Mahajatra

बैशाखमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

२०७८ चैत्र ९
बैशाखमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख ५ गते देखि ७ गते सम्म हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामिण कथा बस्तुमा बनेका चलचित्रहरुलाई सहभागी गराइनेछ । आजैबाट चलचित्रको दर्ता प्रक्रिया पनि सुरुवात भएको छ । महोत्सवमा सहभागी हुन चाहने चलचित्र टिमले ruralnepal2078@gmail.com मा इमेल गरेर सहभागीता जनाउन सक्नेछन् ।

पर्यटन प्रवर्धनसंगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ उक्त महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले जनाएका छन् । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरु अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रदर्शन गरिएका चलचित्रसँग सम्बन्धित चलचित्रकर्मी तथा आम दर्शकबीच अन्तरकृया गरिने, गाउँले परिवेशमा चलचित्र बनाउने बिषयमा वर्कशप हुने र चलचित्रकर्मीहरुको बीचमा ग्रामीण चलचित्रको कथा तथा मौलिक चलचित्र निर्माण सम्बन्धी अन्तरकृया हुने र उत्कृस्ट चलचित्रलाई जुरी टिमको निर्णय अनुसार अवार्ड प्रदान गरिने समेत अध्यक्ष सापकोटाले जानकारी दिएका छन् ।

कार्यक्रम गरिने क्षेत्र लाप्राकको साँस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुति समेत रहने जनाईएको छ । नेपाली मौलिक चलचित्र, चलचित्रकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवर्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका चलचित्रहरुलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु महोत्सवको मुख्य उद्धेश्य रहेको महोत्सव अध्यक्ष सापकोटाले बताए ।

यस किसिमका महोत्सव तथा चलचित्रसंग सम्बन्धित गतिविधि राजधानी काठमाडौँ तथा मुख्य शहरहरुमा मात्र हुने गरेको सन्दर्भमा ग्रामीण क्षेत्रमा हुने यस महोत्सवले स्थानीय जनताबीच नेपाली चलचित्र र चलचित्रकर्मीप्रतिको चासो र माया बढ्ने, नियमित नेपाली चलचित्र हेर्ने दर्शकको संख्या पनि बढ्ने विश्वास आयोजकमा छ ।