Mansara

चलचित्र ‘हल्कारा’को टिजर सार्वजनिक

२०७९ फागुन २५
चलचित्र ‘हल्कारा’को टिजर सार्वजनिक

चलचित्र ‘हल्कारा’को टिजर सार्वजनिक गरिएको छ । आउँदो सालको वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गरेको चलचित्रले पौने दुई मिनेट लामो टिजरमार्फत कथा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट वाचन गर्ने प्रयास गरेको छ ।

मुख्य पात्र महेश त्रिपाठीको न्यारेसनमा बगेको टिजरले सशक्त दृश्य भाषा र उही स्तरको कलाकारको अभिनयको छनक दिएको छ ।

अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका रहेको छ । चलचित्रमा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापा मगर मियाको चरित्रमा छिन् । 

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट चलचित्र घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । 

यसैगरि चलचित्र नेपाल–अमेरिका चलचित्र फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो । 

यो चलचित्रमा महेश र बिनिताबाहेक, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । चलचित्रको सम्पादन पनि विक्रम स्वयंले गरेका हुन् ।