‘माइतिघर’को क्लाइमेक्स : छायाँकन गर्दा सबै रोएपछि रोकिएको थियो ३ घण्टा सुटिङ

२०८२ असोज ९
‘माइतिघर’को क्लाइमेक्स : छायाँकन गर्दा सबै रोएपछि रोकिएको थियो ३ घण्टा सुटिङ

माइतीघर, कुनै पनि चेलीका लागि वाल्यवस्था र किशोरावस्थाको स्मृती मात्र होइन, संस्कार, सम्झना र सम्बन्धको प्रतिक पनि हो । माइतिघर शब्दसँग पारिवारिक सम्बन्ध, सामाजिक मूल्य-मान्यता, प्रेम र भावनात्मक सम्बन्धहरु स्वतः जोडिन्छ ।

यसपटकको फूलपातिमा रिलिज हुने चलचित्र ‘माइतिघर’ले पनि यस्तै भावनात्मक कथा भनेको यसका मुख्य कलाकारहरुले जनाएका छन् । निर्माण पक्षले चलचित्रले पारिवारिक कथा पेश गर्ने जनाएको छ । ट्रेलर हेर्दा चलचित्र कमेडी शैलीमा तयार भएको हो कि जस्तो लाग्छ । तर, कलाकारहरु उपासना सिंह ठकुरी, केदार घिमिरे ‘माग्ने बुढा’ र धिरज मगरको कुरालाई मान्ने हो भने चलचित्रले भावनात्मक सम्बन्धको कथा भनेको छ ।

शुरु देखि दर्शकलाई हसाउँदै कथा भन्ने चलचित्रले क्लाइमेक्समा भने दर्शकलाई भावनात्मक रुपमा गहिरो स्पर्श गर्ने छ । नायिका उपासनाका अनुसार ‘माइतिघर’को क्लाइमेक्समा आमाले छोरीको बिदाई गर्ने दृष्य छ । जुन दृष्य यति सुन्दर ढङ्गले बुनिएको छ कि त्यसले दर्शकको हृदयको गहिराईलाई स्पर्श गर्छ । आमा र छोरीको सम्वाद सहितको उक्त दृष्यको छायाँकनका क्रममा कलाकार मात्र होइन, सुटिङ हेर्न आएका कयौं दर्शकहरु भावुक बनेका थिए । कलाकार केदारका अनुसार उक्त दृष्यमा (चलचित्रको दृष्यमा जन्ति र माइति गर्दा) ५ सय देखि हजार सम्म उपस्थित सबै रोएका थिए । धिरज थप्छन् चलचित्रमा हसाउने भूमिकामा रहेका केदार समेत त्यो दृष्य गर्दा भावुक बनेका थिए । धिरजका अनुसार उक्त दृष्यको छायाँकनका क्रममा छायाँकन सेटमा भएका आमाहरु निकै रोएका थिए । धिरज भन्छन् – ‘उहाँहरुले आफुलाई सम्झेर होकी, आफ्ना आमाहरुलाई सम्झेर हो कि, आफ्ना छोरीहरुलाई सम्झेर हो कि, उहाँहरु यति सारो रुनु भयो कि हामीले लगभग ३ घण्टा सुटिङ रोक्नु पर्‍यो ।’ त्यही बेला ‘माइतिघर’ शिर्षक कति भारी छ भन्ने कुरा आफुहरुले फिल गरेको उनी जनाउँछन् । कलाकार केदार आफुहरु जन्त जाँदा प्रायः रमाइलोमा भुल्ने गरेको भन्दै बिदाईको त्यो क्षण निकै मार्मिक क्षण रहने गरेको बताउँछन् । यो चलचित्रको विशेष कुरा त्यो पनि भएको भन्दै उनले यो दृष्यले आफुलाई निकै गाह्रो भएको सुनाए । धिरजले यो चलचित्र गर्दै गर्दा एउटी छोरीले परिवार सँग मात्र नभएर, घरसँग, समाजसँग, साथीहरुसँग जोडिएको सम्बन्ध छोडेर जाँदा उसलाई निकै गाह्रो हुन्छ भन्ने कुरा महशुस गरेको बताउँछन् । उनी थप्छन् यो चलचित्र हेरेपछि सायद छोरीहरु प्रतिको सम्मान अझ बढ्नेछ ।

मिलन तामाङको निर्देशन रहेको चलचित्रको क्लाइमेक्स म्याग्दी जिल्लाको सिंगा भन्ने स्थानमा गरिएको हो । चलचित्रका प्रस्तुकर्ता रोहित अधिकारी चलचित्रले दर्शकलाई हसाउँदा हसाँउदै भावुक बनाउने बताउँछन् । यद्यपी दर्शक रुवाउनै पर्छ भन्ने मान्यतामा आफुहरु नरहेको संकेत गर्दै उनले जवरजस्ती नभएर सिच्युएसनल रुपमा भावानात्मक दृष्यहरु समावेश भएको जनाए । 

चलचित्रमा धिरज, उपासना र केदारका साथै श्यामा श्री शेर्पा, प्रकाश सपुत, वुद्धि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । रोहित अधिकारी फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रमा रामशरण पाठकको लेखन रहेको छ । रोहित अधिकारी प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता रविन शेरचन र धिरज तामाङ हुन् । चलचित्रमा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताको रुपमा छन् ।