‘जारी २’ र ‘मन बिनाको धन’को अग्रिम बुकिङ खुल्ला

२०८२ कार्तिक १९
‘जारी २’ र ‘मन बिनाको धन’को अग्रिम बुकिङ खुल्ला

चलचित्र ‘जारी २’ र ‘मन बिनाको धन’को अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेका दुई चलचित्रको अग्रिम टिकट बुकिङ बुधबारबाट खुल्ला भएको हो ।

यो समाचार तयार पार्दा सम्म ‘जारी २’ले देशभरमा १४३ शो प्राप्त गरेको छ । उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्र वर्ष २०८० को सफल चलचित्र ‘जारी’को सिक्वेल हो । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, सिर्जना निङ्लेखु लगायतको अभिनय रहेको छ ।

यस्तै अर्को चलचित्र ‘मन बिनाको धन’लाई भने हलहरुले तुलनात्मक रुपमा न्यून शो दिएका छन् । यो चलचित्रले जम्मा ३३ शो पाएको छ । यद्यपी अझै केही हलले शो खोल्न बाँकी नै रहेकोले केही मात्रामा शो बढ्न सक्नेछ । गायक अशोक दर्जीको जीवनकथामा आधारित चलचित्रलाई टंक बुढाथोकीले निर्देशन गरेका हुन् । चलचित्रमा अशोक स्वयं मुख्य भूमिकामा छन् भने उनीसहित सन्तोष पन्त, रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, बिना राउत लगायतको अभिनय रहेको छ ।