा दर्शकहरुको चाप देखिन्छ ।
 
हलबाट निस्किँदै गरेका अधिकांश दर्शकले चलचित्र एकदमै मन परेको बताएका छन् । अधिकांश दर्शक चलचित्र हेरेर निस्किँदा भावुक देखिएका थिए । उनीहरुले चलचित्रले घरी हँसाउँने, घरी रुवाउँने र धेरै दृश्यमा गम्भीर समेत बनाउने बताएका छन् । चलचित्र हेर्न पुगेकामध्ये धेरैजसो परिवारसहित हल पुगेको भेटिए ।
 
दर्शकहरूबाट प्राप्त सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शक बढाउँदै जाने देखिएको छ । निर्देशक नारायण रायमाझी दर्शकबाट पाएको प्रतिक्रियाले निर्माण टीम उत्साहित रहेको बताउँछन् ।
 
‘बुटवल, पोखरा, नेपालगञ्ज, चितवनसहित काठमाडौंका हल हाउसफुल भए’ रायमाझीले भने, ‘माउथ पब्लिसिटीले एकदमै राम्रो भइरहेको छ । हिजोभन्दा आज बिहान, बिहानभन्दा दिउँसो, दिउँसोभन्दा बेलुका दर्शक बढेका छन् । भोलिका दिनमा अझ राम्रो हुने विश्वास छ ।’

निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूतसंगै अभिनेत्रीद्धय केकी अधिकारी र वर्षा शिवाकोटी राजधानीका हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । त्यसक्रममा केही दर्शकहरु कलाकारको अङगालोमा रोएको समेत देख्न सकिन्थ्यो । दर्शकबाट पाएको प्रतिक्रियाले कलाकारहरु पनि उत्साहित र खुशी देखिएका छन् । कलाकारहरुले पनि सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शक बढाउँदै लगेको बताए ।
 
चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् ।
 
निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्रहरू दिएका थिए । ‘परदेशी २’ दशैंको अवसर पारेर घटस्थापनाको दुई दिन अघिबाट प्रदर्शनमा आएको हो ।