चलचित्र ‘मन बिनाको धन’को पोस्टर सार्वजनिक

२०८२ असोज ८
चलचित्र ‘मन बिनाको धन’को पोस्टर सार्वजनिक

चलचित्र ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोष्टरमा गायक बाट नायक बनेका अशोक दर्जीलाई स्थान दिइएको छ । 

पोष्टरमा अशोक स्कूलको पोशाकमा पुस्तक र कलम हातमा लिएर खुसी मुद्रामा देखिएका छन् । पृष्ठभूमिमा सानो छँदाको तस्वीर देख्न सकिन्छ, जुन उनले झापामा गीत गाएर पैसा माग्दै हिँड्ने बेलाको हो । अर्को तस्वीरमा उनको पहिलो हिट गीत ‘मन बिनाको धन’को झलक राखिएको छ । चलचित्र उनकै जीवन कथामा आधारित रहेको जनाइएको छ । पोष्टरमा ‘कथा जिरो देखि हिरो सम्मको’ उल्लेख छ । 

संगीतकारको टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्रमा अशोकसहित सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी लगायतको अभिनय रहेको छ । 

कात्तिक २१ गतेबाट प्रदर्शन हुन लागेको यो चलचित्रमा टंक बुढाथोकीको कथा तथा संगीत, शिवम् अधिकारीको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकी संगीत र मित्र डि. गुरुङको सम्पादन रहेको छ । बिष्णु माया मैनाली निर्माता रहेको चलचित्रमा सपना शर्मा कार्यकारी निर्मातामा छिन् ।