चलचित्र ‘मैझारो’को पोस्टर सार्वजनिक

२०८२ भाद्र २०
चलचित्र ‘मैझारो’को पोस्टर सार्वजनिक

कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मैझारो’को दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले चलचित्रका दुई पोस्टर सार्वजनिक गरेको हो ।

पहिलो पोस्टरमा कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन् । धिरज र मिरुनाले राई समुदायको पहिरनमा ढोलसहितको दृश्य दिएका छन् भने दिया पुन लिम्बू समुदायको ढाका साडीमा प्रस्तुत भएकी छन् । पोस्टरले चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको संकेत गर्छ ।

दोस्रो पोस्टरमा धिरज र मिरुना प्रेमिल मुद्रामा फलैचामा बसेका छन् । धिरजले बन्चरो समातेका छन् भने मिरुना कुर्ता–सुरुवालमा उनीतर्फ नजर लगाइरहेकी छन्, जसबाट उनीहरूबीचको प्रेम सम्बन्ध प्रस्ट हुने देखिन्छ ।

विल्सन विक्रम राईको कथा तथा निर्देशनमा बनेको चलचित्रमा पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानव सम्बन्धलाई उजागर गर्ने प्रयास गरिएको जनाइएको छ।

चलचित्रमा धिरज, मिरुना र दियासँगै  बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय रहेको छ ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ । चलचित्रमा सौरभ लामाको छायाँकन र मित्र डी गुरुङको सम्पादन छ ।