Mahajatra

अनन्त यात्रा, पेन्सिल र मकै विवाह उत्कृष्ट

२०७६ कार्तिक २०
अनन्त यात्रा, पेन्सिल र मकै विवाह उत्कृष्ट

आठौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म महोत्सब’मा तीन नेपाली चलचित्र उत्कृष्ट भएका छन् । काठमाडौंको जमलस्थित नाचघरमा ३ दिन सम्म चलेको महोत्सवमा लघु चलचित्रको विधाबाट सुनिल पाण्डे निर्देशित ‘अनन्त यात्रा’ र आशिष भण्डारी निर्देशित ‘पेन्सिल’ पुरस्कृत भए । यस्तै लघु बृत्तचित्रबाट भीमलाल श्रेष्ठ निर्देशित ‘मकै विवाह’ पुरस्कृत भयो । पुरस्कृत चलचित्रका निर्देशकहरुलाई ‘आदिप प्रतिभा फिल्म पुरस्कार–२०१९’बाट पुरस्कृत गरिएको छ । पुरस्कार स्वरुप जनही पाँच÷पाँच् हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।

पुरस्कृत ‘पेन्सिल’ले बालबालिकालाई जती धेरै यातना तथा दुःख दियो उनीहरु त्यत्तिकै झग्डालु र हिँस्रक हुँदै जान्छन भन्ने सन्देश दिएको छ । यस्तै ‘अनन्त यात्रा’ नेपालीहरुको मृत्यपछि स्वर्ग जानेक्रममा बैतर्नी नदी तर्न सजिलो होस भनेर गाई बर्तनी गरी गाई दान दिने प्रथामा केन्द्रित छ । यस्तै ‘मकै विवाह’मा गोरखाको धर्चे गाउँपालिकाको लाप्राकमा मकै बाली लघाउनु अघि पुजा आजासहित मकैको विवाह गर्ने प्रचलनलाई उठाईएको छ ।

महोत्सबमा अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी, नर्वे, जर्मनी, बेलायत र नेपाल सहित १२ देशका २५ वटा चलचित्र सहभागी रहेका थिए । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी)ले महोत्सवको आयोजना गरेको हो ।