चलचित्रलाई लिएर आत्मिय अनि दार्शनिक सुनिने नविन

कहिले काँही चलचित्रले मानिसको अन्तरहृदय सम्मै गुन्जायस पैदा गर्छ । त्यो चलचित्र कथामा मात्र सिमित हुँदैन, एउटा सुन्दर स्मृतिको गहिरो निशानी बन्छ । नविन चौहान निर्देशित चलचित्र ‘उनको स्वीटर’ पनि यतिबेला धपक्क बलिरहेको छ, टपक्क टल्किरहेको छ ।
जब कोही ब्यक्ति कला क्षेत्रमा कलाकर्म गर्न नभएर जीवन बाँच्न आउछ तब जन्मिन्छन्, नविन जस्ता निर्देशकहरु । जसले आफ्ना हरेक सृजनालाई नयाँ शिराबाट उभ्याउँछन् । नविन चौहानका लागि ‘उनको स्वीटर’ आत्मभावको दस्तावेज हो ।
नविन चौहान कला क्षेत्रमा नौलो नाम हुँदै होइन । पछिल्लो समय म्युजिक भिडियोको परिभाषा बदल्न उद्यत् एक निर्देशकको नाम हो । यसपटक उनी ठूलो पर्दामा झुल्किदैछन् । उनको यो कदम केवल बिधागत फेरबदल होइन, यो एक यात्रा हो – जहाँ उनले चलचित्र प्रतिको आफ्नो बुझाइलाई सुन्दर ढङ्गले प्रस्तुत गर्दैछन् ।
त्यसो त चौहानको चलचित्र प्रतिको बुझाई आत्मिय अनि दार्शनिक लाग्न सक्छ । शब्द भन्दा परको संवेग अनि दृष्यभन्दा गहिरो अनुभूति भेटिन्छ उनको बुझाईमा । उनी भन्छन् – ‘चलचित्र भनेको क्यामराको माध्यमबाट देखाइने कला हो । दृष्य साहित्य अन्र्तगत ।’
कलाका बिबिध आयामहरुको उत्कृष्ट फ्युजन हो चलचित्र । जहाँ संगीतको लय, रंगहरुको इन्द्रेणी, चित्रकलाको मौनता अनि साहित्यको गहिराई सबै छ । चौहान भन्छन् – ‘चलचित्र कलाका सबै इलिमेण्ट मिलेर बनेको छ । अलिकती संगीत, अलिकती दृष्य, अलिकती पेन्टीङ, अलिकती नाटक सबै कुरा मागेर, रंङ्गीन भएको छ चलचित्र ।’
चौहानका अनुसार चलचित्र सृजनाको विशाल सागर हो । जहाँ कलाका अथाह सृजनाहरु प्रस्तुत गर्न सकिन्छ । उनी भन्छन् – ‘एक सेकेण्डमा २४ फ्रेम हुन्छन् । यो भनेको २४ वटा स्टील फोटोलाई एक सेकेण्डमा देखाए बराबर हो । प्रत्येक फ्रेमले सौन्दर्य र अर्थ बोकेको हुन्छ । यसले चलचित्र कति गहिराईमा हुन्छ बुझ्न सकिन्छ । चलचित्रमा अथाह कला प्रस्तुत गर्न सकिन्छ । अथाह सम्भावनाको क्षेत्र हो, चलचित्र । यसैले चलचित्रमा मैले देखेको, भोगेको, अनभव गरेको विषयलाई व्युटिफूल्ली प्रिजेण्ट गरेको छु ।’
उनका अनुसार कथा भन्नु मात्र चलचित्र होइन । कथा भनेको चलचित्रको एउटा तत्व मात्र हो । कतिपय चलचित्रहरु कथाको बोझ नबोकीकन सुन्दर बनेका हुन्छन् । जहाँ कथाको गुञ्जयास हुँदैन । यद्यपी उनको चलचित्रमा कथा नभएको होइन । बरु कथा मात्र नभएर कलाका बिभिन्न तत्वहरुलाई संयोजन गर्दै चलचित्र निर्माण गरेको बताउँछन् । उनी भन्छन् – ‘चलचित्र पर्दामा हेरिन्छ, यो दृष्य भाषा र दृष्य साहित्य अन्र्तगत पर्यो । त्यो दृष्य एकदमै व्युटिफूल हुनुपर्यो, एकदमै मिनिङ फूल हुनुपर्यो । हरेक सेकेण्डका हरेक चिजहरु देखिदै गर्दा, मैले भन्दै गरेको कथालाई पनि न्याय गर्नु पर्यो, चलचित्रले जसरी फिल गराएर मान्छेलाई उही मान्छे रहन दिदैन नी, त्यो लेवलसम दृष्यले पुर्याउनु पर्यो ।’ नविनका अनुसार चलचित्रमा दृष्य जति अब्बल रहन्छ श्रब्य पनि त्यत्तिकै बलियो हुनु आवश्यक हुन्छ । चलचित्र श्रब्यदृष्य हो । जहाँ दृष्यसँगै सुन्नेकुरा पनि महत्वपूर्ण हुन्छ । नविन यो चलचित्रमा आफुले दृष्यमा जस्तै ध्वनी, एम्बियन्स, संगीतलगायत श्रब्यको पक्षमा पनि उत्तिकै मेहनतका साथ काम गरेको बताउँछन् ।
चौहानका कुरा सुन्दा यस्तो लाग्छ ‘उनको स्वीटर’ केवल पर्दामा देखिने दृष्यहरुको सिलसिला मात्र होइन । यो त उनको अनुभूतिको प्रतिविम्ब हो, आफ्नै अनुभवको परिधिमा हिँडेको न्यानो सुस्केरा हो । चलचित्रले पाँचधरको पृष्ठभूमिमा कथा भनेको छ । निर्देशक चौहानको घर पाँचथर हो । उनी त्यही हुर्के, त्यहीको हावासँग बयली खेले, त्यहाँको पात्र र परिवेशसँग साक्षात्कार गरे, भाषा, संस्कार र संस्कृतिसँग मिलेरी साइनो लगाउँदै हुर्के । जसका कारण उनले पाचथरकै पृष्ठभूमिमा चलचित्र बनाउने निधो गरे । यसो गर्दा पात्रको मनोदशा र परिवेशमा उनलाई काम गर्न अझै सहज भयो, त्यहाँको समाज र संस्कृति, भाषा र संस्कारलाई पर्दामा जीवन्तता दिन गाह्रो भएन । यसले उनलाई चलचित्र मार्फत आफुले भन्न खोजेको कुरा भन्न, आफ्ना पात्रहरु, भूगोल र संस्कृतिलाई स्मृतिको छायाँझै पर्दामा जिवन्त बनाउन सहज भयो ।
चौहान गीतबाट स्थापित निर्देशक हुन् । निर्माण कम्पनी आर्टमाण्डु पनि । यसैले यो चलचित्रका गीतहरु सुन्दा जति कर्णप्रिय छन्, त्यत्तिनै अर्थपूर्ण पनि छन् । प्रत्येक गीतले चलचित्रको बारेमा केही न केही बोलीरहेका छन्, चलचित्रको कथाबारे फिल गराइरहेका छन् । नविन भन्छन् – ‘हाम्रा लागी गीत भनेको फगत् चलचित्र चलाउने टुल मात्र होइन । प्रचारका लागि मात्र गीत बनाइएको होइन । म्युजिक भिडियो बनाउँदा त यस्तो सोचिएन, यो त चलचित्र हो । चलचित्रमा कथा भन्दै जाँदा, जहाँ जहाँ जस्तो प्रसंग र आवश्यकता छ त्यहाँ त्यहाँ त्यस्तै गीत समावेश छन् ।’
तपाईले यो चलचित्रका गीतहरु सुन्नु भएकै होला । सुन्नु भएको भए पक्कै ख्याल गर्नुभए होला । गीतले चलचित्रको कथा भनिरहेका छन् । अहिले सम्म चलचित्रका ३ वटा गीतहरु रिलिज भए – ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ । यि ३ वटै गीतले चलचित्रको कथा बारे केही न केही संकेत गरिरहे । ‘फूल’ पात्रबिचको प्रेमको कथा बोल्ला, ‘मखमली’ले कल्चर प्रस्तुत गर्ला, ‘काफ्ले’ गीतले अन्तरजातिय प्रेमकथा भन्ना । तर, यि गीत भित्र गहिरो कथा लुकेको छ । गीतका लागि मात्र गीत राखिएका छैन चलचित्रमा ।
‘फूल’ले चलचित्रका मुख्य पात्र विचको प्रेमलाई प्रस्तुत गरेको छ । गीतमा समावेश ‘चिना रेखा केही देखाउन्न म भाग्य फेरौला’ शब्दले चलचित्रका मुख्य पात्रहरु कर्मले भाग्य परिवर्तन गर्न उद्धत रहेको संकेत गरेको छ ।
यस्तै सार्वजनिक दोस्रो गीत ‘मखमली’ले चलचित्रले कथा भन्दै गरेको भूगोलको परिवेश चित्रित गरेको छ । पात्रहरुको मनोबिज्ञान पनि यो गीतले बोलेको छ । गीतको शुरुमै ‘माथी माथी पान्थरैमा........’ भन्ने शब्द सुनिन्छ । यो शब्दले चलचित्रले पाँचथरको पृष्ठभूमिको कथा भनेको स्पष्ट पार्छ । यति मात्र होइन, गीतको दृष्यलाई ध्यान दिएर हेर्नु भयो भने मुख्य पात्र बिचको प्रेम, पुरुष पात्रले मुख खोलेर बोल्न नसक्दा युवतीले उसको मनमा जलनको भाव पैदा गर्न अन्य युवकसँग नजिकिएको आभाष दिएको छ ।
पूर्व पाँचथरमा त लिम्बुहरुको बाहुल्यता छ । तर, मखमली गीत गुरुङ समुदायको चर्चित ‘चुड्का’ गीत हो । लिम्बुहरुको थातथलोमा बनेको चलचित्रमा कसरी गुरुङ गीत ? बरु लिम्बुको पालाम हुनुपर्ने होइन र ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । नविन यसका लागि चलचित्र हेर्नुपर्ने बताउँछन् । यद्यपी, उनले केही कुराहरु भने खुलाएका छन् । पाँचथरमा गुरुङ समुदायको बसोबास पनि उल्लेख्य छ । उनी भन्छन् – ‘हामीले छायाँकन गरेको रानीटार भन्ने ठाँउमा मात्र ४–५ सय घर छ गुरुङहरुको । तर, उहाँहरुको थातथलो खोज्दै जाँदा गण्डक रहेछ । गण्डक क्षेत्रमा गुरुङ कल्चर हेर्न, सुन्न पाइन्छ । यहाँ त खासै गुरुङ भाषा पनि बोल्नुहुन्न । कल्चर पनि लिम्बुबाट प्रभावित, लवज पनि उस्तै लाग्छ । यो चाँही मलाई हाम्रो देशको सुन्दरता लाग्छ । मैले यो चलचित्रलाई एउटा अवसरका रुपमा लिए, पश्चिम क्षेत्रबाट गुरुङ संस्कृतीका बिज्ञहरुलाई बोलाएर उहाँहरुको प्रत्यक्ष निगरानी र निर्देशनमा यो गीत बनाएका हौं । यो गीतको समयमा त्यहाँका युवायुवतिले पनि गुरुङ संस्कृति सिक्नु भयो ।’
यता अहिले निकै चर्चामा छ चलचित्रको अर्को गीत ‘काफ्ले’ । चलचित्रका मुख्य पात्रहरु धरणीधर काफ्ले र फूल गुरुङ हुन् । गुरुङ संस्कृतिको ‘चुड्का’ भाकामा ‘मखमली’ समावेश छ भने काफ्ले अर्थात ब्राम्हण समुदायको प्रसतिनिधित्व हुने गरि गीतमै काफ्ले थर समावेश छ ।
पाँचथरमा लिम्बु र गुरुङ मात्र होइन, ब्राम्हण समुदायको पनि बसोबास छ । फिदिम नगरपालिकाका मेयर नै काफ्ले थरका छन् । यसले गर्दा चौहानलाई आफ्नो पात्रलाई समाजसँग जोड्न अझै सहज भयो । तर, उनले काफ्ले भनेर यत्तिकै थरमात्र राखेनन् । काफ्लेहरुको पृष्ठ भूमि खोज्दै स्याङ्जा सम्म पुगे । उनका अनुसार काफ्लेहरुको थातथलो स्याङ्जा रहेछ । बासी र साजी गरि दुईथरी काफ्ले रहेछन् । यसको पृष्ठभूमि पनि चलचित्रमा समावेश गरे ।
प्रचार सामग्री हेर्दा र उनका कुरा सुन्दा चौहानले ‘उनको स्वीटर’ समाजिक यर्थाथसँग नजिक रहेर निर्माण गरेका छन् । हेर्न बाँकी छ १० मिनेटको भिडियोमा सिङ्गो समाज प्रस्तुत गर्ने नविनको यो चलचित्र कत्तिको सामाजिक यर्थाथमा आधारित छ ।
Latest Updates
New Releases (Baishak 26)
-
Jaar
Director : Phurba Tshering Lama
Casts : Geetanjali Thapa, Saugat Malla, Anoop Bikram Shahi -
Unko Sweater
Director : Nabin Chauhan
Casts : Bipin Karki, Miruna Magar, Sunil Pokharel, Maotse Gurung, Wilson Bikram Rai
Next Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal