Mansara

वीरगञ्जमा ‘नेपाली चलचित्र स्वर्णीम महोत्सव’, राष्ट्रपतिले उद्घाटन गर्ने

बलिउड अभिनेता गोविन्दा सहभागी हुने

२०७६ कार्तिक १७
वीरगञ्जमा ‘नेपाली चलचित्र स्वर्णीम महोत्सव’, राष्ट्रपतिले उद्घाटन गर्ने

वीरगंजमा हुने ‘नेपाली चलचित्र स्वर्णीम महोत्सव’को तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक नेपाल चलचित्र निर्माता संघले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनका बिच उक्त जानकारी दिइएको हो ।

महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ । ‘तराई पहाड हिमालको उत्सव’ भन्ने नाराका साथ गर्न लागिएको महोत्सवमा कात्तिक २१ देखि २३ गतेसम्म आयोजना हुने छ । कार्यक्रममा बोल्दै महोत्सव तयारी समितिका संयोजक एवम् चलचित्र निर्माता संघका उपाध्यक्ष बिमल पौडलले तराइ र मधेशका कथा, कला, साहित्य तथा संस्कृतिलाई पनि नेपाली चलचित्रमा नसमेटिए नेपाली चलचित्र अपुरो हुने भएकोले वीरगंजमा यो महोत्सव आयोजना गर्न लागिएको बताएका छन् । महोत्सवमा बलिउड अभिनेता गोविन्दा पनि सहभागी हुने जानकारी दिदै उनले यो महोत्सवले चलचित्रको प्रर्वद्धन मात्र नभएर पर्यटन प्रबर्द्धनमा पनि टेवा पुग्ने विश्वास लिएका छन् ।

महोत्सवमा नीर शाह, राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, करिश्मा मान्नधर, निरुता सिंह, केकी अधिकारी, पल शाहलगायतका कलाकार तथा चलचित्रकर्मीहरुको सहभागिता रहने जनाइएको छ । 

महोत्सव आयोजनाका लागि नेपाल उद्योग वाणिज्य महासंघ र वीरगञ्ज उद्योग वाणिज्य संघले समेत साझेदारी गरेका छन् । १ करोड २० लाख खर्च हुने अनुमान गरिएको महोत्सवका लागि प्रदेश २ सरकारले १० लाख, वीरगञ्ज महानगरपालिकाले १५ लाख रुपैयाँ र प्रादेशिक पर्यटन प्रवर्द्धन समितिले समेत आर्थिक सहयोग गरेको जानकारी दिइएको छ ।