अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर हुने

२०८२ जेष्ठ १६
अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर हुने

नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपनि चलचित्र ‘महाभोज’ अस्ट्रेलियामा प्रिमियर हुने भएको छ । चलचित्रको प्रिमियर आगामी जुन १ तारिखमा अस्ट्रेलियाको पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा आयोजना हुने भएको छ । साँझ ६ बजेबाट प्रिमियर सुरु हुने अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले जनाएको छ ।

यो चलचित्र नेपालमा जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शन गर्ने तयारीमा थियो । तर, सोही दिन राजधानी काठमाडौंसहित देशभर राजनीतिक अस्थिरता र आन्दोलनको सम्भावित जोखिम देखिएपछि रिलिज अन्तिम घडीमा रोकिएको थियो ।

नेपालमा प्रदर्शन रोकिए पनि अस्ट्रेलियाको प्रिमियर भने यथावत् राखिएको छ । तर, छोटो समय र तयारीको व्यस्तताका कारण चलचित्र टोलीका प्रमुख कलाकार र निर्देशकले यो प्रिमियरमा सहभागिता नजनाएता पनि केही दिन पछि सबै सहरको शोहरूलाई लक्षित गरेर सहभागी हुनेछन् ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।