तेस्रो पटक ‘कन्यादान’ नाममा चलचित्र बन्दै, सुबेदीले निर्देशन गर्ने

२०८२ भाद्र १०
तेस्रो पटक ‘कन्यादान’ नाममा चलचित्र बन्दै, सुबेदीले निर्देशन गर्ने

‘कन्यादान’ नाममा फेरी एक पटक चलचित्र बन्ने भएको छ । तेस्रो पटक कन्यादान नाममा बन्न लागेको चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गर्ने भएका छन् । तीजको अवसर पारी चलचित्र निर्माणको घोषणा गरिएको छ ।

यसअघि पहिलो पटक सन् १९९० मा प्रदर्शन भएको ‘कन्यादान’लाई प्रकाश थापाले निर्देशन गरेका थिए भने सन् २०१० मा प्रदर्शन भएको ‘कन्यादान’लाई शोभित बस्नेतले निर्देशन गरेका थिए ।

चलचित्रले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई पर्दामा उतार्ने निर्देशक सुवेदीले जनाएका छन् । हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ भन्ने नै कथाको सार रहेको उनको भनाई छ । उनका अनुसार समाजका कडाइ र परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने अधिकार दिने प्रसङ्ग यसमा देखाइनेछ ।

चलचित्रमा निर्देशक सुबेदी र कुमार भट्टराईको लेखन, सुसन प्रजापतीको छायाङ्कन र प्रशान्त सिवाकोटीको संगीत रहने छ । आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको चलचित्रलाई प्लानेट थ्री फिल्म्सले निर्माण गर्नेछ । सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको निर्माणमा सहकार्य रहनेछ । चलचित्रको प्रस्तुत कर्तामा रेजिना बिस्ट र कार्यकारी निर्मातामा मार्टिन ओली छन् ।