‘ह्याप्पी डिभोर्स’बाट निर्देशनमा डेब्यु गर्दै बिमलेश

२०८० असोज २
‘ह्याप्पी डिभोर्स’बाट निर्देशनमा डेब्यु गर्दै बिमलेश

अभिनेता तथा मोडल विमलेश अधिकारी अब निर्देशक बन्ने भएका छन् । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने चलचित्रको शिर्षक तथा मुख्य कलाकारसहितको टिम चिनाएका छन् ।

उनले निर्देशन तथा अभिनय गर्ने चलचित्रको नाम ‘ह्याप्पी डिभोर्स’ राखिएको छ । चलचित्रमा उनका अलवा केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भुमिका रहनेछ । अर्को बर्ष अर्थात् २०२४ को जनवरीमा छायांकनमा जाने चलचित्रको रिलिज समेत यही बर्ष गरिनेछ । चलचित्रमा अन्य केही कलाकारहरु अनुबन्धित गर्न बाँकी नै रहेको अभिनेता अधिकारीले बताए ।

मंगलबार नै चलचित्रको कथासार बुझाउने म्युजिकल प्रिभ्यु समेत सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक म्युजिकल प्रिभ्युमा मुख्य कलाकार केकी अधिकारी र रीमा विश्वकर्माका अलवा निर्देशक अधिकारी समेत देखिएका छन् । विशाल पोखरेलको संगीतमा तयार भएको शिर्ष गीतमा सुरेश लामा र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।

निर्देशक तथा अधिकारीको कन्सेप्टमा निर्माण हुने चलचित्रले नयाँ सुरुवात, स्वतन्त्रता र राम्रो भविष्यको कथा भन्ने छ । साथै, राम्रैसँग चलिरहेको एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई नजिकबाट देखाउन प्रयास आफ्नो टिमको रहने निर्देशक अधिकारी बताउँछन् । लामो समयदेखि आफ्नो दिमागमा खेलिरहेको एउटा सुन्दर कथालाई दर्शकमाझ प्रस्तुत गर्न लागेको विमलेशको दाबी छ ।

सेभेन कलर्स डिजिटलको व्यानरमा निर्माण हुने चलचित्रमा नवराज उप्रेतीको छायांकन, पुष्करमणि राईको पटकथा, सोनी सिंजाली मगरको ड्रेस डिजाइन, विशाल मोक्तानको मेकअप र सम्पादन टेकेन्द शाहको रहनेछ ।