निश्चलको ‘दिमाग खराब’मा खगेन्द्र, दयाहाङ देखि स्वस्तिमासम्म

२०८० बैशाख १८
निश्चलको ‘दिमाग खराब’मा खगेन्द्र, दयाहाङ देखि स्वस्तिमासम्म

निश्चल बस्नेतको निर्देशन रहने चलचित्र ‘दिमाग खराब’को लाइनअप सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्देशक बस्नेतले सोमबार सार्वजनिक गरेको चलचित्रको टाइटल पोस्टरमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा र विजय बराल कलाकारका रुपमा रहने उल्लेख छ । यस्तै चलचित्रलाई तिहारको अवसर पारी कात्तिक २४ गतेबाट प्रदर्शन गरिने जानकारी समेत दिइएको छ ।

सुसन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत र निमेष श्रेष्ठको सम्पादन रहने चलचित्रको पटकथा आकाश बरालले लेखेका हुन् । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रौनक विक्रम कँडेल हुन भने कार्यकारी निर्मातामा सुरज बम ठकुरी रहेका छन् । जनता र शक्तिको कथा भन्ने चलचित्रको छायाँकन जेष्ठ १ गतेबाट सुरु हुने बुझिएको छ ।

निश्चल बस्नेत ६ वर्ष पछि निर्देशनमा फर्किन लागेका हुन् । यस अघि २०१७ मा उनी निर्देशित चलचित्र  ‘लुट २’ प्रदर्शन भएको थियो । सन् २०१२ को चलचित्र  ‘लुट’बाट नेपाली चलचित्रमा कथा बाचनको शैली परिवर्तन गरेको श्रेय उनैलाई जान्छ ।