Mahajatra

‘समर लभ’ : उपन्यास एडल्ट भएपनि, चलचित्र एडल्ट छैन – मुस्कान ढकाल, निर्देशक

२०७५ माघ १८
‘समर लभ’ : उपन्यास एडल्ट भएपनि, चलचित्र एडल्ट छैन – मुस्कान ढकाल, निर्देशक

सुविन भट्टराई लिखित उपन्यास ‘समर लभ’ माथी बनेको चलचित्र माघ २५ गतेबाट प्रदर्शन हुँदैछ । प्रेम, रोमान्स र विछोडको कथा भन्ने यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन । लाखौं प्रति बिक्रि भएको भनिएको यो उपन्यास पढीसकेपछि त्यसभित्रका हरेक लाइनमा पाठकले आ–आफ्नै तरिकाको कल्पना गरेका हुनसक्छन् । यस्तो अवस्थामा मुस्कानका लागि सबै पाठकको मन जित्ने गरि चलचित्र बनाउनु निकै कठिन कार्य थियो । छायाँकन आरम्भ भएको झण्डै ३ वर्ष पछि प्रदर्शन हुन लागेको चलचित्र ‘समर लभ’ सँग नजिक रहेर निर्देशक ढकालसँग लेन्सनेपालका लागि बिष्णु सुबेदीले गरेको कुराकानी :

चलचित्रका लागि ‘समर लभ’ नै किन रोज्नुभयो ?
समर लभ जति अरु उपन्यास हिट पनि त भएनन् । फिल्म नै बनाउनु छ भने हिट कुरालाई किन नलिने । अर्को कुरा मलाई पनि मन छुन पर्यो । समर लभको हरफहरुले, सम्बादहरुले मेरो मन एकदमै छोएको थियो । त्यसकारण पनि फिल्म बनाउनु नै छ भने किन यसमा नबनाउने भनेर यसैलाई चुज गरेको हो ।

भनेपछि समर लभको ब्राण्ड युज गर्न खोज्नुभएको ?
समर लभ मै चलचित्र बनाउँदा एकदमै बम्बर व्यापार गर्ला भनेर भन्दा पनि यो उपन्यास मलाई एकदम मन परेरको भएर हो । व्यवसायिक रुपमा हेर्दा एकदमै हिट भएको उपन्यासमा चलचित्र बनाउँदा व्यापारमा पनि सहयोग होला भन्ने अपेक्षा त भइहाल्छ नी ।

चलचित्रको स्वरुप दिदै गर्दा उपन्यासका केही अंश काटछाट गरेको सुनियो । के कस्ता कुराहरु हटाउनु भयो ?
चलचित्रमा रिपिट हुने कुरा छैन । पुस्तक पढ्दा रिपिट नलाग्ने कुराहरु पनि फिल्म हेर्दा रिपिट लाग्छ । त्यस्ता कुराले दर्शकलाई मोनेटोनस हुन सक्छ । त्यसैले तिनै चिज मात्र हटाइएका छन् । बाँकी ९० प्रतिशत नोवेलमा जे छ त्यही नै छ ।

उपन्यास पढ्दै गर्दा कही कतै एडल्ट लाग्न सक्छ । चलचित्र बनाउँदा त्यस्ता कुरालाई कसरी उतार्नुभयो ?
नोवेलमा एडल्ट कुराहरु छ । तर, हामीले दर्शकसँग बसेर कति सम्म हेर्न सक्छौं त्यति नै देखाउने कोसिस गरेको छु । कलात्मक शैली अपनाएको छु । चलचित्र एडल्ट छैन । व्युटिफुल लाग्छ । फ्यामिलि नै बसेर पनि हेर्न मिल्छ । व्युटिफुल लभस्टोरी चलचित्र हो । हरेक दृष्य हेर्दा कन्भिन्सिङ लाग्छ ।

उपन्यास नपढेका दर्शकहरुका लागि यो चलचित्र कस्तो रहँदा ?
उहाँहरुका लागि यो एउटा उत्कृष्ट चलचित्र हो । चलचित्रमा जुन क्यानभाष र क्यारेक्टर छन् त्यो एकदम नयाँ लाग्छ । इमोशन, कमेडी, सम्बाद, म्युजिक उत्कृष्ट छ । उहाँहरुले एउटा व्युटिफुल लभस्टोरी चलचित्र पाउनु हुनेछ ।

कतिपय साहित्यकारहरुले आफ्नै कृतिमाथी बनेका चलचित्रलाई समेत स्वीकार गर्न सकेका छैनन् । साहित्यिक कृति माथीका चलचित्रलाई किन साहित्यकारले नै स्वीकार गर्न नसकेका होलान ?
साहित्यकारले चलचित्रको पिडा कम बुझ्नु हुन्छ । कापिका पाना र कमलको मसिको सम्बन्ध अनि हजारौं दर्शकसँगको पर्दाको सम्बन्ध आकाश र पाताल जस्तै भिन्न हुन्छ । कपि र कलम लिएर बस्दा भावनामा डुबेर जति गहिराइमा पुगेर पनि साहित्य लेख्न सकिन्छ । तर, पर्दामा उतार्दा त्यति धेरै उतार्न सकिदै सकिदैन । हुन त हामी जसले पनि आफ्नो दुःखलाई बढी देख्छौं । मैले साहित्यकारलाई कमजोर भन्न खोजेको हुँदै होइन । उहाँहरुले एकदमै राम्रो सृजना लेख्नु भएको छ तर, उहाँहरुले नै पर्दामा उतार्दा पनि त्यस्तो ल्याउन सक्नुहुन्छ । लेख्नु र पर्दामा उतार्नु भिन्न कुरा हो ।

उपन्यासका हरेक पाठकले आ–आफ्नै तरिकाको कल्पना गरेका हुनसक्छन् । भिन्न भिन्न आकृति मनसपटलमा सेट भएको हुन सक्छ यस्तो अवस्थामा चलचित्रले सबैको कल्पनालाई रिलेट गर्न सक्ला ?
त्यो चाँही तपाई जस्तै म पनि त्यस्तै हो । लाखौं लाख पाठक मध्येको एउटा पाठक मुस्कान ढकाल पनि हो नी त । समर लभलाई यसरी पनि बुझ्न पर्छ की मुस्कान एउटा पाठक पनि हो र यो त्यसको आकृति पनि त हो । अर्को कुरा केही पाठकहरुसँग मैले कुरा गर्दा थुप्रै सिक्वेन्सहरु धेरै पाठकको आकृतिसँग मिलेको पाएको छु ।

स्वयम् लेखक सुविन भट्टराईको कल्पनासँग मेला खाला त ? उहाँले चलचित्र हेरेपछि आफ्नो कृतिमाथी न्याय भएछ भन्न सक्नु हुन्छ त ?
हेर्नुस् यो कस्तो कुरा हो भने एउटा आमाले जन्म दिन्छिन, अर्की आमाले पाल्छिन । चाहे त्यो पाल्ने मान्छेले जति सुकै मायाले पालेकी हुन जन्म दिने आमाले मैले जसरी पालेकी छैनन् भन्छिन के । अर्को कुरा सुविन भट्टराई सरले फिल्म हेर्दा खेरी १०० प्रतिशत मुस्कानले खतरै गर्यो नभन्नु होला तर खत्तमै काम गर्यो चाँही भन्नु हुन्न ।