इनास नेपाल च्याप्टरको अध्यक्षमा गीतकार पाण्डेय

२०८० कार्तिक १६
इनास नेपाल च्याप्टरको अध्यक्षमा गीतकार पाण्डेय

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल च्याप्टरको अध्यक्षमा गीतकार दयाराम पाण्डेय निर्वाचित भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि पाण्डेय सर्वसम्मत निर्वाचित भएका हुन् । पाण्डेय यसअघि इनास नेपाल तदर्थ समितिको संयोजक थिए ।

यस्तै उपाध्यक्षमा निर्देशक ऋषि लामिछने, देवकुमार श्रेष्ठ र संगीतकार अर्जुन पोखरेल, महासचिवमा खेलाडी एवं गीतकार बलराम मित्र, सचिवमा प्रोडक्सन डिजाइनर शंकर पाण्डे र कोषाध्यक्षमा चलचित्र वितरक सुनिल मानन्धर सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा कलाकारहरु पुष्प खड्का र नरेन खड्का, गायक युवराज चौलागाईं, गायिका माण्डवी त्रिपाठी, नृत्य निर्देशक कविराज गहतराज, निर्देशक रामशरण घिमिरे, कल्पना आचार्य, पूर्ण लामा, भूमिका शाह, कृष्ण के सी, विबुध लुइँटेल र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक अधिवक्ता सेमन्तमणि खरालले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष पाण्डेयले आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै टिमवर्कले अगाडि बढ्ने बताए । उनले सबै संगैसँग हातेमालो गरेर एकढिक्का भइ अघि बढ्ने समेत जनाएका छन् ।

इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवालले नयाँ कार्यसमितिको अगाडि ठूलो चुनौती रहेको र नयाँ टिम हेर्दा आफू निकै आशावादी भएको बताए।

नेपाली कला, संस्कृति, चलचित्र, संगीतको समृद्धिको लागि स्थापित इनासको केन्द्रीय कार्यालय नेदरल्यान्डस् मा रहेको छ भने विश्वका ७३ वटा देशमा यसको शाखा बिस्तार भइसकेको छ।