युट्युबबाट हटाइयो ‘जेरी अन टप’को गीत ‘कस्तुरी’

२०८२ असोज ७
युट्युबबाट हटाइयो ‘जेरी अन टप’को गीत ‘कस्तुरी’

सोमबार रिलिज गरिएको चलचित्र ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ मंगलबार हटाइएको छ । बुढासुब्बा युट्युब च्यानलमार्फत सार्वजनिक गीत रिलिजको २४ घन्टा पनि नवित्दै हटाइएको हो ।

निर्माता सरोज न्यौपानेले फाइनल नभएको अडियो परेका कारण हटाउनु परेको जनाएका छन् । आफु र निर्देशक सुयोग गुरुङ दुवै देशबाहिर हुँदा मिस कम्युनिकेशनका कारण अर्को फाइल अपलोड भएको उनको प्रस्टोक्ति छ । 

गीतलाई युट्युबबाट हटाइएपछि मुख्य अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी मागेका छन् । उनले लेखेका छन्, ‘सबैसँग माफी माग्छु । प्राविधिक समस्याका कारण हाम्रो नयाँ गीत हटाउनुपर्‍यो । तर, चिन्ता नगर्नुस्, हामी चाँडै नयाँ संस्करण लिएर आउनेछौं ।’

असोज ३१ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा अनमोलसहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी, उषा खड्गीलगायतको अभिनय रहेको छ । चलचित्रमा सुरक्षा पन्तले विशेष भूमिका निभाएकी छन् ।

अनन्या फिल्मस्को ब्इानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता सरोज न्यौपाने हुन् । रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र अनन्या न्यौपाने चलचित्रका निर्माता हुन् । अनुराधा गिरी र इश्वर श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रका एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का हुन् ।