Mansara

कठपुतली समिक्षा : कमजोर कथा, फितलो प्रस्तुति तर, उत्कृष्ट प्राबिधिक पक्ष

२०७८ पौष १७
कठपुतली समिक्षा  : कमजोर कथा, फितलो प्रस्तुति तर, उत्कृष्ट प्राबिधिक पक्ष

हरर जनरामा बनेका चलचित्रको मुख्य ध्येय नै दृष्यका माध्यमबाट दर्शकमा डर पैदा गर्नु हो । तर, कठपुतली मुल ध्येयमा टिकिराख्न असमर्थ छ । दोहोरिने घट्ना क्रमले दर्शकहरु सहजै यस्तो हुन्छ भनेर अनुमान गर्न सक्छन् । जसका कारण दर्शकमा कौतुहला सृजना गराइराख्न निर्देशक चुकेका छन् । हरर जनराको चलचित्रमा लागि यो नै सबैभन्दा ठुलो कमजोरीका रुपमा देखिन्छ । यो बद्लाको कथा हो । राजपुरुषहरु बाट दमित युवतिहरुको भड्किएको आत्माहरुले एकिकृत रुपमा लिने बद्लाको कथा । तर, कथा यही हो भनेर बुझ्न पनि त्यति सहज छैन । किन कि दृष्य भाषा यति कमजोर छ कि कथा के हो भनेर सहजै बुझाउन असफल छ । यसअर्थ यो चलचित्र हेर्दै गर्दा कथा नै कमजोर भयो भने चलचित्रको प्राबिधिक पाटो शशक्त हुँदैमा चलचित्र उत्कृष्ट बन्दैन भन्ने निश्कर्षमा पुग्न गाह्रो छैन ।

देशमा राजा बिरोधी आन्दोलन चलिरहेको छ । आन्दोलनलाई लिएर राजा र युवराजको मत भिन्नता छ । राजा जनताको सामु झुक्न तयार छैन । तर, आफु र आफ्नो भर्खर जन्मेको सन्तानलाई समेत राजा बनाउने सपना देखेको युवराज आन्दोलनलाई आफ्ना सहयोगीको साथ मिलेर कुटनीतिक ढंगले समाधान गर्न भन्दै दरबारबाट बाहिरिन्छ । यही बिच एक समान्य दुर्घटनामा उ बेहोस् हुन्छ । त्यही समय एक युवती (शोभा) आउछे र उसले आन्दोलन चर्केको भन्दै जनताबाट युवराजलाई बचाउने आश्वासन दिदै पुरानो दरबार लिएर जान्छे । युवराज आफ्ना साथीमार्फत त्यहाँबाट फर्कन चाहन्छ तर, उसको उपचार र बिभिन्न बाहना बनाएर युवराजलाई त्यही रोकिन्छ । यसरी युवराजलाई बन्दि बनाएर भड्किएका आत्माहरुले युवराजलाई तर्साउछन् । उनीहरुले राजपुरुषसँग कसरी बद्ला लिन्छन् ? बदला लिन सफल हुन्छन कि हुँदैनन् त्यो जान्न चलचित्र नै हेर्नुपर्छ ।

तर, उनीहरुले बदला को सँग लिइरहेका छन् । हिजो जसले आफुहरुलाई शोषण गरे ति सँग ? यहाँ त जसले त्यस्तो कुकर्म गर्दै गरेनन् उनीसँग पनि बद्ला लिइएको छ । आखिर किन निर्दोषसँग पनि बद्ला लिइयो त्यसको उत्तर चलचित्र भित्र छर्दै छैन । प्राबिधिक पक्ष उत्कृष्ट हुँदा हुँदै पनि चलचित्रको कथा निकै कमजोर छ । कथाले थुप्रै अनुत्तरित प्रश्नहरु छोडेको छ ।

यो हरर चलचित्र हो । यसको मुख्य ध्येय दर्शकमा डर पैदा गर्नु नै हुन्छ । जब पहिलो पटक युवराजलाई तर्साएर दर्शकमा डर पैदा गर्न खोजिन्छ त्यो साँच्चिकै गजब लाग्छ । तर, त्यसपछि धेरै पटक उस्तै प्रकृतिका दृष्यहरु कम्पोज गरिएको छ । पटक पटक रिपेटेड शैली अपनाउदा दर्शकले सहजै अनुमान गर्छन । जब आत्माहरुले युवराजलाई तर्साउछन् उनी मज्जाले तर्सन्छन् । तर, दर्शक तर्सिन्नन् । क्यामरा र साउण्डको पक्षमा उत्कष्ट काम गरेका प्राबिधिकहरुको त्यो मेहनत पनि रिपिडेड सिक्वेन्सका कारण फिक्का भइदिएको छ । निकै शशक्त लाग्ने दृष्यहरु पनि रिपिटेसनका कारण निकै फिक्का बनेका छन् ।

त्यसो त चलचित्रले दरबारको कथा भन्छ । तर, क्यानभाष दरबार जस्तो लाग्दैन । कस्ट्युम र डाइलगका माध्यमबाट मात्र राजश्री फिल गराउन खोजिएको छ । राज परिवार र सुसारेहरुले बोल्ने भाषामा पनि लेखकले ध्यान दिएको देखिदैन । दरबारमा प्रयोग हुने शब्द होस् वा राजाको सम्बोधनमा प्रयोग भएका शब्दहरु नै किन नहुन् विगतमा राजपरिबारले बोल्ने भाषासँग पूर्ण रुपमा तालमेल खाएको देखिदैन ।

चलचित्रको शुरुमै देशमा राजा बिरुद्ध आन्दोलनको आधिबेहरी आएको माहौल क्रियट गरिएको छ । तर, यो माहौल किन र कसरी, के का लागि भन्ने नै स्पष्ट छैन । युवराजलाई दरबारबाट बाहिर निकाल्नका लागि मात्र उक्त परिवेश सृजना गरिएको जस्तो लाग्छ । जो आफैमा शशक्त छैन । चलचित्र अबधी भर युवराजलाई गलत देखाइदैन । बुबालाई बन्दि बनाएर भएपनि शासन गर्ने उनको सपना बाहेक युवराज उदार स्वभावका लाग्छन् । न त उनले कुनै कुकर्म गरेको देखाइन्छ । चलचित्रमा उनको स्वभाव  बारे थप केही पनि छैन । बरु, तिनै युवराजलाई बन्दि बनाएर किन तड्पाइयो । चलचित्रले यसको कुनै कारण पस्किन सकेको छैन । यस्ता कयौं प्रश्नहरु छन् जसको उत्तर चलचित्रले दिएकै छैन ।

कथा भन्ने निर्देशकको आफ्नै शैली हुन्छन् । तर, जुन शैलीमा भनिए पनि एक दृष्यले अर्को दृष्यसँग कहि न कतै सरोकार राखेकै हुन्छ । तर, चलचित्रमा कयौं यस्ता दृष्यहरु छन् जुन नहुँदा पनि फरक पर्दैन । चलचित्रले जुन विषय उठान गरेको छ त्यसको गहिराईमा पुग्न सकेको छैन । यसअर्थ गहन विषय माथीको फितलो प्रस्तुति हो यो चलचित्र ।

लेखनमा कमजोर रहे पनि चलचित्रको प्राबिधिक पाटो भने केही अब्बल नै छ । खासगरि हरर जनराका चलचित्रमा कथासँगै महत्वपूर्ण मानिने क्यामरा र साउण्ड वर्क भने राम्रो छ । चलचित्रको सबैभन्दा अब्बल पाटो साउण्ड हो भन्दा फरक पर्दैन । कथा जसरी न्यारेट भएको छ साउण्ड उसैगरि बगेको छ । एक अर्थमा भन्ने हो भने साउण्डले चलचित्रलाई उठाएको छ । यस्तै कुनै कुनै दृष्यमा लाइटिङको समस्या खड्किएपनि छायाँकारले उत्कृष्ट काम गरेका छन् । केही दृष्यहरुलाई त उनले लोभ लाग्दो गरि कैद गरेका छन् । तर, भिफएक्स वा ग्राफिक्सको माध्यमबाट हटाउन सकिने कयौं दृष्यहरु नहटाउदा रियल लाग्दैन । यो पिरियड ड्रामा हो यसअर्थ तत्कालिन समयकै क्यानभाष सृजना गर्न बाट निर्देशक चुकेका छन् ।

चलचित्रको सम्पादन पक्ष पनि फितलो छ । अनावश्यक र रिपिडेट कयौं दृष्यहरु हटाउन सकिन्थ्यो । चलचित्रको स्कृप्ट अन्तिम लक हुने भनेकै सम्पादनमा हो । यसअर्थ सम्पादकले चलचित्रलाई थोरै भएपनि सुधार गर्न सक्थे । त्यसका अलवा कस्ट्युम, मेकअप, कलर ग्रेडिङ, व्याग्राउण्ड स्कोर सबै शशक्त नै छन् । प्रस्तुतिले डर नलागे पनि कलाकारको मेकअपले डर पैदा गर्न सक्छ ।

कलाकारको अभिनय तारिफ योग्य नै छ । मिथिला शर्मा र उषा रजकले गजबकै काम गरेका छन् । कर्माले पनि उस्तै अभिनय गरेका छन् । गौरी मल्ल, सिल्पा मास्के, ध्रुब कोइराला र सुवर्ण थापाले पनि राम्रै काम गरेका छन् ।

लेखकलाई दोष दिएर निर्देशकको तारिफ गर्न सकिदैन । आखिर चलचित्र त निर्देशकको अभिब्यक्तिको माध्यम न हो । यसअर्थ यसको कथा र स्कृन प्लेलाई शशक्त बनाउन उनी चुकेकै हुन । चलचित्रका सम्पूर्ण पक्षहरु बलियो भएमा मात्र चलचित्र शशक्त हुन्छ । यद्यपी यति कमजोर कथामा पनि जुन आउटपुट निर्देशकले निकालेका छन् त्यसमा सन्तोष मान्न सकिएला । तर, प्राबिधिक पक्षहरु उत्कृष्ट हुँदा हुँदै पनि लेखनमा मार खाएको चलचित्र हो कठपुतली । निर्देशनमा निर्देशक लामाले शशक्त उपस्थिति देखाउन नसके पनि उनको प्रयासमा इमान्दारिता भने देखिन्छ ।

निर्देशक – भिसेन लामा
लेखक – सम्पदा मल्ल
कलाकारहरु – मिथिला शर्मा, उषा रजक, कर्म, गौरी मल्ल, ध्रुब कोइराला, सिल्पा मास्के, सुवर्ण थापालगायत
अबधी – २ घण्टा २ मिनेट