खगेन्द्र र वर्षाको ‘हर्ष’ मंसिर १२ मा

२०८२ आषाढ ९
खगेन्द्र र वर्षाको ‘हर्ष’ मंसिर १२ मा

खगेन्द्र लामिछाने र वर्षा राउतको मुख्य भूमिका रहको चलचित्र ‘हर्ष’ मंसिर १२ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले प्रदर्शन मिति तय गर्दै चलचित्रको टाइटल भिडियो सार्वजनिक गरेको छ । एकता पौडेलको डेव्यु निर्देशन रहेको चलचित्रको टाइटल एनिमेशन र प्रदर्शन मिति सोमबार सार्वजनिक गरिएको हो ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको निर्माण रहेको चलचित्र निर्देशक स्वर्गिय शिव रेग्मी प्रति समर्पण गरिएको छ । निर्देशक पौडेल निर्देशक स्वर्गिय रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीमा चलचित्र मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन् । व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा चलचित्र समेत निर्माण गरिसकेकी छन् ।

पारिवारिक सामाजिक कथामा भन्ने जनाइएको चलचित्रमा निर्देशक पौडेलकै कथा र पटकथा रहेको छ । सम्पुर्ण छायांकन चितवनमा गरिएको चलचित्रको हाल पोष्ट प्रोडक्सनको काम भइरहेको छ । चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापितको अभिनय छ ।

प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखल कार्यकारी निर्माता रहेको चलचित्रमा आलोक शुक्लाको छयांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।